मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नाकाबन्दीको पाप पखाल्न मोदी नेपाल आउन हतारिए : सीपी गजुरेलको अन्तरवार्ता

मङ्गलबार, २५ वैशाख २०७५, ११ : १०
मङ्गलबार, २५ वैशाख २०७५

वैशाख २८ गतेबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुँदैछ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सकिएको एक महिनाको आसपासमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदैछन् । मोदीको यो अस्वाभाविक जस्तो देखिने भ्रमणलाई लिएर अनेकौँ आशङ्का उठेका छन् भने सन्तुलित कूटनीतिक सम्बन्धको मुद्द अगाडि सारेको सरकारको कार्यशैलीमाथि प्रश्न उठेका छन् । मोदीको भ्रमणलाई लिएर भाषण र सडकमा विरोधका स्वर पनि देखिन थालेका छन् । यस्तो स्वर निकाल्ने शक्तिमध्ये एक हो, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी । राष्ट्रियताको मुद्दामा आफूलाई अग्रपङ्क्तिमा राख्ने यो पार्टीले मोदीको आसन्न भ्रमणलाई शङ्काको दृष्टिले हेरिरहेको छ । यसै विषयमा रातोपाटीका लागि बबिता शर्माले नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सीपी गजुरेलसँग कुराकानी गरेकी छिन् ।

केही दिन अगाडि रातो ज्याकेटमा तपाईंहरू सडकमा देखिनुभयो, के सन्देश हो ?

पार्टीले युवा जागरण अभियान भन्ने चलाएको छ । हाम्रो विचारमा नेपालको क्रान्तिले पूर्णता पाएको छैन । ती क्रान्तिका एजेन्डाहरू यथावत छन् । त्यसको निम्ति ठूलो सङ्घर्षको आवश्यकता छ । त्यसमा युवाहरूको महत्वपूर्ण भूमिका हुने भएकाले हामीले अहिले विशेष गरेर युवाहरूलाई सङ्गठित गर्न जोड गरिराखेका छौँ । केही दिनअघि रातो ज्याकेटमा सडकमा उत्रिएको कुरा छ, त्यो हाम्रो क्रान्तिकारी युवा लिग सङ्गठन छ । त्यसैको मार्फत युवाहरूलाई परिचालित गरेका हौं । त्यसमा पार्टीको सक्रिय भूमिका छ । 

राष्ट्रियता र जनजीविकामध्ये तपाईंहरूका लागि आज महत्वपूर्ण कुन मुद्दा हो ? राष्ट्रियतामा तपाईंहरूका मुद्दा के हुन् ?

हाम्रो देश लामो समयदेखि अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्थामा छ । भन्नका लागि नेपाल स्वतन्त्र भनिन्छ तर वास्तमा विदेशीको हस्तक्षेपभित्र छ । अझ विषेश गरेर हाम्रो दक्षिण छिमेकी भारत, विस्तारवादी चरित्र भएको हुँदा भारतकै हस्तक्षेप नेपालमा बढी छ । त्यसकारण राष्ट्रिय स्वाधीनता, राष्ट्रियताको मामिला जहिले पनि नेपालमा प्रमुख बनेर आउँछ । अब जहाँसम्म जनजीविकाको कुरा हो, त्यो झन््झन् जटिल बन्दै गएको छ ।  त्यसको प्रमाण के हो भने देशबाट दैनिक सरदर १ हजार ८ सय युवा रोजगारीका लागि विदेशिएका छन् । यहाँ रोजगारी पाएको भए, जनताको समस्या हल हुने भएको भए त्यसरी विदेशिने थिएनन् । जनजीविकाका समस्या झन् धेरै गम्भीर छन् । हामीलाई थाहा भएकै कुरा हो, हरेक हप्तामा भाउ बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ । बजार भाउ उस्त,ै भ्रष्टाचार यस्तो बढेको छ, त्यसका नयाँ नयाँ कीर्तिमान कायम भएका छन् र अझ हुँदै छन् । साढे ३३ केजी सुनको निहुँमा सुरु भएको भ्रष्टाचार ३८ क्विन्टल सुन भित्रिइसक्यो भन्ने छ । यसमा विचित्रको कुरा के छ भने प्रहरीका डीआईजीदेखि तल्लो तहसम्म संलग्नता रहेको भन्ने छ । यस्तो सङ्गठित भ्रष्टाचार संसारमा होला कि नहोला । यस्तो अवस्थावाट गुज्रिरहेको हुनाले जनजीविकाको समस्या झन् नाजुक बन्दै गएको छ ।

अब जहाँसम्म राष्ट्रियता मुद्दाको कुरा छ, त्यसमा पहिलो सीमा अतिक्रमण रहेको छ । करिब करिब ७०–७२ ठाउँ जतिमा सीमा अतिक्रमण भएको भन्ने सीमाविद्को भनाइ छ । दोस्रो, असमान सन्धि सम्झौता । हाम्रा जति पनि प्राकृतिक स्रोत साधन छन्, समृद्धिका आधार हुन् । अब तिनै स्रोतसाधन अर्काले कब्जा गरिदिएपछि कसैले भनेको भरमा कसरी समृद्धि आउने ? ओलीजी सरकारमा आउनुभयो ‘समृद्ध देश सुखी जनता’ भन्ने नारा लिएर । त्यो बकवास सावित हुँदैछ भन्ने देखियो । उहाँकै अर्थमन्त्रीले स्वेतपत्र जारी गर्दै यो खजना खाली छ भन्नु भयो । अब उहाँले केले समृद्ध ल्याउने हो देशमा । हाम्रो मुख्य सम्पत्ति जलस्रोत हो । जलस्रोत अरूले कब्जा गरेको छ । त्यसकारण सीमा अतिक्रमण, असमान सन्धि सम्झौताहरू, राजनीतिक हस्तक्षेप यी सबै प्रमुख मुद्दा छन् ।

मुख्यमन्त्री, मन्त्री, सांसद मोदी आउँदा फोहोर हुनुहुन्न भनेर झाडु लिएर तमासा देखाएका छन् । एक  दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । काठमाडौँमा अभिनन्दन गर्ने भनिएको छ । यतिखेरै अभिनन्दन गर्नु भनेको नाकाबन्दीलाई गरेर ठिकै गर्नुभयो भनेर समर्थन हुन जान्छ । अहिले मोदीलाई नेपालमा स्वागत गर्ने स्थिति छैन ।

आफूलाई वामपन्थी शक्ति ठान्ने एमाले र माओवादी सरकारमा छन् । उनीहरूले राष्ट्रियतालाई चुनावी मुद्दा पनि बनाएका थिए । तपाईंहरूलाई लाग्छ, एमाले र माओवादी चुनाव मुद्दाभन्दा बाहिर गएर सरकार चलाइरहेका छन्, हो ?

पक्कै हो । पहिलो पटक ओलीजी प्रधानमन्त्री हुँदादेखि नै नेपालमा नाकाबन्दी थियो । त्यो ओलीजी हुँदा पनि हटेन । मधेसवादी दलले थप सिमानामा आन्दोलन गरे । त्योबेला ओलीले २ वटा सकारात्मक काम गरे । एउटा नाकाबन्दी लगाए र भारतले झुकाउ नै खाजेको थिए,  त्यसमा झुकेनन् । अर्को चाहिँ चीनसँग पारवाहन सन्धि गरे । यो दुई कुराले गर्दा ओली साच्चै राष्ट्रवादी रैछन् भन्ने लाग्यो । तर त्यही नारालाई उनले बझाए । तर अहिले आएर उनी भारतमा गएर लम्पसार परे । पहिलो भ्रमण कहाँ गर्छन् भन्ने जनताले हेरिराखेका थिए । उनले भारत जान मनपराए । अर्को देश गएको भए पनि हुन्थ्यो । अहिलेसम्म भएका सन्धि सम्झौता लागू गर्छु भनेर प्रतिबद्धता जाहेर गरे । असमान सन्धि लागू गर्छु भनेको के हो ? त्यसलाई राष्ट्रवाद भनिन्छ ? होइन राष्ट्रघात हो । त्यसको साथसाथै असाध्यै विवादास्पद जलस्रोत सन्धि के छ भने अरुण तेस्रो । अरुण तेस्रोको दिल्लीबाटै स्विच अन गरेर शिलान्यास गर्नेवाला थिए । त्यहाँ प्राविधिक कुरा नमिलेर  गरेनन् । अब मोदी नेपाल आउँदा काठमाडौँबाट गर्ने भन्ने सुनिएको छ । त्यसकारण अब ओलीजीको राष्ट्रवादको हावा खुस्कियो । ओलीको राष्ट्रवाद चुनावमा भ्रम पार्न मात्रै रैछ भन्ने पुष्टि भइसक्यो । उहाँ राष्ट्रघातीको लाइनमा गएर उभिनुभयो  ।

प्रचण्ड प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा लम्पसारवादको टर्मोलोजी विकास गर्नु भएको हो । २५ बुँदे सम्झौताबाटै उहाँ त राष्ट्रघातीको लाइनमा जानुभयो । अहिले दुवैजना राष्ट्रघाती मिल्नुभएको छ । राष्ट्रियता त चुनावी मुद्दा मात्र हो, उहाँहरूका लागि । सरकार उहाँहरू चलाइराख्नुभएको छ । त्यही भएर राष्ट्रियता खतारामा परेको छ ।

यो सरकारसँग राष्ट्रियतामा कहाँ खतरा देख्नुभयो ?

पहिलो, असमान सन्धि सम्झौता लागू गर्ने प्रतिबद्धता गरेका छन् । दोस्रो, असाध्यै विवादास्पद जलस्रोत सन्धि लागू गर्ने । जस्तो अहिले ओली र मोदीले अरुण तेस्रोको संयुक्त रूपमा शिलान्यास गर्ने । अनि जनताको विरोध हुँदाहुँदै सेना राखेर भए पनि,  विवादास्पद अप्पर कर्णाली लागू गर्ने सम्झौता हुँदैछ ।  तेस्रो सीमा अतिक्रमण । ओली भारतमै भएको बेला मोदीलाई नेपालमा रातोकार्पेट ओछ्याएर स्वागत गर्छु भन्दै गर्दा, भारतीय एसएसपीको ज्यादती देखेनन् । त्यसप्रति चासो छैन । ओलीले पहिला सीमा अतिक्रमण र असमान सन्धि सम्झौताका बारेमा धेरै भाषण गर्थे । तर हिजोआज यी विषयमा भाषण गर्नै छाडे । किन त भन्दा उनी भारतसँग लम्पसार परिसके । त्यसकारण अब देशमा राष्ट्रिय स्वाधीनता र सिक्किमीकरणको खतरा बढ्दै गएको छ ।

तपाईंले पार्टीमा लामो समय अन्तर्राष्ट्रिय विभाग पनि हेर्नुभयो । प्रधानमन्त्री ओलीको हालैको भ्रमण र मोदीको आसन्न नेपाल भ्रमणका विषयमा तपाईंको टिप्पणी के छ ?

प्रधानमन्त्री ओली भारत भ्रमणमै जानु, त्यो सामान्य कुरा हो । दुई देशबीच डिप्लोम्याटिक रिलेसनका लागि त्यो ठीक छ । तर उनी त्यहाँ गएर दुई तीन कुरा नेपालको विदेश नीतिसँग नमिल्ने काम गरेका छन् ।  विदेशनीतिको एउटा मुख्य पक्ष राष्ट्रिय हित हो । तर ओली किन गएका रैछन त भन्दा असमान सन्धि सम्झौता दृढतापूर्वक लागू गर्छु भन्ने कसम खान गएका रैछन् । दोस्रो, बाहिर केही सम्झौता भएको देखिएन तर उनले भित्री रूपमा केही सम्झौता गरेका छन् भन्ने आएको छ । जस्तो कि जलमार्ग । कोसी हाई ड्याम बनाउने योजनामा भित्री रूपमा सहमति जनाएका छन् भन्ने छ । त्यसैले उनी जहाज चलाउनी भन्दै आए । उनलाई जहाजको नसा लागेको छ । भारतमा भएका नदीहरू जोड्ने भन्ने ठूलो योजना छ । गङ्गा, ब्रह्मपुत्र जोड्ने र सिंचाइ भारतभरी पु¥याउने योजना छ । त्यसमा कोशी थप्ने योजना मोदीको छ । कोशी भारतको सिंचाइको ठूलो योजनामा छ, त्यसमा ओली सहमत भएर आएको देखिन्छ । कोशी हाई ड्याम किन बनाइएको छ भने अहिले खास गरी फ्लोइङ वाटरले मात्र पानी भारतभरी सप्लाई हुने भएन । रिजर्भ वाटर भयो भने बर्खाभरीको पानी जम्मा हुँदा धेरै पानी हुन्छ । त्यो पानी भारत सप्लाई गरेर त्यहाँको रिर्जभ कोशीलाई भारतको सिंचाइको अङ्ग बनाउने योजनामा ओली सहमत भएको देखिन्छ । अर्को कुरा भरर्खरै ओली भारत गएर आएका छन् । यस्तो अवस्थामा मोदी तत्काल नेपाल आउने कुनै एजेन्डा छैनन् । उनी नेपाल भ्रमण आउने अवस्था भइसकेको छैन । मोदीलाई अहिले नेपालमा स्वागत गर्ने बेला भएको छैन ।

ओली भारत भ्रमणको महिना दिन नहुँदै मोदी नेपाल आउने खासै एजेन्डा छैनन् । उनले गरेको नाकाबन्दीलाई नेपाली जनताले बिर्सिएका छैनन् । उनको भ्रमणलाई जनताले रुचाएका छैनन् । तर राष्ट्रघातीहरूले उनलाई तारतम्यता मिलाइदिए ।


 
मोदीको नेपाल भ्रमणमा उनको स्वागतमा जे जस्तो तयारी भएको छ, यो कति स्वभाविक लाग्छ ?

त्यस क्षेत्रका मुख्यमन्त्री, मन्त्री, सांसद मोदी आउँदा फोहोर हुनुहुन्न भनेर झाडु लिएर तमासा देखाएका छन् । एक  दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । काठमाडौँमा अभिनन्दन गर्ने भनिएको छ । यतिखेरै अभिनन्दन गर्नु भनेको नाकाबन्दीलाई गरेर ठिकै गर्नुभयो भनेर समर्थन हुन जान्छ । अहिले मोदीलाई नेपालमा स्वागत गर्ने स्थिति छैन । जनताबाट यो विषयमा व्यापक विरोध भएको देखिन्छ । अब ती विरोध कार्यक्रम कति प्रभावकारी हुने हो भन्न सकिन्न । तर अहिले मोदीलाई नेपाल भ्रमणको निम्ता दिनु र उनलाई स्वागतको जुन तयारी भएको छ, त्यो अर्को लम्पसारवाद हो ।

मोदीले हतारमा नेपाल भ्रमण गर्नुका पाछडि के कारण हुन सक्छ ?

पहिलो कारण, नेपालमाथि नाकाबन्दी गरेको पाप पखाल्न मोदी नेपाल आउन हतारिएको हुनुपर्छ । त्यसको तारतम्य ओलीले मिलाएर आए । दोस्रो कारण, नेपालको चीनसँग सम्बन्ध सुदृढ हुने भयो । नेपालमा चीनको प्रभाव बढ्छ कि भन्ने आशङ्कालाई काउन्टर गर्न हुुन सक्छ । ओली भारत भ्रमणको महिना दिन नहुँदै मोदी नेपाल आउने खासै एजेन्डा छैनन् । उनले गरेको नाकाबन्दीलाई नेपाली जनताले बिर्सिएका छैनन् । उनको भ्रमणलाई जनताले रुचाएका छैनन् । तर राष्ट्रघातीहरूले उनलाई तारतम्यता मिलाइदिए ।

मोदी सीधै काठमाडौं नआएर  जनकपुर हुँदै काठमाडौं आउनुको अर्थ के हुन सक्छ ?

सामान्यतया राजधानी आएर जानु राम्रो कुरा हो । अब उनी सीधै हुँदा टार्गेट गरे । त्यसको एउटा अर्थ त मधेसवादी दलहरूको मनोबल बढाउन हुन सक्छ । संविधान संशोधन गराई दिन्छु भन्ने थियो, त्यो भएन । त्यसमा मधेसवादी दलको असन्तुष्टि थियो । त्यो असन्तुष्टि मेटाई उनीहरूको मनोबल बढाउन हुन सक्छ । साथै मधेसमा भारतको प्रभाव बढाउन पनि होला ।  अर्को कुरा मोदी किन काठमाडौँ आउनुप¥यो ? ओलीजी हुँदा पुग्ने भए स्वागत गर्न । ओलीको राष्ट्रवाद त कहाँ पुग्यो भने, मोदी फर्किंदा मलाई भारत छोड्न हिँड्ुनुस् भने मोदीले भने ओली उनलाई पु¥याउन भारत जाने भए । त्यहाँसम्म पुग्यो ओलीको राष्ट्रवाद । 
 
प्रधानमन्त्री ओली बोआओ सम्मेलनमा चीन जाने समयमा भारत भ्रमणमा जानुभयो, यसका पछाडि केही कारण देख्नुहुन्छ ?

मैले बुझे अनुसार पहिलाका वोआओ सम्मेलनमा नेपालका दुई प्रधानमन्त्री भाग लिएका थिए । तर त्यो सम्मेलनमा नेपालको प्रधानमन्त्री नै जानुपर्छ भन्ने अनिवार्य रैनछ । दुई प्रधानमन्त्री गए त ठीकै भयो । प्रधानमन्त्री नै आउने भएपछि नआउनुस् भन्ने भएन चीनले । तर अहिलेको सम्मेलनमा पनि नेपालबाट प्रधानमन्त्री नै आउन पर्छ भन्ने चीनको ठूलो अपेक्षा भएजस्तो लागेन । ओली भारत भ्रमण गए, त्यसमा चीनले खासै चासो दिएजस्तो लागेन, अरू कुरामा महत्व दिएको छ ।

राष्ट्रियताका विषयमा तपाईंहरूको कार्यगत एकता कोसँग हुन्छ ?

हामी पूर्वाग्रहविना सबै देशभक्तसँग कार्यगत एकता गर्ने पक्षमा छौं । विदेशी दलाल, राष्ट्रघातीबाहेकका अरू सबैलाई देश चाहिएको छ । त्यसो हुनाले हामी सबै देशभक्तहरूको बीचमा एकता कायम गरेर राष्ट्रिय स्वाधीनतालाई जोगाउँ भन्ने पक्षमा छौं । हामी चार पार्टीबीच कार्यगत एकता भएको छ, त्यो होला । तर, राजनीतिक पार्टीबाहेक देशभक्त जनता धेरै छन् नेपालमा । हामी जनतालाई अपिल गरेर जनस्तरमा एकता कायम गर्दै राष्ट्रियता जोगाऔं भन्ने आन्दोलनलाई अगाडि बढाउने पक्षमा छौं ।

सन्तुलित परराष्ट्रनीतिका लागि सरकारलाई  तपाईंहरूको सुझाव के छ ?

हाम्रा दुई छिमेकी राष्ट्रहरूसँग समदुरीको सम्बन्ध राख्ने भन्ने हो । समसामयिकताको सम्बन्ध नै राख्नु पर्छ । तर अहिले हाम्रो परराष्ट्रनीति असन्तुलित छ । चाहे त्यो व्यापारको दृष्ट्रिकोणले होस् वा अरू सन्धिसम्झौताका दृष्टिकोणले होस् । त्यो असन्तुलित छ । भारतसँग असमान सन्धिहरू छन् । चीनसँग त्यस्तो छैन । त्यसकारण यसलाई सन्तुलित गर्नको निम्ति चीनसँगको सम्बन्धमा अलि धेरै ढोका खोलिदिनुपर्छ । पारवाहन सन्धि एक पल्ट गरियो, अब त्यसलाई कार्यान्वयन गर्नुपर्छ । चीन र नेपालबीचको आवतजावत, सामानहरू ल्याउन लानको निम्ति अरू धेरै नाका खोलिदिनुपर्छ । अब रेल ल्याउने कुरा भइरहेको छ, त्यसलाई छिटो गर्नुपर्छ । यी सबै काम गरेर चीनसँगको सम्बन्ध अझ धेरै पक्षमा बढाउन पर्छ । भारतले नेपालमा अहिले हस्तक्षेपकारी नीति लिँदै आएको छ । कतिपय अवस्थामा भारतसँग हामीले ती असमान सन्धिबारे सुधार गर्नुपर्छ । हस्तक्षेप हुनु भएन । समानताको आधारमा सन्धी हुनुपर्छ भन्ने कुरा उठाउनुपर्छ । १९५० को सन्धि खारेज गर्ने प्रक्रियामा जानुपर्छ । यो सम्भव छ । त्यसका लागि हामीले स्ट्यान्ड लिन सक्नुपर्छ । भारत खुशीले यो कुरा गर्दैन । त्यसका लागि नेपालले भारतसँग निहुँ खाजौँ भन्या होइन । किन निहुँ खोज्ने । हामी आफ्नो अधिकार लिने नयाँ ढङ्गले सन्धि सम्झौता गर्ने । यो सम्भव छ ।

तपाईंहरूको बुझाइमा राष्ट्रियताका विषयमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अडान लिने नेता हुन् कि यो मुद्दा बेचेर आफूलाई  शक्ति पु¥याउने नेता ?

बीचमा ओलीजी अडान लिने नेता हुन कि जस्तो लागेको थियो । दुई कुरामा हामीले पनि समर्थन गरेका हौँ  । तर पछिल्लो चरणमा आएर उहाँमा राष्ट्रियताको अडान छैन । विगतका प्रधानमन्त्रीलाई जित्ने लाइनमा उहाँ हुनुहुन्छ । हुन त उहाँको पहिलेको रेकर्ड पनि राम्रो होइन । महाकाली सन्धिपास गराउन एमाललेलाई त्यहाँ पु¥याउनेमा उहाँको भूमिका थियो । बीचमा जुनखालको अडान लिनुभयो, त्यो देख्दा उहाँको पुरानो कुरा किन उठाउने भनेर नउठाएका हुन् । तर उहाँको पछिल्लो भारत भ्रमणमा जे गर्नुभयो र गरिरहनुभएको छ । यी सबै हेर्दा उहाँले राष्ट्रघातमा अरूलाई पछाडि पार्ने देखिन्छ ।

प्रचण्डजी त भारतसँग पहिलै तोमशरण गरिसक्नु भएको हो । अहिले दुवैजना राष्ट्रिय स्वाधीनता बिक्री गर्दै राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर त्यसबाट राजनीतिक लाभ उठाउने र आफू प्रधानमन्त्री बन्ने मुख्य योजना हो । राष्ट्रियता र समृद्धिको मुद्दाले चुनाव जित्नुभएको हो । तर, न राष्ट्रियता देखिन्छ, न समृद्धि केही पनि छैन । भ्रष्टाचार यति अनियन्त्रित भएर बढेको छ कि उहाँहरू भषणमा शून्य सहनशीलता भन्नु हुन्छ । अहिलेसम्म एकजना भ्रष्टाचारीलाई कारवाही गर्न सक्नुभएको छैन । भ्रष्टाचारीको जालोभित्र हुनुहुन्छ उहाँहरू । कसरी कारवाही गर्ने ? शक्तिमा पुग्न जे पनि गर्न तयार हुने मान्छे हो उहाँहरू ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप