बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको नेपाल भ्रमण सफल बनाउन लागिपरेका छौः मन्त्री पण्डित

मङ्गलबार, २५ वैशाख २०७५, १७ : २८
मङ्गलबार, २५ वैशाख २०७५

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै मन्त्री पण्डितले मोदीको दुई दिने नेपाल भ्रमणलाई पूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक तयारी गरिसकेको बताए उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीजीको भ्रमण सफल बनाउनको लागि सरकार, यहाँका वैधानिक राजनीतिक दलहरु, सामाजिक संघ÷संस्थाहरु सक्रिय भएर लागिपरिरहेका छन्, अहिले हामी उहाँको भ्रमणको व्यवस्थापन गर्न अहोरात्र खटिरहेका छौं, वास्तवमै भन्ने हो भने एक हिसावले तीव्र रफ्तारमा काम भैरहेको छ ।’

साक्षात्कारमा बोल्दै उनले भने, ‘मोदीजी भ्रमणको सिलसिलामा जहाँ–जहाँ जानुहुन्छ, त्यहाँ–त्यहाँ अहिले विशेष तयारी भैरहेका छन्, विशेषगरि सजावटका कामहरु धमाधम भैरहेका छन् ।’ भ्रमणको दौरान राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर द्धिपक्षीय हितका विषयमा कुराहरु हुने पनि उनले जनाए । त्यस्तै, उनले मोदीसँग राजनीतिक भेटघाटहरु पनि हुने बताए । नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमण जसरी सफल भएको थियो, ठिक त्यसैगरि मोदीको नेपाल भ्रमणलाई पनि सफल बनाउन आफूहरु लागि परिरहेको उनको विश्वास थियो ।

मन्त्री पण्डितले मोदीको भ्रमणसँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुने स्पष्ट पारे । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र राम्रो बनाउन आफ्नो पार्टी लागि परिरहेको बताए ।

 उनले भने, ‘मोदी नेपाल आउने कुरा ज्यादै खुशीको कुरा हो, भ्रमण हुनु एकदमै राम्रो कुरा हो, यसले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै गाढा हुनेछ, भारत र नेपालबीच ज्यादै राम्रो सम्बन्ध छ, सबै हिसावले हामीबीच घनिष्ठ सम्बन्ध छ ।’

कार्यक्रममा पूर्वराजदूत एवम् परराष्ट्रविद डा. शंकर शर्माले मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो परियोजना, रेलमार्ग, जनकपुरको विकासमा प्योकेज घोषणा र रामायण सर्किट बनाउने विषयमा सकेसम्म यति समयभित्रै काम सक्ने वा कार्यान्वयन गर्नेबारे समझदारी गर्न सुझाव दिए ।

शर्माले हरेक देशको विदेश नीतिको आ–आफ्नै महत्व हुने बताउँदै नेपालको भारतसँग विशेष सम्बन्ध रहेको स्पष्ट पारे । उनले भने,‘भारतसँग हाम्रो दुई तिहाईको ट्रेड सम्बन्ध छ, नेपालमा सबैभन्दा बढि लगानी भारतकै छ, हामीबीच राजनीतिक, सामाजिक, साँस्कृतिक, कुटनीतिक सबै सम्बन्धहरु छन्, खासमा भन्ने हो भने नेपाल र भारतबीच यूनिक सम्बन्ध छ ।’

पछिल्लो दुई÷तीन वर्ष यता नेपाल र भारतबीच केही उतारचढाव सम्बन्ध रहे पनि अहिले द्धिपक्षीय सम्बन्ध सुधारको बाटोमा रहेकोले नेपालले अधिकतम् फाईदा लिनुपर्ने उनको भनाई थियो । उनले भने, ‘नेपाल र भारतबीच धेरै राम्रो सम्बन्ध छ, वास्तवमै भन्ने हो भने हामीबीच राम्रो हाईवेमा सम्बन्ध छ, आगामी दिनमा सम्बन्ध सुदृढ र राम्रो बनाउनुपर्छ।’

नेपालका ७ वटै प्रदेशलाई ईण्डष्ट्रियल स्टेट बनाउने र १४ वटा ईकोनोमिक जोन बनाउने तयारी भैरहकोले यसको लागि भारतीय लगानी गर्न सके राम्रो हुने उनको तर्क थियो । मोदीको भ्रमणमा यस विषयमा पनि कुरा गर्दा राम्रो हुने शर्माले बताए । 

त्यस्तै मोदी जनकपुर र मुक्तिनाथको पनि भ्रमणमा जाने भएकोले नेपालले पर्यटन क्षेत्रको विकासमा पनि ध्यान दिन सरकारलाई आग्रह गरे । उनले भने,‘जनकपुरमा रामायण सर्किट बनाउने कुरा धेरै राम्रो हो, मुक्तिनाथ र जनकपुर मोदीजी जाने भनेपछि धार्मिक पर्यटनको पनि विकास हुन्छ, यो सुखद् पक्ष हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप