मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको पिँजडाकी चरी : दुबईकी राजकुमारीको ‘आजादी’ को इच्छा

मङ्गलबार, २५ वैशाख २०७५, १३ : ००
मङ्गलबार, २५ वैशाख २०७५

दुबई । मानवअधिकारको लागि काम गर्ने सस्था ह्युमन राइट्स वाँचले दुबई प्रशासनसँग बेपत्ता भएकी राजकुमारी शेख लतिफाको बारेमा संसारलाई जानकारी दिन आह्वान गरेको छ ।

दुबईको राजाकी छोरी शेख लतिफाले मार्चमा देश छाड्ने प्रयास गरेकी थिइन् । उनी विदेशमा गएर स्वतन्त्र जीवन बिताउन चाहेको बताएकी थिइन् ।

तर, केही मानिसहरुको भनाईमा विलासी सरसमानले भरिएको उनी चढेको याच ‘नोस्ट्रोमो’ भारतको तट नजिकबाट नियन्त्रणमा लिइएको थियो । र, दुबई फिर्ता लगिएको थियो ।

अपराधिक रेकर्ड भएकाले मात्र राजकुमारी हराएको भन्छ

यो घटनापछि राजकुमारीलाई सार्बजनिक रुपमा देखिएको छैन । दुबई प्रशासनको भनाई अनुसार कानूनी कारणले यो विषयमा जानकारी दिन सकिँदैन ।

ह्युमन राइट वाचले दुबईको राजकुमारीको अवस्था र उनको कानूनी अवस्थाको बारेमा बयान दिन माग गरेको छ ।

संस्थाले भनेको छ, “यदी प्रशासनले राजकुमारीको अवस्था र उनको कानूनी अवस्था सार्वजनिक नगरेमा उनलाई जबर्जस्ती गायब गरेको मानिनेछ ।”

दुबई प्रशासनले भने बीबीसीसँग कुरा गर्दै अपराधिक रेकर्ड भएको मानिसले शेख लतिफा गायब भएको दाबी गरिरहेको बताएको छ ।

को हुन् शेख लतिफा ?

शेख लतिफा दुबईको शासक शेख मोहम्मद बिन अल मकतूमकी छोरी हुन् ।

समाचार अनुसार उनलाई देश छोड्न लाग्दा समातिएको थियो ।

बीबीसीका अनुसार पूर्व फ्रान्सेली जासूस र फिनल्याण्डको एक मार्शल आर्ट ट्रेनरको मद्दतमा उनी भागेकी थिइन् ।

राजकुमारीको भिडियो सन्देश

राजकुमारीलाई पहिले नै शंका थियो कि यदी उनको योजना गोप्य रहेन भने यसको परिणाम घातक हुन सक्छ ।

उनले एक भिडियो सन्देशमा यसतर्फ इशारा गरेकी छिन् ।

भिडियोमा राजकुमारीले यस्तो भनेकी छिन्, “म यो भिडियो बनाइरहेको छु । यो मेरो अन्तिम भिडियो पनि हुन सक्छ । तपाईले यो भिडियो हेरिरहँदा म मरिसकेको वा एकदम खराब अवस्थामा हुनेछु ।”

यो भिडियो राजकुमारीका साथीहरुले सार्वजनिक गरेका हुन् ।

हराउनु भन्दा पहिले खिचिएको यो भिडियो सार्वजनिक गर्नुको उद्देश्य संयुक्त अरब इमिरेटको सरकारमाथि दबाब बढाउने देखिन्छ ।

भिडियोमा राजकुमारी अगाडी भन्छिन् “मेरो बुवालाई खाली आफ्नो इज्जतको चिन्ता छ ।”

उनी अहिले गायब भए पनि अवस्था सधैँ यस्तो थिएन । कुनै समय शेख लतिफा एक लोकप्रिय राजकुमारी थिइन् । उनलाई स्काई डाइभिङ्गको शौख थियो ।

देशको झण्डामा लपेटिएर आकासबाट हामफालेको कयैन स्काई डाइभिङ्ग गरेको भिडियोमा उनी आफै देखिन्छिन् ।

“सुनका पिँजडाकी चराजस्ती”

तर यथार्थ यो भन्दा डरलाग्दोे छ ।

उनकी एक साथीले बीबीसीलाई उनी सुनको पिँजडाकी पन्छी जस्तो भएको बताइन् ।

ती साथी फिनल्याडकी नागरिक र मार्शल आर्ट ट्रेनर टीना योहियानेन हुन् ।

टीनाले बीबीसीलाई बताइन्, “लतिफा आफ्नो जीवन खुलेर जिउन चाहन्थिन् । राजकुमारीले सन् २००२ मा पनि भाग्ने कोशिश गरेकी थिइन् । त्यो बेला उनलाई पक्रेर जेलमा हालिएको थियो । त्यो बेला लतिफाले साढे तीन वर्ष जेलमा बिताएकी थिइन् ।”

को हुन् घटनासँग जोडिएकी पूर्व फ्रान्सेली जासूस

पछिल्लो वर्ष राजकुमारीले फ्रान्सको जासूसी सेवाको एक पूर्व अधिकारीसँग सम्पर्क गरिन् । अर्वे जबेयर नामका यी एजेन्ट अफै पनि कयैन वर्ष पहिले भेष बदलेर दुबईबाट भागेका थिए । त्यो बेला जबयेरमाथि दुबईमा धोकाधडीको आरोप लागेको थियो ।

जबेयरले बीबीसीसँग बताए, “शुरुमा उनले पनि मेरो जस्तै बाटो अपनाउन लागेको थिइन् । मैले उनलाई पहिले तपाईले पानीमूनि तरपीडो र नेवी सीलको जस्तो कपडाको प्रयोग गर्न सिक्नुपर्छ भने । यसपछि लतिफाले लगभग ३० हजार डलर खर्च गरेर आवश्यक सबै सामान किनिन् ।”

तर, पछि लतिफाले भाग्ने बाटो त्यागिदिइन् ।    

यसरी भयो भाग्ने योजना कार्यान्वयन

राजकुमारीले एक सजिलो योजना चुनिन् । उनी आफ्नो साथी टीना योहियानेनसँग कारमा सीमा पारि ओमान पुगिन् ।

त्यहाँबाट उनी एक सानो डुङ्गामा सवार भइन्, जसले उनलाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा तयार भएर बसेको नोस्ट्रोमो नामको एक विलासी याचसम्म लिएर गयो ।

नोस्ट्रोमोमा फ्रान्सेली पूर्व जासूस जबेयर पहिलेनै उनलाई पर्खिरहेका थिए । त्यहाँबाट जहाज भारततर्फ अघि बढ्यो ।

मार्चमा संयुक्त राज्य इमिरेटले इन्टरपोलमा एक नयाँ रेड कर्नर नोटिस जारी ग¥यो ।

नोटिसमा लतिफालाई अपहरण गरिएको भनिएको थियो ।

याचको जीपीएस ट्रयाकिङ्ग बन्द

यसपछि कथा धमिलो हुन थाल्छ त्यसैले तथ्यहरु प्रमाणित गर्न मुश्किल हुन थाल्छ ।

पक्राउ पर्ने डरमा नोस्ट्रोमोको पब्लिक ट्याकिङ्ग प्रणाली बन्द गरियो । यही कारणले अगाडीको बाटोको बारेमा सार्वजनिक रेकर्ड छैन ।

तर, बीबीसीले नोस्ट्रोमोको भूउपग्रह संचार प्रणालीको सूचना पाएको छ । यो सूचनामा जहाज भारतको गोवाको तट नजिक पुगेको देखिन्छ ।

यसपछि स्याटेलाइट ट्रयाकिङ्ग पनि बन्द हुन्छ । फ्रान्सेली पूर्व जासूसका अनुसार जहाजलाई ओमनबाट भारततर्फको यात्रा शुरु भएसँगै पिछा गर्न शुरु गरिएको थियो ।

र, चार मार्चको त्यो दिन

गत चार मार्चमा राजकुमारीको यात्राले पूर्ण विराम लियो । जबेयर डेकमा थिए । राजकुमारी आफ्नो साथी टीनासँग तल क्याविनमा थिइन् ।

टीन बताउँछिन् “मैले केही खलबल सुने । जहाजको डेकबाट गोली चलेको आवाज आउन थाल्यो । पछि मलाई थाहा भयो कि आवाज खासमा ‘स्टन ग्रेनेड्स’ को थियो ।”

बाहिर रहेका जबेयरले भने “म बाहिर उभिरहेको थिएँ । मलाई केही गडबडी महसुस भयो । तब मैले तीब्र गतिमा हाम्रो तर्फ आइरहेको एक डुङ्गा देखें । त्यसमा सवार सैनिकहरुले हामीतर्फ बन्दुक ताकिरहेका थिए । तिनको अनुहारमा हामीलाई मार्न खोजेको स्पष्ट देखिन्थ्यो ।”

टीनाका अनुसार गोली चलेपछि राजकुमारी र उनी क्याबिनमा रहेको बाथरुममा लुके र एकअर्कासँग टाँसिएर बसे ।

“त्यसपछि हामी क्योबिन बाहिर आयौँ । बाहिर आउना साथ मलाई धकेलेर जमिनमा लडाइयो र मेरो हात पछाडी लगेर बाधियो,” टीनाले भनिन् ।

यसपछि फ्रान्सेली जासुसले लतिफाले कराएको आवाज सुने । उनले लतिफाले फर्किनुभन्दा जहाजमै मर्न ठीक भएको भनेको पनि सुनेको बताए ।

पाँच मिनेटपछि हेलिकप्टर आयो र राजकुमारीलाई लिएर उड्यो ।

त्यसपछि कथामा नयाँ मोड आउँछ ।

“कमन लतिफा, लेट्स गो होम’

जहाज समातिए पछि चढेका मानिस र राजकुमारीबीच सबै कुराहरु अरबीमा नभएर अङ्ग्रेजीमा भइरहेको थियो । जबेयरको भनाईमा नोस्ट्रोमोमा पहिलो कदम राख्ने नाबिक इमिरेटी नभएर भारतीय थिए ।

“पहिले मलाई उनीहरु भारतीय हुन् भन्ने थाहा भएन, तर पछि मैले तिनको डुङ्गामा भारतीय कोस्ट गार्ड लेखिएको देखेँ ।”

र, उनीहरुले राजकुमारीलाई ‘कमन लतिफा, लेट्स गो होम’ भनेर लिएर अघि बढे ।

जबेयरले लतिफाले आफूले राजनैतिक शरण लिन चाहेको भनेको सुनेको बताए । बीबीसीले भारत सरकारसँग यो बारेमा प्रश्न गर्दा उसले कुनै प्रतिक्रिया दिएन ।

हेलिकप्टरमा टीना र जबेयरलाई पनि राखेर इमिरेट प्रहरी उड्यो ।

टीना र जबेयरलाई एक हप्तासम्म धम्काएर छाडियो ।

त्यो दिनदेखि लतिफा गायब छिन् । र, कसैले उनीहरुलाई देखेको छैन ।

उनको साथीहरुले जारी गरेको भिडियोमा लतिफाले भनेकी छिन् “मलाई आशा छ यो मेरो जिन्दगीको नयाँ अध्याय हुनेछ जहाँ मलाई चुप रहनु पर्दैन । यदी म भाग्न सफल भइनँ भने पनि यो सबबाट कुनै सकारात्मक बदलाब आओस् भन्ने चाहन्छु ।”

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप