शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविताले जेल पुगेकी कविको कथा

आइतबार, २३ वैशाख २०७५, ०९ : ५७
आइतबार, २३ वैशाख २०७५

सुमधुर स्वरमा वाचन गरिएको एउटा कविताले प्यालेस्टिनी कवि दरिन तेटौरलाई जेलको बाटो देखाएको छ । सन् २०१५ को अक्टोबरमा उनलाई इजरायल प्रहरीले पक्राउ गरेको थियो । 
जनवरी २०१६ पछि उनलाई लामो समय नजरबन्दमा राखियो । आतंकवादलाई सघाउ पु¥याएको र हिंसाको आह्वान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भयो । बिहीबार इजरायलको नजरेथ जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । 

उनलाई आठ वर्षसम्मको जेल सजाय हुनसक्ने विभिन्न सञ्चारमाध्यमा उल्लेख छ । तेटौर पक्राउ पर्नुको मुख्य कारण उनले फेसबुकमा पोष्ट गरेको एउटा भिडियो कविता हो । कवितामा तेटौरको प्रेमिल र सुमधुर स्वर सुनिन्छ, स्थानीय भाषामा । 

भिडियोमा केही प्यालेस्टिनी प्रदर्शनकारी ढुंगा हानिरहेका छन्, इजरायली सुरक्षाकर्मीविरुद्ध । उनको यही कवितालाई अर्का कवि तारिक अल हैदरले अंग्रेजीमा अनुवाद गरेका छन्– ‘रेसिस्ट, माइ पिपल, रेसिस्ट देम’ शीर्षकको उनको कविताले प्यालेस्टीनी जनताको प्रतिरोधको कथा भन्छ । 

उनको यो कविताले हिंसाको आव्हान गर्दै आतंककारीलाई सहयोग पु¥याउने इजरायली अदालतको ठहर छ । तेटौर भन्छिन्– ‘उनीहरुले मेरो कविता बुझेनन् । यहाँ मैले संघर्षको कुरा गरेको छु । उनीहरुले हिंसाको अर्थ लगाए ।’

उनी कवितामार्फत् भन्छिन्– 

‘प्रतिरोध गर औपनिवेशीक लुटको
र पछ्याऊ शहिदहरुको पदचाप’

यही पंक्तिले मानिसहरुलाई मर्न र हिंसामा उत्रन आह्वान गरेको इजरायली अदालतले ठहर गरेको तेटौर पक्षको भनाई छ । तेटौरको पक्षमा लडिरहेकी अधिवक्ता गेबी लेस्कीका अनुसार– ‘उनको कविताको गलत अनुवाद र गलत व्याख्या गरिएको छ ।’ 

तेटौरका अनुसार उनको कवितामा तीनवटा घटना समेटिएको छ । पहिलो, किशोर मोहम्मद अबु ख्दिरको, जसलाई सन् २०१४ मा इजरायली सेनाले अपहरण गरेर पछि जलाएर मारेका थिए । दोस्रो, १८ वर्षकी हादिल हास्लामोनको, जसलाई इजरायली सेनाले गोली हानेर मारेको थियो । र तेस्रो, १८ महिनाका अलि दावाब्शेहको, जसलाई सन् २०१५ मा इजरायलीहरुले जिउँदै जलाएका थिए । 

यो कविता यी तीन घटनाको प्रतिक्रिया थियो । यी घटना अदालतका लागि आतंककारी भएनन्, आतकंकारी भयो त तेटौरको कविता । अदालतमा बहसका क्रममा यहुदी कवि लेखकले लेखेका यस्ता दर्जनौँ उदाहरण पेश गरेको लेस्की सुनाउँछिन्, जसले संघर्षको आव्हान गरेको छ, तर उनीहरु दोषी भएनन् । 

ती यहुदी लेखक कविलाई जस्तो छुट तेटौरलाई भएन, किनकि उनी यहुदी थिइनन्, अरब थिइन् । उनी इजरायली थिइनन्, प्यालेस्टीनी थिइन् । तेटौरको पहिलो कवितासंग्रह ‘दी फाइनल इनभेजन’ सन् २०१० मा प्रकाशित भएको थियो । 

२०१५ मा उनी दोस्रो किताबको तयारीमा थिइन् । यतिबेलै उनी पक्राउ परिन् । केही समयपछि उनी थुनाबाट मुक्त भइन् । यसपछि उनको नजरबन्दको जीवन सुरु भयो । तेल अबिब नजिकैको किर्यात ओनोमा रहेको उनको दाजुको घरमा नजरबन्दमा राखियो । 

आफन्तसँगको भेटघाट, मोबाइल र इन्टरनेट प्रयोग गर्न उनलाई प्रतिबन्ध लगाइएको थियो । केही समयपछि सप्ताहन्तमा आफन्तको निगरानीमा दुई घण्टा बाहिर निस्कने अनुमति उनले पाएकी थिइन् । उनले आफ्नो बन्दी जीवनबारे पनि किताब लेखेको बताएकी छिन्, जुन प्रकाशनको प्रतिक्षामा छ । 

फोटोग्राफी तेटौरको अर्को शौख हो । इजरायली सेनाले हानेको गोली लागेर ढल्दै गरेकी एक महिलाको तस्विरले पनि उनी इजरायलको तारो बनिन् । यो फोटोमा उनले क्याप्सन लेखेकी थिइन्, ‘आइ एम दी नेक्स्ट मार्टियर !’ अर्थात्, ‘म अर्को शहीद !’

तेटौरको गिरफ्तारीकै समयदेखि ‘पेन इन्टरनेशनल’ले उनलाई रिहाइ गर्न माग गर्दै अभियान चलाइरहेको छ । विश्वभरका तीनसय बढी लेखकहरु उनको रिहाइका लागि निरन्तर बोलिरहेका छन्, जसमा प्रसिद्ध पुलिट्जर पुरस्कार विजेता नौ लेखकहरु सहभागि छन् । 

अदालतको फैसलापछि उनलाई उद्धृत गर्दै हारेत्ज पत्रिकाले लेखेको छ– ‘मेरो मुद्दाले इजरायलको मखुण्डो स्पष्ट भएको छ । पुरा विश्वले मेरो कथा सुन्ने छ । सारा विश्वले थाहा पाउने छ, इजरायलको लोकतन्त्र यहुदीहरुको लोकतन्त्र हो, जहाँ अरब मात्र जेल जान्छन् ।’

उनी भन्छिन्– ‘अदालतले मलाई आतंकवादको मुद्दामा दोषी देखाएको छ । यदी यो आतंकवाद हो भने म विश्वलाई प्रेमको आतंकवाद दिनेछु ।’

प्रतिरोधको गीत
दरिन टेतौर
अनुवादः रोहेज खतिवडा
प्रतिरोध गर, प्रिय मानिसहरु, तिनीहरुको प्रतिरोध गर 
यही जेरुसेलममा 
मेरो घाऊ सफा गरेर
दुःखको सास फेरेको हुँ 
र, मेरो आत्मालाई हत्केलामा बोकेर हिँडेको हुँ 
अरब प्यालेस्टाइनको लागि । 

कुनै ‘शान्तिपूर्ण समाधान’को नाममा
म जाने छैन कसैको सती
जबसम्म मेरो भूमि उनीहरुबाट स्वतन्त्र पार्दिनँ 
तबसम्म मेरो झण्डा नझुकाउनु
एकदिन म उनीहरुलाई यो भूमिबाट अलग गर्नेछु 
प्रतिरोध गर, प्रिय मानिसहरु, तिनीहरुको प्रतिरोध गर  ।

प्रतिरोध गर औपनिवेशीक लुटको
र पछ्याऊ शहीदहरुको पदचाप । 
च्यात अपमानजनक संविधान 
जसले लादेको छ पीडा र अन्याय
जसले तर्साएको छ न्यायको लागि लड्न ।

उनीहरुले निर्दोष केटाकेटीलाई जलाएका छन्
हादिललाई झैँ भीडमा नङ्ग्याएका छन्
र, हत्या गरेका छन् दिनदहाडै
प्रतिरोध गर, प्रिय मानिसहरु, तिनीहरुको प्रतिरोध गर । 

औपनिवेशीक आक्रमणको प्रतिरोध गर । 
उसका दलालहरुलाई ध्यान नदेऊ
जसले हामीलाई शान्तिपूर्ण भ्रमको साङ्लोमा बेर्छ
शंकाका शब्दहरुदेखि नडराऊ
जब कि तिम्रो हृदयको सत्य अझ बलियो छ 
जबसम्म तिमी यो भूमिमा प्रतिरोध गरिरहन्छौ
आक्रमण र विजयमाझ बाँचिरहन्छ सत्य । 

त्यसैले अली चिहानभित्रबाट चिच्याउँछ, 
प्रतिरोध गर, मेरा विद्रोही मानिसहरु
अत्तरको काठमा मेरो गीत कुँद
उनीहरुलाई जवाफ दिन बाँकी तिमी नै छौ
प्रतिरोध गर, प्रिय मानिसहरु, तिनीहरुको प्रतिरोध गर 
प्रतिरोध गर, प्रिय मानिसहरु, तिनीहरुको प्रतिरोध गर । 
(कवि तारिक अल हैदरको अंग्रेजीको नेपाली अनुवाद)   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहेज खतिवडा
रोहेज खतिवडा

खतिवडा पत्रकार हुन् ।

लेखकबाट थप