शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा यस्तो द्वीप जहाँको मुद्रा हो ढुङ्गा

मङ्गलबार, २५ वैशाख २०७५, १० : ३२
मङ्गलबार, २५ वैशाख २०७५

मानिसहरुले वर्षौंदेखि पैसाको प्रयोग खरिद बिक्री र कारोबारका लागि गर्दै आएका छन् ।

एक समय थियो जब महँगा रत्नमा कारोबार हुने गर्दथ्यो । मानिसहरु मोती, हिरा, पन्नालगायतका रत्नसँग सरसामान साट्थे ।

त्यसपछि सिक्काको चलन सुरु भयो । सुन–चाँदी, तामा, काँस र आल्मुनियमका सिक्कालाई प्रत्येक साम्राज्य र सभ्यताले स्विकार्यो ।

जब मुगल राजा हुमायूँको ज्यान एक पानी पिलाउने व्यक्तिले बचाए तब हुमायूँले उनलाई एक दिनका राजा बनाए ।

तब उनले हिन्दुस्तानमा छालाको सिक्काको चलन भित्र्याए ।

सिक्काका साथै नोटको चलन पनि सुरु भयो । सबैभन्दा पहिले चीनमा नोट छापिएको थियो ।

औद्योगिक क्रान्तिपश्चात् यूरोपको औपनिवेशिक शक्तिले नोटको चलनलाई धेरै नै महत्व दियो ।

तर के तपाईंले पैसाको रुपमा ठूल्ठूला ढुङ्गाको प्रयोग बारे सुन्नुभएको छ ?

छैन नी !

त्यसो भए आज हामी तपाईंलाई उक्त स्थानबारे जानकारी दिँदै छौं जहाँको मुद्रा ढुङ्गा हो । यो वर्षौं अघिदेखि चलनचल्तीमा थियो र अहिलेसम्म पनि छ ।

ढुङ्गाको सिक्का चल्ने द्वीपः

यसका लागि तपाईं प्रशान्त महासागरको माइक्रोनेशिया इलाकामा जानुपर्छ । यहाँका थुप्रै स–साना द्वीपमध्येको एक यप द्वीपमा कूल ११ हजारको जनसंख्या छ ।

तर यसको चर्चा यस्तो छ कि ११ औं शताब्दीमा इजिप्टका एक राजाले यप द्वीपको बयान गरेका छन् ।

यस्तै, चर्चित युरोपेली यात्री मार्को पोलोले १३ औं शताब्दीमा लेखेको आफ्नो किताबमा पनि यसबारे बताएका छन् ।

यद्यपी, यी दुबैमा यपको नाम भने लेखिएको छैन । तर दुबै साहित्यमा एउटा यस्तो स्थानबारे वर्णन गरिएको छ जहाँको मुद्रा ढुङ्गा हुने गर्दथ्यो ।

जब तपाईं यप पुग्नुहुन्छ तब तपाईंले घना जंगल र दलदलयुक्त जमिन देख्नुहुन्छ ।

दिनभरीमा एउटा मात्र फ्लाइट छ जुन यपको सानो विमानस्थलमा अवतरण हुन्छ ।

विमानस्थलबाट बाहिर निस्कए लगत्तै तपाईंले ढलेका साना–ठूला ढुङ्गा देख्नुहुन्छ ।

ढुङ्गाको बीचमा प्वाल हुन्छ ता कि यसको ओसारपसारमा सहज होस् । यप द्वीप भरी यस्ता साना ठूला ढुङ्गा तपाईं यत्रतत्र देख्नुहुन्छ ।

यो द्वीपको माटो दलदल छ । यहाँ चट्टान छैन । तर पनि ढुङ्गाको यो मुद्रा शताब्दीदेखि छ । यसको सुरुवात कहिले भयो, त्यो कसैलाई थाहा छैन ।

तर स्थानीयका अनुसार आजभन्दा सयौं वर्ष अघि यपका बासिन्दा समुन्द्री डुङ्गामा बसेर चार सय किलोमिटर टाढा रहेको पलाउ द्वीप जाने गर्दथे ।

त्यहाँबाट चट्टान काटेर यी ढुङ्गा तिखार्दथे ।

त्यसपछि यसलाई डुङ्गामा राखेर यपमा भित्र्याइन्थ्यो । यसलाई राई भनिन्छ । विगत लामो समयदेखि यी ढुङ्गालाई मुद्राको रुपमा प्रयोग गरिँदै छ ।

सुरुवाती अवस्थामा यहाँका आदिवासीले यी ढुङ्गालाई निकै बेढंग तरिकाले काटेर ल्याउँथे ।

कसरी हुन्छ ढुङ्गाले व्यापार ?

त्यसपछि हतियारको विकासपश्चात् ढुङ्गालाई निकै कुशल ढङ्गले काटेर त्यहाँ ल्याउन थालियो ।

१९ औं शताब्दीमा जब यपमा स्पेनले कब्जा गर्यो त्यतिबेला पनि ढुङ्गाले नै कारोबार गरियो ।

जब पलाउ जानेले आफूसँग ढुङ्गा ल्याउँथे तब उनीहरुले यसलाई यपका ठूला नेतालाई सुम्पिने गर्दथे ।

त्यसपछि ती नेताले उक्त ढुङ्गालाई आफ्नो वा परिवारका अन्य सदस्यको नाम दिएर ल्याउने व्यक्तिलाई सुम्पिन्थे ।

पाँचमध्ये दुईवटा ढुङ्गा नेताले आफैं राख्थे र तीनवटा ल्याउने व्यक्तिलाई दिइन्थ्यो ।

सुरुवातमा ढुङ्गाको मूल्य सिपीको संख्याले तय हुन्थ्यो किनभने ढुङ्गा अघि सिपीलाई मुद्राको रुपमा प्रयोग गरिन्थ्यो ।

जस्तै, एक ढुङ्गाको बदलामा पचास सीपी दिइन्थ्यो । आज फुटकर मुद्राको रुपमा यपमा अमेरिकी डलरको प्रयोग हुन्छ ।

तर यी ढुङ्गाको महत्व यप समाजमा कायम छ ।

आज हरेक ढुङ्गाको इतिहास छ । यससँग जोडिएका केही न केही कहानी छन् । कुनै पनि परिवारसँग यो मुद्रा हुनु निकै सम्मानको कुरा मानिन्छ ।

के ले तय गर्छ ढुङ्गाको मूल्य ?

आज यी ढुङ्गाको मुद्राको प्रयोग दैनिक लेनदेनमा हुँदैन ।

समाजमा यसलाई कहिले माफीनामा र कहिले विवाह सम्बन्धलाई बलियो बनाउनका लागि प्रयोग गरिन्छ ।

ढुङ्गाको यी सिक्काको आकार ७ सेन्टिमिटरदेखि ३.७ मिटरसम्म हुन्छ ।

सिक्काको मोल कुन कामका लागि प्रयोग हुन्छ र कसलाई दिइन्छ भन्ने कुरामा निर्भर हुन्छ ।

पछिल्लो दुई सय वर्ष पुराना यी ढुङ्गा मुद्राको इतिहास नयाँ पीढिलाई बताइँदैछ ।

अब ढङ्गाका सिक्कालाई एक संग्रहालयमा राखिएको छ जहाँ टुटे फुटेका ढुङ्गाको मुद्रालाई पनि इतिहासमा दर्ता गरिएको छ । यो कुन गाउँका हुन्, यसको कुन परिवारसँग नाता छ, त्यो पनि लेखिएको छ ।

अहिले पनि ढुङ्गाका नयाँ सिक्का बनाइँदैछ तर अब यसको संख्या निकै कम भएको छ ।

रोचक कुरा के छ भने यी बहुमुल्य सिक्का चोरी हुने डर छैन ।

यो निकै ठूला हुन्छन् र सबैलाई यसबारे थाहा हुन्छ त्यसकारण कसैले चोरे भने पनि कहाँ लैजाने ?

रोबर्ट माइकल पूले, बीबीसी ट्राभल


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप