बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको भ्रमण मुस्ताङको पर्यटकीय विकासका लागि महत्वपूर्ण

बिहीबार, २७ वैशाख २०७५, १३ : ०१
बिहीबार, २७ वैशाख २०७५

मुस्ताङ– प्रकृतिका मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थल हो । त्यससँगै यहाँस्थित मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ ।  हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शनका साथै आसपासका चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खलाले मुस्ताङ आन्तरिक एवं बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ । 

मुक्तिनाथसहित कागबेनी, दामोदर कुण्ड, गुम्बा, ऐतिहासिक ठिनी गाउँ र तिब्बती संस्कृतिका जीवन्तस्थलहरू यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् । मनोरम दृश्यसहित पदयात्राका लागि ख्याति कमाएको मुस्ताङ पदमार्गको बाहुल्यता भएको स्थान हो । 

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ र २९ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा २९ गते उनले मुक्तिनाथको दर्शन गर्ने कुराले यतिखेर यहाँ चर्चा पाएको छ । मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । 

“समितिले आफ्ना काम तीव्रताका साथ अघि बढाएको छ,” प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने । समितिको संयोजनमा अहिले सरसफाइलगायत काम भइरहेको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी प्रजिअ पौडेलको संयोजकत्वमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख रहनुभएको सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ । 

प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीको भनाइ छ । पर्यटकले स्नान गर्ने १०८ धारालाई रङरोगन गरिएको छ । मन्दिर परिसरमा सरसफाइ गरिएको छ । 

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणबाट यस क्षेत्रले विश्व पर्यटन बजारमा स्थान पाउने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचन बताउँछन् । “प्रधानमन्त्री मोदीको भ्रमण हाम्रा लागि गौरवको विषय हो”, उनले भने । 

जिल्ला समन्वय समितिका सभापति छिरिङल्हामु गुरुङ आफूहरू मोदीको स्वागतको तयारीमा जुटेको बताउछन् । मोदीको भ्रमणका क्रममा आउने देशी विदेशी सञ्चारकर्मीले यहाँका सुन्दर दृश्यलाई कैद गरी विश्व पर्यटन बजारमा पुर्याउने उनको विश्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप