शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदीसँग लम्पसार पर्ने कि शीर नझुकाएर कुरा गर्ने  ?

बिहीबार, २७ वैशाख २०७५, ११ : ०४
बिहीबार, २७ वैशाख २०७५

भोलि शुक्रबारदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमण यतिबेला निकै विवादित बन्न पुगेको छ । पहिलोपटक नेपाल भ्रमणमा आउँदा नरेन्द्र मोदीको जयजयकार गरिएको थियो । नेपालका मुख्य सडकमा समेत सुरक्षा घेरा तोडेर जनताको अभिनन्दन ग्रहण गर्न प्रधानमन्त्री नरेन्द्र मोदी सडकमै उत्रिएर जनताका बीचमा पुगेको दृश्य निकै महत्वका साथ प्रसारण गरिएका थिए ।

मोदीले नेपालको संविधानसभालाई समेत सम्बोधन गर्नुभएको थियो । त्यसक्रममा मोदीले बोलेका प्रत्येक शब्दहरूले नेपाली जनताको देशभक्तिको भावनालाई छोएको महसुस हुन्थ्यो । बुद्ध नेपालका जन्मेका हुन् भनेर मोदीले संविधानसभाकक्षमा बोल्दा दश वर्षसम्म जनयुद्धको कमाण्डर बनेका प्रचण्डले समेत निकै मच्चिएर थपडी बजाएको देखिन्थ्यो । मोदीले कुनै आश्चर्यजनक कुरा बोल्नु भएको थिएन । उहाँले नेपालमा बुद्ध जन्मिएको कुरा राख्दा त्यसमा एकदमै हौसिएर थपडी बजाउनुको कुनै अर्थ देखिँदैन । सत्य, सत्य नै हो । भारतका प्रधानमन्त्रीले बुद्ध भारतमा जन्मेका हुन् भन्ने आधार छैन । नेपालमा आएर संविधानसभाजस्तो नेपालका राजनीतिक प्रतिनिधिहरूको जमघट भएको थलोमा उभिएर मन्तव्य राख्दा यथार्थ कुरा बोल्नु उनको बाध्यता थियो ।  यो घटनाले नै स्पष्ट हुन्छ कि भारतीय नेताहरूलाई सत्य कुरा बुझाउन सक्ने हो भने उनीहरू त्यसमा सहमत हुन्छन् । प्रधानमन्त्री मोदीबाट संविधानसभामा गरिएको सम्बोधनले गरेको संकेत यही हो । 

भारतीय प्रधानमन्त्री मोदीले भोलिदेखि नेपालको तराई क्षेत्रको महत्वपूर्ण भूभागमा आफ्नो भ्रमण सुरु गर्दै हुनुहुन्छ । नेपालको तराई क्षेत्रको यही भूभाग हो, जसलाई उचालेर भारत सरकारले ०७२ सालको असोज महिनादेखि लगातार ६ महिनासम्म नाकाबन्दी लगाएर नेपाली जनतालाई अस्तव्यस्त बनाएको हो । भारत सरकारले पटक–पटक त्यो बेला भन्दै ग¥यो– आफ्नोतर्पmबाट नाकाबन्दी लगाइएको छैन भनेर ।

तराई क्षेत्रमा अधिकारका लागि आन्दोलित जनताले नेपालतर्फ सामान ढुवानी हुन दिइरहेका छैनन् भन्ने तर्क गर्दै भारत सरकारले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो लाज छोप्दै आएको थियो । नेपालले भोगेको ६ महिनाको नाकाबन्दी भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि रमाइलो जात्राजस्तो भइरहेको अनुभव  गर्न सकिने अवस्था थियो । अहिले आएर त्यही तराई क्षेत्रबाट आफ्नो नेपाल भ्रमण प्रारम्भ गर्ने चाहना मोदीबाट व्यक्त हुनु र मोदीले लगाएको नाकाबन्दीविरुद्ध अडान राखेर देशभक्तिको ख्याति कमाएका नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री केपी ओलीबाटै  मोदीको चाहनाबमोजिम तराई क्षेत्रमा मोदीको प्रभाव विस्तार गराउन सहयोगीको भूमिका नयाँ प्रधानमन्त्रीका रूपमा देखापर्नु विश्वास गर्न नसकिने घटनाका रूपमा लिन सकिन्छ । केपी ओलीले नाकाबन्दीका विरुद्ध लिएको अडानबाट केपी ओली नेपालको भविष्यको आशा लाग्दो राजनेताका रूपमा स्थापित हुनुभएको छ ।

ओलीको यो व्यक्तित्वलाई धराशायी बनाउने गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तराई क्षेत्रको जनकपुरबाट आफ्नो नेपाल भ्रमण तय गर्नु र त्यसमा केपी ओलीले आफ्नो भविष्यलाई नै बेवास्ता गर्न पुग्नु नेपाली जनताका निम्ति दुर्भाग्यपूर्ण बन्न गएको छ । ओलीको यस्तो लम्पसारवादी प्रवृत्तिले एकातर्पm ओलीको आकाशिँदै गएको राजनीतिक व्यक्तित्व वामपुड्के बन्न पुगेको छ । अर्काेतर्पm स्वयं नरेन्द्र मोदीको राजनीतिक व्यक्तित्वलाई पनि नकारात्मक प्रभाव पार्ने निश्चित छ । छिमेकी मुलुकप्रति अत्यन्त असहिष्णु बनिरहेका नरेन्द्र मोदी छिमेकी देशहरूबाट मात्र नभएर आफ्नै देशभित्र पनि यो विषयमा आलोचित बनिरहेका छन् । तथापि हामी नेपाली जनताले भारतीय प्रधानमन्त्री मोदीलाई भन्दा नेपालकै प्रधानमन्त्री वा राजनीतिक दलका नेताहरूलाई सचेत बनाउनु आवश्यक छ । 

यो पंक्तिकार विगत ५ वर्ष पहिले भारतको नयाँ दिल्लीमा भारत सरकारद्वारा आयोजित विचार गोष्ठीमा सहभागी हुन पुगेका बेलाको एउटा अनुभव यहाँ प्रस्तुत गर्न सान्दर्भिक लागेको छ । भारत सरकारको चर्चित निकाय ‘साउथ ब्लक’को आयोजनामा भएको उक्त विचारगोष्ठीमा नेपालका तीस जना पत्रकारहरू सहभागी रहेका थियौं । उक्त विचारगोष्ठीमा नेपालबाट सहभागी हुन पुगेका पत्रकार सबैले आ–आफ्ना विचारहरू प्रस्तुत गर्ने क्रममा नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहेको धारणा प्रस्तुत गरेका थिए । नेपाल–भारत सीमा पत्रकार संघ जस्ता चर्चामा नै नसुनिएका संगठनको हैसियतमा प्रस्तुत हुन पुगेका केही पत्रकार मित्रहरूले त झन् बडो आश्चर्य लाग्ने गरी नेपाल–भारत सम्बन्धको विवाद उठाउनेहरू भारत विरोधीहरू मात्र रहेको जिकिर गरेका थिए । आफ्नो विचार प्रस्तुत गर्ने क्रममा यो पंक्तिकारले निकै निर्भयका साथ नेपाल र भारतबीच सम्बन्ध सुमधुर रहेको कुरामा आफ्नो विमति जनाएको थियो । नेपाल र भारतका जनताबीच निश्चय पनि सुमधुर सम्बन्ध छ भन्ने कुरामा कुनै विवाद छैन । जनताबीच भएको पारिवारिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध, भाषिक सम्बन्ध, धार्मिक सम्बन्धलगायतका सामीप्यताका आधारहरू प्रशस्तै छन् । जुन कारणबाट नेपाल र भारतका जनताबीचको सम्बन्ध जसले जतिसुकै कोसिस गरे पनि दुश्मनीमा परिणत हुन सक्ने अवस्था छैन ।

परन्तु भारत अस्तित्वमा नआउँदै बृटिश साम्राज्यवादीहरूबाट हडपिएको नेपालको भूमि भारत सरकारले नेपाललाई फिर्ता नगरेर आफ्नै कब्जामा राखिरहेका कारण नेपाल र भारतको सीमा विवाद पटक–पटक उठिरहने गरेको तथ्य प्रकाश पार्दै यो पंक्तिकारले जबसम्म सुगौली सन्धिबाट अंग्रेज शासकहरूले हडपेको नेपाली भूमि भारतले नेपाललाई फिर्ता गर्दैनन्, तबसम्म नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बन्न सक्ने अवस्था रहँदैन भनेर स्पष्ट कुरा राख्दा त्यहाँ उपस्थित भारतीय साउथ ब्लकका पदाधिकारीहरू र बौद्धिक व्यक्तित्वहरू कसैले पंक्तिकारको भनाइको खण्डन गरेका थिएनन् । यसैबाट पनि स्पष्ट हुन्छ कि भारतमा सत्य कुरालाई बुझ्ने व्यक्तित्वहरू छन् । त्यसैले नेपालका तर्पmबाट आफ्नो हितका कुरा, नेपालको अधिकारका कुरा र नेपालको आवश्यकताका कुरा स्पष्ट रूपमा राख्ने नेताको आवश्यकता छ । त्यो आवश्यकता प्रधानमन्त्री केपी ओलीले पक्कै पनि पूरा गर्नुहुन्छ भन्ने विश्वास नेपाली जनतामा अझै पनि कायम छ । 

जनकपुरमा भारतका प्रधानमन्त्री भोलि आउने कार्यक्रमलाई अत्यन्त अतिरञ्जनापूर्ण बनाइएको छ । भारतीय सेनाको आकाश गस्ती र भारतीय सेनाको स्थल गस्ती गराएर नेपालमा के गर्न खोजिएको हो ? भारतको सिमाना जोडिएको जनकपुरदेखि चीनको सिमाना नजिक मुस्ताङसम्म आकाश र जमिनमा भारतीय सेनाको परेड गराउँदा नेपालको सार्वभौमसत्ता कसरी कायम छ भनेर गर्वको अनुभूति गर्ने ? नेपाली जनताले नेपाली सेनाप्रति विश्वास गरेका छन् । नेपाली सेना नेपालको सुरक्षाका लागि सक्षम छ भन्ने विश्वास अटल छ । तर भारतका प्रधानमन्त्री मोदीको भ्रमणको बहानामा जुनखालको नौटंकी देखाउन खोजिएको छ, यसले नेपाली सेना अवश्य पनि शंकाको घेरामा परेको छ । नेपाली सेना यसरी मुकदर्शक भएर र निरीह बनेर बस्नुपर्ने अवस्था देशका लागि दुर्भाग्यपूर्ण हो । 

हुन त भारतीय प्रधानमन्त्रीको स्वागत, सत्कार, सुरक्षा, जे जस्तासुकै गरे पनि फरक नपर्ला । परन्तु भारतसँग जे गरिँदै छ, त्यसले नेपालको हित अवश्य गर्ने छैन भन्ने आशंका आम नेपालीमा पलाएको छ । नेपालको तराई क्षेत्रलाई जलमग्न गराउने गरी कोशी उच्च बाँध सम्झौता भइरहेको चर्चा के हो ? यसको जवाफमा नेपाल सरकार किन मौन छ ? त्यसैगरी अरुण तेस्रो सम्झौता नेपालको हितमा छ भन्ने कुरा कुन आधारमा भन्न सकिन्छ ? नेपालको नदीबाट उत्पादन हुने विद्युत् नेपालले महँगो मूल्यमा खरिद गर्नुपर्ने गरी भारत सरकारलाई निर्माण गर्न दिनुपर्ने यो योजना नेपाल आफैले बनाउन किन नहुने ? त्यसैगरी माथिल्लो कर्णालीबाट ४ हजार १ सय ८० मेगावाट विद्युत उत्पादन गर्न सकिने भनी विश्व बैंकले प्रतिवेदन दिइसकेको अवस्थालाई बेवास्ता गर्दै ९ सय मेगावाट विद्युत् उत्पादन गर्न भारतीय कम्पनी जिएमआरलाई दिनैपर्ने बाध्यता नेपाल सरकारलाई किन ? उत्तरतिरबाट वैकल्पिक मार्ग निर्माण गर्नतर्पm नलागेर भारतकै एकाधिकार बजार बनाउने गरी पेट्रोलियम पदार्थ आयात गर्ने नाममा पाइप किन ओछ्याइदैछ ? यस्ता तमाम नेपालको अहितमा भइरहेका र हुन गइरहेका गतिविधिप्रति भारतीय प्रधानमन्त्रीसँग हाम्रा प्रधानमन्त्रीले शिर ठाडो गरेर कुरा गर्ने हिम्मत देखाउन सकेनन् भने नेपाल अर्काे विकल्पका साथ अगाडि बढ्ने बाटो अवश्य खोज्ने छ । सबैलाई चेतना भया !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप