बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोदीको नागरिक अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति ?

बिहीबार, २७ वैशाख २०७५, १५ : ५६
बिहीबार, २७ वैशाख २०७५

जनकपुर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपाल भ्रमणमा आउँदैछन् । काठमाडौंमा  मोदीको भ्रमणको जति चर्चा छ त्यस्तै माहोल जनकपुरमा पनि छ  ।  भोलि मोदीको स्वागत र अभिनन्दनका लागि  मधेसका जनताहरुले आजैदेखि जनकपुर जानका लागि तयार भएर बसेका छन् । 

भोलि बिहानै आआफ्नो घरबाट निस्केर सर्वसाधरण जनकपुर पुगि १० बजेभित्र बाह्रविघा मैदानमा प्रवेश गरिसक्नुपर्छ । आफ्नो साधन नहुने सर्वसाधरणको लागि प्रदेश सरकारले बसको व्यवस्था गरेको छ । 
प्रदेश सरकारले प्रत्येक जिल्लाका लागि २०–२० वटा बसको व्यवस्था गरेको छ भने अपुग हुनेका लागि त्यहाँका गाउँपालिका, नगरपालिकाले समेत व्यवस्था गर्ने भएको छ । 

मोदीको नागरिक अभिनन्दनका लागि प्रदेश नम्बर २ का  आठवटा जिल्लाबाट एकलाख भन्दा बढी जनता जनकपुरको बाह्रविघामा उतार्ने  लक्ष्य प्रदेश सरकारको रहेको छ । 

सप्तरीमा व्यवस्थापनको जिम्मेवारी पाएका प्रदेश सांसद बीक्की यादवका अनुसार यहाँ ७५ वटा बसको व्यवस्था गरिएको छ । २० वटा प्रदेश सरकारले दिएको छ । त्यसमा पाँचहजार भन्दा बढी जनता जान्छन् । त्यसबाहेक नीजि गाडी, मोटर साइकलबाट पनि जनकपुर जाने बीक्कीले जानकारी गराए ।

त्यस्तै, सिरहका ३० वटा बसको व्यवस्था गरिएको छ । बसमा अट्ने जति बसमा जान्छन् । नपुगेका लागि फेरि बसको व्यवस्था गरिन्छ । आफ्नो नीजि कार तथा गाडी हुनेले आफ्नो सुविधामा पनि जनकपुर पुग्ने कार्यक्रम रहेको सुनिता रामले जानकारी गराइन् । उनले सिरहाका लागि व्यवस्थापनका जिम्मेवारी पाएकी छन् । 

त्यस्तै धनुषामा पनि ३४ वटा बसको व्यवस्था गरिएको छ । प्रदेश सांसद रामआषिष यादवले भने, धनुषा जिल्लामै कार्यक्रम भएको हुनाले जनतालाई आउन सजिलो हुने भएको छ । धनुषाबाट मात्र २५ हजारभन्दा बढी व्यक्तिको सहभागिता हुनेछ ।’

महोत्तरीका लागि व्यवस्थापनका जिम्मेवारी पाएकी सांसद सुरिता साहले महोत्तरीबाट १० हजारभन्दा बढी जनता आउने दाबी गरिन् । महोत्तरीबाट ३० वटा बसको व्यवस्था गरिएको उनको भनाई छ । बस बाहेकका व्यक्ति आआफ्नो साधनबाट पनि जाने उनले बताइन् ।

सर्लाहीका प्रदेश सांसद संजय यादवले भने, ‘सर्लाहीबाट हामीले ६० वटा बसको व्यवस्था गरेका छौं । त्यसबाहेक सयौं साना गाडीहरु पनि छन् । १५ हजारभन्दा बढी जनता जनकपुर लग्ने हाम्रो टार्गेट रहेको छ ।’

रौतहटका प्रदेश सांसद एवं कृषि राज्य मन्त्री योगेन्द्र राय यादव त्यहाँको व्यवस्थापनमा जुटेका छन् । उनी भन्छन्, ५० वटा बस छन् भने २०० भन्दा बढी बोलोरो गाडी छन् त्यसपछि मोटर साइकल र साना गाडीहरु रहेका छन् । १५ हजारभन्दा बढी जनता जनकपुर उतार्ने तयारी भइरहेको उनले बताए ।
बाराबाट पनि १० हजार जनता जनकपुर उतार्ने तयारी भइरहेको छ । त्यहाँका लागि प्रदेश सरकारले २० वटा बसको व्यवस्था गरेको छ । गाडी अपुग भयो भने त्यसमा त्यहाँ स्थानीय सरकारले व्यवस्था गर्ने बताइएको छ । त्यहाँको व्यवस्थापनको जिम्मेरवारी सांसद पारस साहलाई दिइएको छ । 

पर्साबाट प्रतिनिधिसभाका सांसद प्रदीप यादवले १०० बस जनकपुर लग्ने  छन् । सांसद यादवले भने, ‘बस बाहेक कार, जीपर मोटरसाइकलको पनि व्यवस्था रहेको छ । २० हजारभन्दा बढी जनता पर्साबाट जनकपुर जान्छन् ।’

यी आठवटा जिल्लाबाट जनकपुर जाने एक लाख बढी हुने दाबी गरिएको छ । त्यसबाहेक विभिन्न धार्मिक संगठनहरुले पनि आआफ्नो तर्फबाट अभिनन्दन कार्यक्रममा जनतालाई लैजाने तयारी गरिरहेका छन् । त्यसमा हनुमान आराधाना मण्डल नेपाल, हिन्दु स्वयं सेवक, वजरंग दल, गायत्री नेपाल, ओम शान्तीलगायतका संघ संगठनहरु तयारीमा लागेका छन् । 

भारतको विहार हुँदै मोदी जनकपुर आउने भएका कारण त्यताबाट पनि २० हजारदेखि २५ हजार जनता आउने आयोजकले अनुमान गरेको छ ।  

यतिको सँख्यामा जनता आएपनि त्यसका लागि प्राथमिक उपचार, खानेपानी, दिशा पिसाबलगायतका व्यवस्थापनमा कमि देखिएको छ । 

बाह्रविघामा भिआपीहरुलाई पूर्वीगेटबाट प्रवेश गराइने छ भने सर्वसाधारणलाई उत्तरतिरबाट प्रवेश गराइनेछ । उत्तरी गेटबाट प्रधानमन्त्री मोदीलाई प्रवेश गराउने तयारी भइरहेको छ ।                                           
बाहिरबाट आउने बस तथा अन्य गाडीहरुका लागि मुजेलिया कवर्ड हल, बाबन विघा, कपलेश्वर बस पार्क, हनुमान नगर बजार, जिरोमाइल बस पार्क र बालुवाटोलमा पार्किङको व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप