शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्

बिहीबार, २७ वैशाख २०७५, ११ : ५४
बिहीबार, २७ वैशाख २०७५

नुवाकोट । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । 

मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको दाबी गर्न हकदार एवं आफन्त नआएको जिल्ला प्रशासन कार्यालयका लेखापाल राम्जी लम्सालले जानकारी दिए । 

उनको अनुसार २०६९ सालदेखि हालसम्म वैदेशिक रोजगारको सिलसिलामा विदेशमा ज्यान गुमाएका १२ जनाको रु सात लाख ८५ हजार रकम प्रशासनको खातामा थन्किएको छ । 

“वैदेशिक रोजगारीमा रहँदा दुर्घटना तथा भवितव्य मृत्यु भएका व्यक्तिको लागि कम्पनीले क्षतिपूर्तिबापतको रकम प्रशासनमार्फत हकदारलाई उपलब्ध गराएको छ ।” लम्सालले भने, “रकम आएको जानकारी मृतकको ठेगानाका हकदार देखिएकालाई पत्र र हकदार पहिचान नहुँदा आफन्तलाई विभिन्न माध्यमबाट जानकारी गराए पनि रकम लिन आएका छैनन् ।” 

प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०६९ र ७० मा ज्यान गुमाएका चारजना र आव २०७२ देखि चालू आवसम्म आठजनाको रकम प्रशासनको खातामा नै थन्किएको हो । पछिल्लो दुई वर्षमा नुवाकोटबाट वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ जनाको क्षतिपूर्ति रकम प्रशासनमा आएको थियो । 

लेखापाल लम्सालका अनुसार ज्यान गुमाउनेको क्षतिपूर्ति रकम कम्पनी नियमअनुुसार रु १० हजारदेखि रु ५५ लाख ४० हजारसम्म आएको छ । 

कम्पनीको वर्गीकरण, बीमा, मृत्युको कारण, कानूनी उपचारलगायतले क्षतिपूर्ति रकम फरक फरक आउने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप