बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको नेपाल भ्रमण : मिथिला नगरीमा भाषाको खिचडी

बिहीबार, २७ वैशाख २०७५, १३ : ०२
बिहीबार, २७ वैशाख २०७५

जनकपुरधाम–भाषा विवादबाट दुई नम्बर प्रदेश अर्थात मधेश कहिल्यै मुक्त रहन सकेन । यो विवाद आजको मात्र होइन । गजेन्द्रनारायण सिंह र बाबा रामजनम तिवारीको पालादेखि नै चल्दै आइरहेको छ तर हालसम्म समाधान भएको छैन ।

गजेन्द्रनारायण सिंहले हिन्दी भाषामा संसदमा सपथ लिँदा होस् वा टुँडिखेलको आमासभामा भाषण गर्दा होस् अथवा पूर्व उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा लिएको सपथ प्रकरण नै किन नहोस् । मधेश प्रदेश भाषा विवादबाट कहिल्यै मुक्त रहेन । 

प्रदेश संसद गठन भएपछि त्यहाँका सांसदले सपथ लिँदा होस् वा संसदमा सम्बोधन गर्दा भाषा प्रयोग गरेको विषय होस् जहिले पनि दुई नम्बर प्रदेश भाषा विवादको घेरामा रहिरह्यो । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पनि भाषा विवाद उत्पन्न भएको छ । 

वैशाख २८ गते भारतको पटना हुँदै जनकपुर आउन लागेका प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ । त्यो नागरिक अभिनन्दनमा के भाषा प्रयोग गर्ने त्यसमा विवाद उत्पन्न भएको छ । 

शुरुमा उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मैथिली भाषामा अभिनन्दन पत्र बनाउने तयारी गरेका थिए । त्यसको जानकारी पाएपछि केन्द्रीय सरकारका परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरी अभिनन्दनपत्र अर्थात मोदीलाई दिइने ताम्रपत्र नेपालीमा तयार गरिएको छ ।

 

तर, त्यही अभिनन्दनपत्र वाचन गर्दा मेयर साहले मैथिली भाषामा गर्ने बताइएको छ । मोदीलाई दिइने मुख्य ताम्रपत्र नेपालीमा भएपनि अन्य तीन भाषामा पनि अभिनन्दन पत्र दिने तयारी उपमहानगरपालिकाले गरेको छ । 

अभिनन्दनपत्रमा लेखिएको विषयलाई मैथिली, हिन्दी र अँग्रेजीमा लेखेर कपडामा छपाई गरि मोदीलाई हस्तान्तरण गरिने बताइएको छ । 

मेयर लालले भने, ‘मुख्य कुरा अभिनन्दन हो, यसमा भाषाको विवाद ल्याउनु हुँदैन । मैथिली, भोजपुरी, हिन्दी, अवधि, वज्जिकालगायतका भाषा पनि नेपालकै भाषा हो । जुनसुकै भाषामा पनि अभिनन्दन गर्न सकिन्छ । यसमा सरकारले हस्ताक्षेप गर्नुहुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा हुने अभिनन्दन कार्यक्रम नेपाली भाषामा सञ्चालन गर्न आयोजकलाई आग्रह गरेको स्रोतले जनाएको छ । 

मोदी भ्रमणको तयारीका लागि जनकपुरमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले अभिनन्दन कार्यक्रममा सबै कुरा नेपाली गर्न खबर पठाउनु भएको छ तर प्रधानमन्त्रीजीले भन्दैमा हुँदैन । देश संघीयतमा गइसकेको छ । प्रदेश सरकार गठन भएको छ, सबैको आ–आफ्नो भाषा र सँस्कृति छ  । सोहि अनुसारको भाषा कार्यक्रममा प्रयोग गर्ने हो ।’

अभिनन्दन कार्यक्रमको सञ्चालन राजपा नेपालका महासचिव एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गर्नेछन् । उनले हिन्दी भाषामा कार्यक्रम सञ्चालन गर्नेछन् । त्यस्तै, मोदीका लागि स्वागत भाषण रक्षा मन्त्री इश्वर पोखरेलले दिनेछन् । उनको भाषा नेपाली हुनेछ । 

त्यस्तै, अभिनन्दन पत्र उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पढेर सुनाउनेछन् । उनको भाषा मैथिली हुनेछ । प्रधानमन्त्री मोदीले आफ्नै भाषा हिन्दी नै प्रयोग गर्नेछन् ।

हिन्दी पोस्टर


जनकपुरलाई मिथिला नगरी भनिन्छ । त्यहाँ मैथिली भाषा भाषीको बाहूल्य छ । तर, प्रधानमन्त्री मोदीका स्वागतका लागि झुण्ड्याइएका अधिकांश ब्यानर तथा पोस्टरमा हिन्दी भाषा मात्र प्रयोग गरिएको  छ । हिन्दी भाषाको मात्र ब्यानर र पोस्टर भयो भन्दै विरोध शुरु भएपछि कताकति  मैथिली भाषाको पोस्टर पनि झुण्ड्याइएको छ । 
 

पोस्टरमा लेखिएको छ–
‘धन्य जो आप पधारे धन्य,
धन्य है यह आंगन,
स्वागत पुष्प स्वीकार करे,
धन्य प्रदेशका जनजन मन’

      
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप