बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको स्वागतका लागि यसरी गरियो खर्च, बजेट कति ?

बिहीबार, २७ वैशाख २०७५, १३ : ५०
बिहीबार, २७ वैशाख २०७५

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदैछन् ।

भारत विहारको पटना हुँदै हेलिकप्टरबाट सिधै जनकपुर आउने प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ । 

जनकपुरको बाह्रबिघा रणभूमि मैदानमा हुने नागरिक अभिनन्दन कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश २ का सरकार तथा उपमहानगरपालिकाले संयुक्त रुपमा बिगत दुई हप्तादेखि तयारीमा जुटेको थियो ।

मोदी आउने भएपछि भत्किएका सडक रातारात बनेका छन् । सडकमा फ्यालिएका फोहोरहरु गायब भएका छन् । 

भित्ताहरु रंगिएका छन् । अर्थात मोदी हिँड्ने सडकका सबैथोक नयाँ भएका छन् । यसका लागि उपमहानगरपालिका तथा सरकारले काम गरिरहेका छन् ।

तर, यसका लागि कति वजेट छुट्याइएको छ । हालसम्म कति खर्च भयो  । त्यसको जानकारी कसैसँग छैन । त्यसको तयारीका लागि हालसम्म लाखौँ रुपैयाँ खर्च भएपनि अनुमानित खर्चको तथ्यांक पनि कसैसँग छैन । 

एक करोडमा मोदीलाई अभिनन्दन गर्ने मञ्च तयार हुँदैछ । केशरिया रंगले भित्ताहरु रंगिएका छन् । ठाउँ ठाउँमा प्रवेशद्वार बनाइएका छन् । रंगरोगन गरेका छन् । सडक कालोपत्रो गरेका छन् । प्रचार प्रसार पनि व्यापक भइरहेका छन् । यस कार्यक्रमका लागि जनपरिचालन पनि भएको छ । 

उपमहानगरपालिका मेयर लालकिशोर साह भन्छन्, – प्रदेश सरकार र स्थानीय सरकार मिलेर यो कार्यक्रम गर्न लागिएको हो । यसमा अहिलेसम्म उपमहानगरपालिकाले नै खर्च गर्दै आएको आएको छ । प्रदेश सरकारले मञ्च व्यवस्थापन तथा प्रचार प्रसारको जिम्मा लिएको छ । अरु बाँकी काम उपमहानगरपालिकाले गर्दै आएको छ ।’

‘सडक निर्माण तथा मर्मतका कार्य उपमहानगरपालिकाको योजना अन्तरर्गत नै हो, यसका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपरेन । त्यस्तै फोहर व्यवस्थापन पनि उपमहानगरपालिकाको नियमित कार्यक्रम अन्तरर्गतकै रहेकाले त्यसका लागि पनि बजेट छुट्याउन परेन,’ लालले बताए ।

अरु खर्चहरु आ–आफ्नो तरिकाले भइरहेको छ । त्यसको अनुमानित लागत खर्चका हिसाब अहिले केही नराखिएको बताउँदै उनले भने, ‘रकम ठूलो कुरा होइन, काम ठूलो कुरा हो, शक्तिशाली देशका प्रधानमन्त्री जनकपुर आउँदै हुनुहुन्छ उहाँको स्वागत सत्कारमा कुनै कमी नहोस् भन्ने कुरामा हामी सचेत छौँ । अरु हिसाब किताबहरु हुँदै गर्छन् ।’

प्रदेश २ का अर्थमन्त्री विजय यादवले प्रधानमन्त्री मोदी नेपालको भ्रमणमा स्वागत तथा सत्कार गर्ने कार्य केन्द्र, प्रदेश र स्थानीय सरकारको रहेको बताए । यसमा लाग्ने खर्च तीनै तहले मिलेर गर्ने गरिने तर कसले कति गर्ने त्यसको अहिले कुनै लेखाजोखा नरहेको बताए । 

‘कार्यक्रम सफल पार्ने सबैको दायित्व हो,’ उनले भने, ‘यो कसैको व्यक्तिगत काम होइन, नेपाल सरकारको काम हो यसलाई सफल बनाउन तीनटै तह त्यतिकै जिम्मेवारी पूर्वक लागेको छ ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप