शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हामीलाई कसैले किन्न सक्दैन, वैदेशिक रोजगारको सिन्डिकेट चाँडै अन्त्य हुन्छ  : श्रममन्त्री गोकर्ण विष्टको अन्तरवार्ता

सोमबार, २४ वैशाख २०७५, ११ : ४८
सोमबार, २४ वैशाख २०७५

गोकर्ण विष्ट यतिबेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् । युवापुस्ताका मन्त्री विष्टमा यतिबेला सम्भावना र चुनौती पनि उत्तिकै छन् । श्रममन्त्री भएकै कारणले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका विकृति हटाउने चुनौती छ भने काम गर्न खोजे र चाहेमा गर्न सक्ने तागत पनि छ । केही गर्छु भन्ने तीव्र इच्छाशक्ति लिएर फरक प्रकृतिको मन्त्रालयको जिम्मेवारी लिएका विष्ट यतिबेला ‘आन्तरिक तयारी’मै व्यस्त छन् । केही समयअगाडि मात्रै वैदेशिक रोजगारीको क्षेत्रमा हुने स्वास्थ्य परीक्षणको सिन्डिकेट हटाउँछु भन्दै धावा बोलेका विष्ट यतिबेला त्यसकै तयारीमा जुटेका छन् । केही निश्चित व्यक्ति र संस्थाहरूको मात्रै हालीमुहाली रहेको र महँगो स्वास्थ्य परीक्षण शुल्कलाई प्रतिस्पर्धाका माध्यमबाट सस्तो बनाउने तयारीमा छन् उनी । त्यसबाहेक मलेसियामा रोजगारीका लागि जाने युवाहरूमाथि भइरहेको ठगीका बारेमा पनि मन्त्री विष्ट जानकार छन् र त्यो लुटधन्दा बन्द गराउने चाहना छ । प्रस्तुत छ, रातोपाटीका संवाददाता मदन ढुङ्गानाले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको कुराकानी ।


तपाईंले केही समयअगाडि स्वास्थ्य क्षेत्रको सिन्डिकेट हटाउँछु भन्नुभएको थियो । श्रममन्त्रीको हैसियतमा यस्तो कुरा गर्दा तपाईंले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणको विषय उठाउन खोज्नुभएको होला, के बुझेर यस्तो भन्नुभएको हो ?

केही सीमित संस्थाहरूले सिन्डिकेट खडा गरेर वैदेशिक रोजगारीमा जाने विपन्न परिवारका युवाहरूमाथि जुन प्रकारले आर्थिक बोझ थप्ने काम भइरहेको छ । यसै त बाध्यतावश वैदेशिक रोजगारीमा युवाहरू गइरहेका छन्, एउटा गरिबीबाट राहात पाउन रोजगारीको खोजीमा छन् । 
दोस्रो यस्तो बाध्यताले रोजगारीमा जाने युवालाई जुन ढङ्गले सिन्डिकेट खडा गरेर आर्थिक बोझ थप्ने काम गरिएको छ, यो कुनै पनि हिसाबले, कानुनी हिसाबले होस् या न्यायका हिसाबले होस्, औचित्यपूर्ण होइन । यसकारण यसलार्ई तोड्ने गरी हामी प्रक्रियामा अगाडि बढेका छौँ । यसलाई तोड्छु भनेर भनेको हुँ । 

वैदेशिक रोजगारीका क्रममा हुने मेडिकल टेस्टको सिन्डिकेट तोड्न कति समय लाग्ला त ?

हामीले एउटा कार्यदल बनाएका छौँ, सिन्डकेट तोड्ने र यसको साथसाथमा सरकारी अस्पतालहरूमा समेत स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने गरी त्यसको आधार तयार गर्नका लागि कार्यदल बनाएका छौँ । यसले एकदमै छिटै प्रतिवेदन दिने सम्भावना देखेको छु । प्रतिवेदन आउनेवित्तिकै यसलाई हामी लागू गर्छौं । 

पहिले मन्त्री हुँदा पनि जनतामा प्रत्यक्ष प्रभाव पार्ने काम गरेकाले तपाईं चर्चित पनि हुनुभयो । अहिले पनि जनताले तपाईंबाट धेरै आशा गरेका छन् । अहिले मलेसिया जानका लागि एक व्यक्तिले करिब १ लाख २० हजार रुपियाँ खर्च गरिरहेका छन्, त्यो रकममा कटौती हुन्छ र त्यो तपाईंबाटै सम्भव छ भनेर आशा गर्न सकिन्छ ?

विभिन्न नाममा जुन प्रकारका सिन्डिकेट छन् र वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि विभिन्न शीर्षकमा रकम असुल्ने काम भइरहेको छ । यसलाई हटाउनका लागि हामीले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका बीचमा, गृह मन्त्रालय र श्रम मन्त्रालयका बीचमा, स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयका बीचमा बेग्लाबेग्लै ढङ्गले बैठक गरेका छौँ । आवश्यक निर्णय पनि लिएका छौँ । यी सबै कुराबाट सुधार गर्न, नयाँ निर्णय लिनका लागि हामीले गृहकार्य गरिरहेका छौँ, हामी निर्णय लिन्छौँ । कुनै पनि प्रकारका बेथिति कायम नरहने गरी हामी अगाडि बढ्छौँ ।

अहिले मलेसिया र खाडी मुलुकहरूमा कामदार पठाउनेदेखि स्वास्थ्य परीक्षण गराउने र विभिन्न नाममा शुल्क लिनका लागि एउटा गिरोह नै संलग्न छ, उनीहरूसँग टन्न पैसा र शक्ति पनि छ । कतिपय व्यवसायीले हिजोका मन्त्रीहरू, संसद्को श्रम समितिका सदस्यहरूले पैसा खाएर यो लुट गर्न छुट दिए भन्ने आरोप लगाएका छन् । उनीहरूसँग लड्ने तपाईंसँग कति हैसियत र तागत छ ? 

हामीसँग पर्याप्त तागत छ । हामीसँग यस प्रकारको नैतिक तागत छ । दुनियाँको सबैभन्दा ठूलो तागत भनेको नैतिक तागत हो । हामीसँग त्यो बलियो नैतिक तागत छ, जुन तागतले कुनै पनि प्रकारका अवाञ्छित गतिविधि रोक्न सक्छौँ । त्यो जतिसुकै ठूलो आडमा गर्ने कोसिस किन नहोस् । त्यस्ता कुराहरूलाई हामी सहँदैनौं । हामी उनीहरूलाई पराजित गर्छौं । हामी त्यस्तालाई कारवाही गर्छौं । 

मतलब जस्तोसुकै शक्ति भए पनि तपाईं मन्त्री र तपाईंको टिम बिक्नेवाला छैन, बिकिनेवाला छैन हैन ?

मलाई त रमाइलो लाग्यो । हामी एउटा सुधारको अठोटसहित यहाँ आएका छौँ । यो प्रश्न आफैमा पनि त्यति सान्दर्भिक नहोला । किनभने हामी नयाँ ढङ्गले सुधार गर्ने अठोटका साथ यहाँ आएका छौँ । हामीलाई केही कुरा बुझ्न, तयारी गर्न र कानुनी हिसाबले प्रक्रिया पु¥याउनका लागि सूक्ष्म ढङ्गका आन्तरिक तयारीका लागि केही समय लाग्ला तर यसको अर्थ के होइन भने हामी यी कुराहरूलाई आँखा चिम्लिएका छौँ, सुनेर बसेका छौँ भन्ने होइन । हामी यी सबै कुराहरूलाई व्यवस्थित ढङ्गले लागू गर्ने, निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने तयारीमा छौँ । 


विगतका विकृतिहरूतिर फर्किएर कसैप्रति म अमुक लक्षित गरेर निन्दा गर्न चाहँदिनँ तर विद्यमानमा जे समस्या देखिएका छन्, यसबाट मुक्त हुनेगरी हामीले बहुतै बुद्धिमत्तापूर्ण, दूरगामी प्रभाव पर्ने, आम युवाहरूको हित हुने महत्वपूर्ण निर्णय हामी लिन्छौँ । 

हिजो ऊर्जा मन्त्रालयमा रहँदा जत्तिकैको शाख हामीले तपाईंबाट फेरि भेट्न र देख्न पाउँछौँ कि पाउँदैनौं भन्ने मलाई चिन्ता छ ।   

ठीक छ, तपाईंको चिन्ताका लागि धन्यवाद छ । मप्रति सहानुभूति राखेरै चिन्ता व्यक्त गर्नुभएको छ । तर हामीले यस क्षेत्रमा व्यापक सुधार गर्नका लागि जुन प्रकारको तयारी गरिरहेका छौँ, कहिलेकाहीँ निर्णय र त्यसको कार्यान्वयन हुनु अगाडि झट्ट हेर्दा परिणाम नदेखिन सक्छ, तर ती सबै कुराको तयारीमा हामी छौँ । त्योभन्दा बेसी काम गर्ने, बेसी सुधार गर्ने परिणाम दिने आत्मविश्वाससहित यहाँ आएको छु । त्यो परिणाम तपाईं देख्न पाउनुहुन्छ । 

तपाईंको यो मन्त्रालयमा चुनौती जति छन्, सम्भावना पनि उत्तिकै बढी छ । सरकार आफै सबै प्रकारको सिन्डिकेट र माफियाकरण विरुद्ध उत्रिएको छ । श्रम मन्त्रालयभित्र पनि यी प्रवृत्तिका विरुद्ध काम हुन्छन् । सिन्डिकेट हट्छ भनेर हामीले बुझ्दा भयो होइन अब ?

प्रतिस्पर्धा, पारदर्शिता र कानुनसम्मत प्रक्रियामा नै सरकारले विश्वास गर्दछ । प्रतिस्पर्धा, पारदर्शिता र न्यायसम्मत र कानुनसम्मत विधिभन्दा बाहिर रहेर गरिने कुनै पनि प्रकारका चलखेल, अवाञ्छित क्रियाकलाप, पर्दापछाडिको कुनै पनि प्रकारका प्रयत्नहरूलाई सरकारले नियन्त्रण गर्छ, पराजित गर्छ । 
 

हेर्नुहोस् रातोपाटीमा प्रकाशित समाचार

मलेसिया रोजगारीमा लुटधन्दा : भीएलएन नेपाल र वान स्टप सेन्टरले यसरी असुल्दै छ रकम

बायोमेडिकल भित्र्याउने पदाधिकारी मालामाल, अरूको बेहाल !

वैदेशिक रोजगारीको अर्को पाटो : हुण्डीमार्फत् वार्षिक ३५ करोड रुपैयाँ मलेसिया जान्छ

मलेसिया भिसा ‘धन्दा’ : सिन्डिकेटदेखि हुण्डीसम्म

यसरी लुटिन्छन् मलेसिया जाने नेपाली कामदार

मलेसिया रोजगारीमा लुटधन्दा : नेपालको प्राइभेट कम्पनीलाई मलेसियन इमिग्रेसनको अधिकार !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप