बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली भ्रमण वर्ष, पहिलो गाँसमै ढुङ्गा

मङ्गलबार, २५ वैशाख २०७५, ११ : ३४
मङ्गलबार, २५ वैशाख २०७५

‘कैलाली भ्रमण वर्ष २०७५’ को उद्घाटन गत वैशाख २२ गते लम्कीचुहा नगरपालिका वडा नं. ३ को चिसापानीबाट प्रधानमन्त्री केपी ओलीबाट गराउने घोषणा आयोजकले गरेको थियो । तर, ओली कार्यक्रममा नगएपछि आयोजकलाई पहिलो गाँसमै ढुङ्गा लागेजस्तै भयो । 

प्रधानमन्त्री ओली उद्घाटन गर्न नगएपछि कार्यक्रमका प्रमुख अतिथि बने रक्षामन्त्री ईश्वर पोख्रेल । रक्षामन्त्री पोख्रेलले कैलाली भ्रमण वर्षको उद्घाटन गर्दै भने– ‘अब ७ नं. प्रदेशको विकासका लागि केन्द्रको मुख ताक्ने होइन, स्थानीय तहबाट नै पहल गर्नुपर्ने बताए । यसका लागि स्थानीय उत्पादनलाई महत्व दिनुपर्ने बताए । कर्णालीको चिसापानीलाई ७ नं. प्रदेशको प्रवेशद्वारका रूपमा व्याख्या गरिन्छ । 

आयोजकले पोख्रेललाई विभिन्न १० वटा माग राखेर १० किलोको माला लगाइदिएका थिए  । मन्त्री पोखरेलले आफू सबै मागप्रति सकारात्मक रहेको आश्वसन दिए । पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले सुदूरपश्चिममा पर्यटक पुर्याउने प्रतिबद्धता जनाए । सुरदुरपश्चिमका सबै ठाउँका पर्यटकीय क्षेत्रका नाम कण्ठस्थ पारेका मन्त्री अधिकारीले सबै ठाउँमा पर्यटक पु¥याउन आफू र  आफ्नो मन्त्रालय कटिबद्ध रहेको पनि कार्यक्रममा  बताए ।

७ नं प्रदेशलाई अन्य प्रदेशसँग जोड्ने कर्णाली पुलको छेउबाट भ्रमण वर्षको उद्घाटन भएको थियो । कैलाली जिल्लामा रहेका पर्यटकीय, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरूको प्रचारप्रसार, देश र विश्वभरी चिनाउन यो भ्रमण वर्ष मनाएको कैलाली भ्रमण वर्षका संयोजक तथा कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए । 

भ्रमण वर्षको उद्देश्य
सङ्घीयताभन्दा पहिला सुदूरपश्चिमको नामले चिनिन ९ जिल्लामध्ये एक हो, कैलाली । तराईमा पर्ने यो जिल्ला आर्थिक रूपमा अन्य जिल्लाभन्दा सबल नै मानिन्छ । सङ्घीयता लागू भएपछि अहिले यो जिल्ला ७ नं प्रदेशको अस्थायी राजधानी तोकिएको छ । 

अत्तरिया अस्थायी राजधानी तोकिएर प्रदेश सरकारले आफ्नो काम सुरु गरेको छ । यही जिल्लाले नयाँ वर्षको सुरुवातमा कैलाली भ्रमण वर्ष सुरु गरेको छ ।  अन्य क्षेत्रको जस्तो ७ नं प्रदेशमा पर्यटनका धेरै क्षेत्र भए पनि भौगोलिक हिसाबले राजधानीबाट टाढा हुँदा खासै पर्यटक जाँदैनन् । कैलाली जिल्लाका धेरै ठाउँ पर्यटकको गन्तव्य बन्न सक्ने छन् । आन्तरिक र बाह्य दुवै किसमका पर्यटकहरू घुम्ने ठाउँ छन् । 

यो भ्रमण वर्षको मुख्य उद्देश्य देशभित्रका र देश बाहिरका पर्यटकहरूमाझ कैलालीका पर्यटकीय क्षेत्रको जानकारी गराउनु रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ का सांसद नारदमुनि रानाले बताए । उनले भने– ‘लामो त्याग, तपस्या र बलिदानबाट संविधान बनाएका छौं । सङ्घीय गणतन्त्र ल्याएका छौं । अब देशलाई समृद्धिको यात्रामा लैजाने हो । यसका लागि एक माध्यम पर्यटन क्षेत्र पनि हो । यसको विकास र प्रचारप्रसार अहिलेको आवश्यकता हो । यसका लागि कैलालीले सुरुवात गरेको छ ।’

संयोजक थापाले भने– ‘अब ७ नं. प्रदेशको समृद्धिका लागि पनि हरेक जिल्लाहरूले आत्मनिर्भर र आफ्नो क्षेत्रमा भएको पर्यटकीय स्थल, धार्मिक  स्थल, सांस्कृतिक, ऐतिहासिक स्थलहरूको प्रचारप्रचार गरेर पर्यटक भित्र्याउनु पर्छ । हामीले गरेको कार्यले अरू जिल्लाहरूलाई पनि शिक्षा र उत्साह दुवै हुने छ ।’

भ्रमण वर्षमा सङ्घीय र राष्ट्रिय सभाका गरी करिब ६० जनाभन्दा बढी माननीय सांसदहरूलाई कैलालीका विभिन्न पर्यटकीय, धार्मिक, सांस्कृतिक स्थानहरूको देखाइएको थियो । भ्रमण वर्षको उद्घाटनको दिन नै कैलालीले सांसदहरूलाई स्वागत गरेर दुई दिनसम्म विभिन्न स्थानहरूको भ्रमण गराएको थियो । राष्ट्रिसभाका उपाध्यक्ष शशिकला दाहलदेखि विभिन्न जिल्लाका सांसदहरूले कैलालीका विभिन्न पर्यटकीय  स्थान भ्रमण गरेका थिए । 

एयरपोर्टको दृश्य
धनगढी विमानस्थलमा पाहुनालाई स्वागत गर्न आयोजकहरू पाहुनाभन्दा ढिला पुगे । करिब अतिथि पौने घण्टा पर्खेपछि आयोजकहरू आए । 
विमान स्थल बाहिर टेन्ट लगाएर पाहुनालाई स्वागत गरियो । फूल, माला, खादा र कैलाली भ्रमण वर्ष २०७५ लेखेको सेतो झोला दिएर । अतिथिहरूलाई स्वागत गरिसकेपछि पुगे नेकपा एमालेका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश सभाका सामाजिक विकास मन्त्री दीर्घ सोडारी । उनी अतिथि भएको भागमा गए अगाडि बसेका अतिथिलाई नमस्ते गरे । आफू बस्ने ठाउँ नदेखेपछि अँध्यारो मुख लगाएर टेन्टबाट बाहिर आएर अर्कोले भ्रमण वर्षका बोकेका झोला आफूले बोकेर प्रदेशसभाका सांसदहरूलाई वितरण गर्न थाले । उनीसँगै रहेका सुरक्षाकर्मी असजीलो मानी उनको पछिपछि हिँडिरहे । तर मन्त्री सोडारीले भने झोला वितरण कार्य आफैले सके । कार्यक्रम चलिरहँदा मन्त्री सोडारीले झोला वितरण गरेर नै कार्यक्रम डिस्टर्ब गरेको दृश्य सबैले टुलुटुलु हेरीरहे । 
पाहुनालाई कैलाली ५ नं. क्षेत्रका सांसद नारदमुनि रानाले स्वागत गरेका थिए । उनले पनि एयरपोर्टको स्तर उन्नतीदेखि अञ्चल अस्पतालको स्तर उन्नति गर्ने चुनावी वाचा पुनः दोहो¥याए । 

चिसापानीबाट घोडाघोडीसम्म
२२ गते कर्णलीको चिसापानीबाट सुरु भएको भ्रमण वर्ष जति उत्साहका साथ सुरु गर्ने योजना थियो, त्यो भएन । आयोजकको पहिलो गाँसमा नै ढुङ्गा लागेको थियो । प्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटन गराउने भनिएको कैलाली भ्रमण वर्ष ओली नजाँदा खल्लो मात्र होइन आयोजक असफल भएको सहभागीहरूले नै बताए । जुन उत्साहका साथ जनमास उपस्थित हुनुपर्ने हो त्यो भएन । कैलालीका  क्षेत्र नं २ का सांसद झपट रावलले ओली प्रति आक्रोश पोख्दै भनेका थिए– ‘अबदेखि केपी ओलीलाई कैलाली बोलाउने छैन । यतिसम्म धोका दिनेलाई अब किन बोलाउनु । यो कार्यक्रममा त राष्ट्रपति आउन उत्सुक हुुनहुन्थ्यो तर हामीले प्रधानमन्त्री ल्याउन त भन्यौ । अबदेखि राष्ट्रपति ल्याएर कार्यक्रम गराउने छु । अरू कसैले ओलीलाई ल्याए स्वागत गर्छु आफै ओलीलाई कुनैपनि कार्यक्रमको निम्तो दिने छैन ।’उनले यी शब्दहरू भनिरहदा वरपर को छ भन्नेसम्मको ख्याल गरेनन् । चिसापानी किनारको सिद्धार्थ होटलमा आफैले बोलाएका पाहुना सांसदहरू खाना खाइरहेको ठाउँ उनले आक्रोस पोखे । सांसदहरू खाना छोडेर उनको अनुहार ट्वाल्ल परेर हेरे एकछिन् । रावल ओक्रोस पोखेर हिँडे । 

खानाको लाइनमा लागेका सांसदहरू भन्दा पहिला २–३ जना भ्रमण वर्षको टिर्सट लगाएका युवा सङ्घका युवाहरू लाइनमा लागेका थिए । गर्मीमा लाइनमा लागेका सांसदहरूको बेवास्ता गर्दै कार्यक्रममा सहभागी भएका सबै टिर्सटधारीहरू लाइन मिचेर खाना बोक्न थाले । आफू र कुर्सीमा बसेका थिए  । एक जना सांसदले त भने यहाँको चलन नै यस्तै रहेछ कि क्या हो ? कि कसैले यिनलाई सम्झाउँदैनन् । पाहुँनालाई लाइनमा ब्लक गरेर मनमर्जी गर्दारहेछन् ।

कार्यक्रम स्थलमा माओवादी पार्टी र प्रदेश सरकारसँग कुनै छलफल नै नगरी भ्रमण वर्ष घोषणा गरेको सुनियो । जसको कारण  मुख्यमन्त्री र माओवादीबाट प्रदेशसभामा सहभागी मन्त्रीहरू आएनन् । मुख्यमन्त्रीको शुभकामना सन्देशसम्म पनि आएन कैलाली भ्रमण वर्षलाई । 

काठमाडौँबाट हवाइजहाज चार्टर गरेर सङ्घीय सांसद र राष्ट्रियसभा सांसदलाई कैलाली पुगाउदा कैलालीमा नै प्रदेशको राजधानी रहेको ठाउँबाट मन्त्रीहरूको अनुपस्थित रहनुले भ्रमण वर्ष एमालेको एक्लौटी योजना भएको पुष्टि हुन्थ्यो । 

माओवादी नेता लेखराज भट्टलाई प्रमुख अतिथि, अतिथि र एमाले उपाध्यक्ष भीम रावलले बोलिसकेपछि बोल्न दिइयो । जबकि यति बेलासम्म अतिथिहरूले म मात्र होइन, जनमासले पनि मैदान छोडिसकेको भन्ने थियो । सायद भट्टलाई पनि लाग्यो होला अपहेलनाको पनि सीमा हुन्थ्यो होला ? उनी बोली रहँदा कुनै जोस, जागर, उत्साह थिएन । थियो त केवल अपहेलना भोग्नुपरेको पीडा, उदासीनता । त्यही भएर एकदम छोटो बोले ।

उद्घाटन कार्यक्रम हेर्दा स्थानीय तहको विकास निमार्णको कामका लागि छुट्याइएको बजेट काटेर भ्रमण वर्ष मनाएको होइन एमाले पार्टी र तीनका कार्यकर्ताहरूले आफ्नो पहलमा मनाएको जस्तो देखिन्थ्यो । कार्यक्रम स्थलमा न त वामपन्थी गठबन्धनको झल्को आउँथ्यो न त सरकारी बजेटमा कार्यक्रम भएजस्तो । सरकारी पैसामा छापिएका कैलाली भ्रमण वर्षका टिसर्ट पनि सबै एमाले कार्यकर्ताहरूलाई वितरण गरेका थिए । 

कार्यक्रम स्थलमा कैलाली भ्रमण वर्षमा सर्वसाधरणको सहभागिताभन्दा पनि एमालेका कार्यकर्ताहरूको सहभागिता धेरै थियो । अथवा पूरा कार्यक्रम एमालेको जस्तो थियो ।
कर्णालीमा राधानीबाट लगेका सांसद, प्रदेशका सांसद गरेर करिब १ सय जनालाई ८ वटा बोटमा करिब पौने घण्टा ¥याफ्टिङ गराएका थिए । 

टीकापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रमस्थल टीकापुर पार्कमा पुग्दा साँझको ६ बजेर २५ मिनेट भएको थियो । पार्क पूरा घुम्न नपाए पनि अतिथिहरूलाई पहिलो दिनको मात्र होइन दोस्रो दिनका सबै कार्यक्रमभन्दा राम्रो कार्यक्रम प्रस्तुत गरेका थिए । केही वर्ष पहिला भएको थारु पहाडिबीचको द्वन्द्व मेटिदै गएको छ । त्यमाथि त्यो दिनको कार्यक्रमले झन् दुवै समुदायमा आत्मीयता बढाएको देखियो । दुवै समुदायको उपस्थिति पनि धेरै थियो । विभिन्न झाँकीसहितका कार्यक्रमहरू देखाइएको थियो ।  टीकापुर पार्क २०२८ सालमा स्थापना भएको हो । तर तत्कालीन राजा महेन्द्र २०२४ सालमा कञ्चनपुरको शुक्लाफाँटामा बिमारी हुँदा आराम गर्नका लागि टीकापुर अहिलेको पार्क भएको ठाउँमा खर र काठको कटेरो बनाउन लगाएका थिए । 

२२ गते रातिको खाना कैलालीमा मात्र होइन देशभरी प्रसिद्धि कमाएको टीकापुरको बनानाज एग्रो रिर्सोटमा सबै अतिथिलाई केराका विभिन्न परिकारसहित खाना खुवाएको थियो । 
२३ गते सुन्दर नगरी घोडाघोडी नगरपालिकाको आयोजनामा भएको घोडाघोडी तालको किनारमा कार्यक्रमपनि राम्रो नै थियो । यो ताल घोडाघोडीको आकारमा रहेको स्थानीय बताउँछन् । यो ताल क्षेत्र रामसार क्षेत्रमा सङ्रक्षित छ । यो ताल वरिपरि अथवा यो सिमसार क्षेत्रमा २००३ मा २० हजार चराहरू थिए तर हालमा आएर १९ सय मात्र रहेको नेपाल पन्छी संरक्षण सङ्घका सहायक परियोजना अधिकृत हिरूलाल डगौरा बताउँछन् । 

यो तालमा तीन प्रजातिहरू विश्वमा दुर्लभ मानिन्छ हरिहाँस, मगर गोही र वन धान । हरिहाँस, नादुलहाँस, बगाले सिमकुखुरा जस्ता प्रजातिका चराहरूको प्रजनन् घोडाघोडीमा मात्र पाइने डगौरा बताउँछन् । 
सबै स्थानीय तहको सहभागिता रहेको कैलाली भ्रमण वर्ष चिसापानी, टीकापुर र घोडाघोडीमा सीमिति रहेको देखियो । 

१३ वटा स्थानीय तह रहेको कैलालीमा गाउँपालिकाले २ लाख, नगरपालिकाले ४ लाख र उपमहानगरपालिकाले सहयोग गरेका थिए । 

सहभागी सांसदहरूले कैलाली सारै राम्रो भनेका थिए । आयोजक अथवा भ्रमण वर्षका संयोजक थापाले कैलाली भ्रमण वर्ष सोचेभन्दा राम्रो भएको बताएका थिए । करिबकरिब २५ देखि ३० लाख खर्च आउने उनले बताए । तर अहिलेसम्म भ्रमण वर्षका लागि भनेर कति रकम जम्मा भयो त्यो भने खुलाएनन । 
–कैलालीबाट फर्केपछि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप