नेपालमा भएका पुराना भारु के होला ? यसपालीको भ्रमणमा मोदीले समस्या सुल्झाउलान् ?
प्रधानमन्त्री बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउँदैछन् ।
भ्रमणका बेला यहाँका नेतासँग मोदीले सन् २०१६ नोभेम्बरको नोटबन्दीले नेपाली जनतालाई पारेको असरबारे कुराकानी गर्ने अनुमान गरिएको छ ।
आज पनि नेपाल राष्ट्र बैंकमा करिब आठ करोड भारुका पुराना नोट छन् ।
नोटबन्दीले भारतीय जनतालाई मात्र नभई नेपालीलाई पनि निकै समस्यामा पारिरहेको सबैलाई अवगत नै छ ।
भारतमा त मानिसहरुले ५ सय र हजारका पुराना नोट बदल्ने मौका पाए तर नेपालमा भने भारु राख्नेले अहिलेसम्म यो मौकाको प्रतिक्षा गरिरहेका छन् ।
नोटबन्दीअघि नेपालमा २५ हजार भारु ल्याउन पाइन्थ्यो । यसका साथै, नेपालको कूल व्यापारको ७० प्रतिशत भारतबाट हुने भएकाले नेपालीले भारु राख्ने गर्दथे ।
नोटबन्दीको घोषणाले ५ सय र हजार रुपैयाँका भारतीय नोट राख्ने नेपालीलाई पनि झट्का दिएको थियो ।
नेपाल राष्ट्र बैंकको ढुकुटीमा आज पनि ५ सय र हजारका कबिर आठ करोड मूल्यका भारतीय नोट छन् ।
साधारण जनतासँग कति नोट छन् त्यसको कुनै आँकडा छैन ।
प्रधानमन्त्री केपी ओलीले अप्रिलमा भारत यात्रा गर्नुअघि भारतीय अधिकारीसँग यस विषयमा कुराकानी गरेर सुल्झाउने कोसिस गर्ने बताएपनि भारतीय विदेश सचिव विजय गोखलेले कुनै पनि बैठकमा यो मुद्दाबारे कुरा नउठेको बताए ।
बीबीसीसँगको कुराकानीमा नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले दुबै देशबीच औपचारिक कुराकानी जारी भएको जानकारी दिए ।
उनले भने, ‘नेपालका मानिसहरुलाई त्यही समय सीमा उपलब्ध थियो जुन भारतमा तपाईं र मलाई थियो । नेपालमा पनि त्यो समयसीमाको प्रयोग गर्न सक्थे । हाम्रो र नेपालबीच औपचारिक कुराकानी भइरहेको छ । यसबारे दुबै सरकारलाई अवगत छ ।’
मिथिला उपाध्याय दिल्लीमा थिइन् जब नोटबन्दीको घोषणा भयो । उनका श्रीमान् दीप कुमार उपाध्याय भारतका लागि नेपाली राजदूत थिए ।
काठमाडौंबाट ३ सय किलोमिटर टाढा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै आफ्नो दुई तल्ले घरको एउटा सानो कोठामा बसेकी मिथीला भन्छिन्, ‘जब यो घोषणा भयो तब हाहाकार मच्च्यिो । दिल्लीमा हामीलाई निकै तनाव भयो ।’
अहिले पनि उनीसँग ५ सय र हजारको नोटको १०–१५ हजार मूल्यको भारतीय मुद्रा छ र उनलाई आशा छ कि एक दिन भारत सरकारले त्यसलाई परिवर्तन गर्ने सुविधा प्रदान गर्नेछ ।
‘तर यस्तो भएन यदि भएछ भनेपनि हामी आफ्ना सन्तानलाई ‘हेर, भारतमा कुनैबेला यस्ता नोट चल्थे’ भनेर देखाउनेछौं । त्योभन्दा अरु के नै गर्न सकिन्छ र ? पानीमा त नोटलाई बगाउन सकिँदैन नि ! र यो पसलमा चल्दैन । हाम्रो कुरा छोडिदिनुहोस्, मोदीकी आमा नै पैसा साट्न गएकी थिइन् ।’ यति भनेर उनी मज्जाले हाँसिन् ।
कति मुश्किल रह्यो नोट परिवर्तन गर्नु ?
मिथिला उपाध्यायको घरभित्रका छुट्टा छुट्टै ढोकामा दिल्लीमा बिताएका तस्बिर राखिएका थिए ।
मिथिलाका अनुसार उनका छिमेकीहरुसँग पनि पुराना नोट छन् र यी कुनैबेला साटिने आशमा बसिरहेका छन् ।
मिथिलासँगै बसिरहेका तीन महिलामध्ये एक तीर्थयात्रामा जाँदा ५ सय र हजारका १० हजार खर्च गरेको बताइन् भने अर्की महिलाले सात हजार भारु जबर्जस्ती एक लखनउका डाक्टरलाई दिएको बताइन् ।
तेस्रो महिलाले भनिन्, ‘अब त म आफूसँग कुनै पनि भारु राख्दै राख्दिनँ । फेरी समस्या भए के गर्ने ?’
नेपालीले पुराना नोटबाट छुटकारा पाउनका लागि घाटामा नोट बेचे, भारतीय आफन्तसँग मद्दत लिए र अन्य तरिका अपनाए ।
भारतीय सीमामा रहेका मानिसहरुका लागि सायद यस्तो गर्न सजिलो भयो होला तर पहाडी इलाकामा बस्नेहरुका लागि यो सहज थिएन र उनीहरुसँग सरकारको विश्वास गर्नुको साटो अन्य विकल्प थिएन ।
दिल्लीमा जब पूर्व राजदूत दीप कुमार उपाध्यायलाई मद्दतका लागि फोन आउँथ्यो तब उनले मानिसहरुलाई नोट परिवर्तन गर्नका लागि मीतिको घोषणा गरिने बताउँथे तर अहिलेसम्म त्यो दिन आएको छैन ।
उनी भन्छन्, ‘आफूले परिवारका सदस्यसँग लुकाएर पैसा जम्मा गरेको धेरै मानिसहरुले मलाई भन्थे । एक व्यक्तिले आफूले ६०–६५ हजार जम्मा गरेको बताउँदै अब त्यसलाई के गर्ने भनेर सोधे ।’
दरबार स्क्वाएर नजिकै बसिरहेका एक व्यक्तिले मलाई सोधे, ‘पेन्सनमा निर्भर पहाडमा बस्ने रिटायर्ड गोरखा सैनिकको परिवारलाई सोध्नुहोस् र उनीसँग भएका ५ सय र हजारका नोट काम नलाग्ने भएको थाहा पाएको दिन उनीहरुको कसरी बित्यो होला ? भारतले किन यस्तो गर्यो, केही थाहा छैन ।’
नोटबन्दीको मारमा ती नेपाली महिला परे जसले दुःख गरेर दुई चार पैसा जोगाएर राखेका थिए । पहाडी इलाकामा बस्ने त्यो परिवार मारमा पर्यो जसका सदस्य भारतमा मेहनत मजदुरी गर्दथे र भारतीय मुद्रा लिएर घर आउँथे ।
रिजर्व बैंक अफ इन्डियाको शर्तः
नोटबन्दीले पेन्सनमा निर्भर, साना व्यापारी सबैलाई झट्का दियो तर आशा पनि थियो कि दुबै सरकारले उनीहरुलाई केही हानी हुन दिँदैन ।
नोटबन्दी अघि २५ हजारसम्म ५ सय हजारका नोट नेपाल ल्याउन सक्थे र त्यसलाई नेपाली रुपैयाँमा साट्न सक्थे ।
तर नोटबन्दीको घोषणा पछि नेपाल राष्ट्र बैंकका अधिकारी पनि अलमलमा परे र उनीहरुले नोटबन्दीको घोषणा लगत्तै भारुलाई नेपाली नोटमा परिवर्तन गर्न रोक लगाउँदै भारतको रिजर्व बैंक अफ इन्डियासँग कुराकानी सुरु गरे ।
पुराना भारु फिर्ता लिन रिजर्व बैंक अफ इन्डिया र नेपाल राष्ट्र बैंकबीच दुई आधिकारिक बैठक भयो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म राज ढुङ्गानाका अनुसार रिजर्व बैंकको तर्फबाट प्रति व्यक्ति चार हजार पाँचसय भारु साट्ने भनिएको छ तर यसले मानिसहरुलाई थप रुष्ट बनाउने भएकाले यसलाई स्विकार गर्ने अवस्था थिएन ।
नोटबन्दी अघि २५ हजार भारु नेपाल भित्र्याउन सकिन्थ्यो अब उनीहरुलाई ४५ सयमात्र साट्न पाइन्छ भन्नु सजिलो थिएन ।
उनी भन्छन्, ‘यी कारणसहित रिजर्व बैंकले यसबारे निर्णय गर्न सकेको छैन । ’
ढुंगाना भन्छन्, ‘भारतीय मुद्रामा मानिसहरुको विश्वास घटेको छ । भारतीयसँग हाम्रो सम्बन्ध राम्रो छ तर यो मुद्दालाई अहिलेसम्म किन सुल्झाइएन ? मलाई भुटानका एक मन्त्रीले भारतले भूटानको आठ अर्बको ५ सय र हजार रुपैयाँको भारतीय मुद्रा साटिदिएको बताए । हामीसँग भने यस्तो भेदभाव किन ?’
विनित खरे /बीबीसी