बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवअधिकारवादी नेता रिजालको खुल्लापत्र

शनिबार, २२ वैशाख २०७५, १८ : ०५
शनिबार, २२ वैशाख २०७५

काठमाडौं– भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्लापत्र लेखेका छन् ।   विगत ३० वर्षदेखि भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरु तथा स्थानीय भूटानी आदिवासीहरुको निर्वासन, मानवअधिकार तथा भुटान फिर्ति अभियानका अभियन्ता रिजालले भारतीय मोदीको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा भुटानी शरणार्थीहरुका समस्या समाधानका लागि आग्रह गर्दै दुई देशका प्रधानमन्त्रीलाई खुल्लापत्र लेखेका हुन् ।

यसअघि पञ्चायतकालमा नेपाल आएका रिजाललाई तत्कालीन सरकारले पक्राउ गरी भुटानसमक्ष बुझाएको थियो ।

भुटान सुपुर्दगी गरिएलगत्तै उनले १० वर्ष १ महिना भुटानको जेलमा बिताएका थिए । त्यसबेला रिजाल भुटानको राजकीय सल्लाहकार परिषदका पूर्व सदस्य रहेका थिए । 

यस्ता छन् रिजालले लेखेका दुई खुल्लापत्रः  

सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यू,

संघीय गणतन्त्र नेपाल 

 

विषयः भुटानी शरणार्थी समस्याको स्थायी समाधान बारेमा ।

 

महोदय, 

उपयुक्त सम्बन्धमा संघीय गणतन्त्र नेपालमा नयाँ संविधान आएपछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनु भएकोमा यहाँलाई हामी हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं । हामी भुटानी शरणार्थीलाई झण्डै तीन दशकदेखि आतिथ्यता प्रदान गर्दै आएको मुलुक नेपालको प्रधानमन्त्री जस्तो गरिमामय पदमा हाम्रो मामिलालाई राम्रोसँग बुझेको व्यक्ति निर्वाचित हुनु हाम्रोलागि खुसी र गौरवको विषय पनि हो । 

भुटानी शरणार्थी मामिला विभिन्न घुम्तीमा जेलिदै अहिलेको अवस्थामा आइपुगेको कुरा यहाँलाई अवगत नै छ । यहाँ गृहमन्त्री र उपप्रधान तथा परराष्ट्रमन्त्री भएको बेलामा दुई पक्षीय वार्तामा समेत बस्नु भएको समेत हामीले बिर्सेका छैनौं ।

 यद्यपि, भुटान विगत ३० वर्षदेखि जातीय राजनीतिमा फसेको छ । यसका लागि कारक को हुन सक्छ ? के कारण यस्तो भयो ? इतिहास साक्षी छ । तर, देश छाडेर जान बाध्य बनाइएका एक लाख नागरिक आजसम्म पनि अनिर्णयको बन्दी बनेका छन् । उपरोक्त सम्बन्धमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीको निकट दिनमै हुन लागेको नेपाल भ्रमणकालमा हाम्रो समस्या उहाँ समक्ष राखिदिनको लागि प्रधानमन्त्रीज्यूसँग यो अपील गर्दछु । 

भुटान कुन अवस्थामा थियो, आज कुन अवस्थामा छ, आजसम्म आइपुग्दा भए गरेका घटनाक्रमका सम्बन्धमा, नजिकको सम्बन्ध राख्ने छिमेकी राष्ट्र भारतलाई थाहा छ र यो समस्या समाधान गर्ने जिम्मेवारी पनि भारतकै हो भनिन्छ । तर म यहाँ के प्रष्ट गर्न चाहन्छु भने भुटानले आफ्नो मुलुकभित्र आफ्ना नागरिकप्रति के कस्तो व्यवहार गर्छ, कति ज्यादती गर्छ ? सबै कुरा भारतलाई थाहा छ भन्नु कति हदसम्म उपयुक्त होला ? भुटान विशाल भारतको एउटा कुनामा अवस्थित राजतन्त्रात्मक मुलुक भएको र यहाँ खुला पत्रपत्रिका तथा मानवअधिकार संगठनको नाम निशाना नभएको देश हो । भुटानले केही दिन अघिसम्म आफ्ना देशका नागरिकलाई टेलिभिजन हेर्नसम्म प्रतिबन्ध लगाएको थियो । यस्तो अवस्थामा भुटानको सीमासम्म जोडिएको भारतको पश्चिमबंगाल, आसाम र सिक्किम राज्य बाहेक भारतका अन्य क्षेत्रका विद्वान मानवअधिकारकर्मी र राजनेताहरु बेखबर छन् भन्दा कुनै अतियुक्ति हुँदैन । भुटानमा कार्यरत केही भारतीय मानिसलाई प्रयोग गरेर भुटानले भारतको केन्द्रीय नेताहरुको मन जितेको मात्र हो । 

म यहाँ के पनि स्मरण गराउन चाहन्छु भने पछिल्लो पटक नेपाल प्रवेश गरेको बेला मैले नेपालका पत्रकार सामु भुटानी समस्यामा भारतको कुनै हस्तक्षेप छैन र यसको सम्पूर्ण दोष भुटानले लिनुपर्छ भनेको थिएँ । दुर्भाग्य भुटानबाट भाडामा लिइएका कतिपय व्यक्तिका कारण हामी भुटानी शरणार्थी प्रतिनिधि तथा ल्होत्साम्पा जनसमुदायले भारतका प्रधानमन्त्री, गृहमन्त्री, विदेशमन्त्री तथा कतिपय विशिष्ठ व्यक्तिहरुलाई विश्वस्त पार्न सकेनौं । हामीलाई चारैतिरबाट बाधा, अड्चन खडा गरियो । ज्यान मार्ने डर देखाइयो । भुटान फर्कन चाहनेलाई गोली प्रहार गरियो । भारतको न्यायलयले हाम्रा पक्षमा बोेलिदिंदा समेत सुनुवाई भएन । भुटानमा कार्यरत भारतीय निकाय तथा गुप्तचर विभागको रिपोर्टबाट माथि उठेर मानवताको नाताले भारतका प्रधानमन्त्री मोदीजीले यो ल्होत्साम्पाको वास्तविक समस्या बुझ्नु हुनेछ भन्ने मलाई पूर्ण विश्वास छ । 

ल्होत्साम्पा र सेरछोक्पा समुदायको आफ्नै कमजोरी हुनसक्छ, अन्य राष्ट्रको राजनीतिक अभिलाषा हुनसक्छ,  शंकाको राजनीति गर्ने आफ्नै देशका शासकको शक्ति होडबाजी हुनसक्छ जे–जे कारणले भए पनि नागरिक कुहिराको काग भए । अपेक्षा र आशा गरिएका सबै ढोकाहरु बन्द हुँदै गए । देखाइएको झुटो तमासा विश्वले पत्यायो, पर्दा पछाडि पुगेर वास्वविकता कसैले निकाल्न सकेनन् । यसैकारण अनागरिक बनाइएका हामी फेरी पनि सहाराविहीन हुन पुग्यौँ । तेस्रो देश पुर्नबाससँगै समस्या सकिएको देखाइए तापनि समस्या यथावत छ । यो स्थायी समाधान होइन । एकैछिन बालकलाई फकाएझैँ निरीह बनाइएका नागरिकलाई फुलाइएको मात्र छ । भुटानमा उनीहरुको लुटिएको सम्पत्ति, हिजो भएको अपराधमा संलग्नको छानबिन, कारबाही र उनीहरुका आफन्त नेपाल गएपछि देशमै जेलजीवन भोगिरहेका कैदीको समस्या ज्युँकात्युँ छन् । अप्रत्यक्ष देशी–विदेशी सहयोग जुटाएर अपराधको श्रृङ्खला बढाउँदै गरेको भुटान सरकारलाई मानवताको नाताले अधिकार, स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानूनका बारेमा बोध गाराइदिन अनुरोध गर्न चाहन्छु ।  

देशभित्र नाम मात्रको प्रजातन्त्र भोगिरहेका नागरिक तथा देशबाहिर नागरिक बन्न नपाएका नागरिक दुवैको अवस्था उस्तै छ । विगत ३० वर्षदेखि भुटानको जेलमा निर्दोष नागरिक निर्मम जेल यातना भोगिरहेका छन् । आफन्त कहाँ छन् र भविष्य के हो ? भन्ने समेत थाहा छैन । भुटानले अझै आफ्ना नागरिक खेदाउन छाडेको छैन । उता तेस्रो देश पुर्नबासको सिलसिला स्थगित भएसँगै परिवार बिहीन ९ हजार भन्दा बढी शरणार्थी बिचल्लीमा छन् । दुनयाँले समाधान भयो भनिठानेको भुटानको चित्र यस्तो छ । भारतका नागरिक समाज, नेपाल तथा अन्य थुप्रै राष्ट्रबाट समस्या समाधानको पहल भए तापनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । देशभित्रै कहालीलाग्दो जीवन बिताइरहेका र देशबाहिर निरीह जीवन बिताइरहेका भुटानी नागरिकलाई नागरिकको हैसियत दिलाउन भुटान, नेपाल र भारतको उच्चस्तरीय छानविन समिति गठन गरी समस्याको जरो पत्ता लगाउन र समस्या समाधान गर्न  म निम्न बुँदागत अपिल गर्न चाहन्छु ।

·        भुटानका नागरिकले ससम्मान आफ्नो देश फर्कन पाउनु पर्छ ।

·        आफ्नो लुटिएको सम्पत्ति फिर्ता हुनुपर्छ ।

·        भुटान सरकारले मारेका, बेपत्ता बनाइएका तथा अङ्गभङ्ग बनाइएका नागरिकलाई सार्वजनिक गर्नुपर्छ ।  

·        तेस्रो देश पुर्नबाससँगै भुटानमा भएका हजारौँ अपराधका घटनामा संलग्न राज्यपक्षका अपराधीलाई उम्कन दिनु हुँदैन, कानुनी कारबाही अगाडि बढाइनु पर्छ ।

·        आजसम्म पनि जेलजीवन भोगिरहेका निर्दोष नागरिकलाई रिहाई गरिदिनुपर्छ । 

·        देशभित्रै रहेर पनि नागरिक सरह जीवनयापन गर्न नपाएका नागरिकलाई उचित क्षतिपूर्ति सहित देशमा बाँच्न सक्ने वातावरण निर्माण गरिनुपर्छ ।

·        भुटानमा आजसम्म पनि चलिरहेको दासप्रथा हटाइनु पर्छ ।  

·        नेपालको क्याम्पमा रहेका शरणार्थीका आफन्तहरुको पहिचान गरी उनीहरुलाई शरणार्थीको रुपमा नाम दर्ता गर्नुपर्छ ।

·        तेस्रो देश पुनर्वासले निम्त्याएको परिवार वियोग हटाउन परिवार मिलन वातावरण सिर्जना गर्नुपर्छ ।

·        आदिमकालदेखि चलिआएको हिन्दू धर्म, भाषा, परम्परा र संस्कृतिको संरक्षण हुनुपर्छ ।

·        नेपालले भारतसँगको सहकार्यमा छानविन टोली गठन गरी भुटानले जातीय सफायको नाममा गरेको ज्यादतीप्रति छानविन गर्न दक्षिण भुटान समेत भ्रमण गरी समस्या समाधान गरिनुपर्छ ।

    

म यहाँ के स्मरण गराउन चाहन्छु भने – भुटानले गर्ने र देखाउने सवै विषय दुइवटा हुन्छन् । विश्व, मानवअधिकार, कुटनीतिक नियोग तथा सञ्चार माध्यमले देख्ने भुटान फरक छ । नागरिकले भोग्ने भुटान अर्को छ । सुकिलो र सानदार जीवन बिताएको नागरीक दुनियाँको नजरमा पर्छ । तर मर्नु न बाँच्नुको दोसाँधमा रहेका नागरीकको प्रमाण भुटान लुकाउँछ, दुनियाँले देख्दैन । यो मामिलामा भने सबै क्षेत्र वास्वविकतामा पुग्नबाट चुकेका छन् वा देखेर पनि नदेखेझैं गर्दैछन् । तर, किन कोही देख्दैनन् ? म नेपाल सरकार, राजनीतिक दल, मानवअधिकार संगठनका प्रतिनिधि, पत्रकार लगायत सम्पूर्णमा यो अपिल गर्न चाहन्छु ।

भवदीय

टेकनाथ रिजाल

पूर्व राजकीय सल्लाहकार परिषद्का सदस्य, भुटान

                         

सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू

गणतन्त्र भारत 

विषयः भुटानी शरणार्थी समस्याको स्थायी समाधान बारे । 

महोदय, 

उपयुक्त सम्बन्धमा हामीलाई आतिथ्यता दिने मुलुक नेपालको भ्रमणमा आउन लाग्नु भएकोमा यहाँहरुको छिमेकी मुलुक भुटानबाट जातीय र धार्मिक कारणले लखेटिन बाध्य भएका हामी भुटानी शरणार्थीहरु समेत स्वागत गर्न चाहन्छौं । 

विश्वको सबै भन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतका प्रधानमन्त्रीको हैसियतले क्षेत्रीय तथा विश्वमामिलामा यहाँले खेल्नु भएको भूमिकाबारे हामी लामो समयदेखि परिचित छौं । यहाँले विगतमा गुजरात राज्यको मुख्यमन्त्रीको हिसाबले र सन् २०१४मा प्रधानमन्त्रीको पद सम्हालेपछि अन्तर्राष्ट्रिय मामिलामा खेल्नु भएको भूमिकाबारेमा पनि हामी अवगत नै रहेका छौं । 

यहाँलाई जानकारी नै हुनुपर्दछ दक्षिणी भुटानमा भारतको सीमा रक्षकको रुपमा सयौं वर्षदेखि बस्दै आएका हामी भुटानीलाई हिन्दू धर्मावलम्बी भएको र नेपाली भाषी भएको आधारमा नै सन्  १९८८ मा भारतको बाटो हुँदै नेपाल तर्फ लखेटिएको थियो ।  हामीले त्यहाँ रहेर भुटानका तर्फबाट भारतलाई कुनै पनि अहित नहोस् भन्ने हिसाबले सीमा रक्षकको काम गर्दै आएका थियौं । अहिले भुटानमा प्रजातन्त्र छ भनिन्छ तर जातीय वा धार्मिक रुपमा उत्तिकै उत्पीडन रहेको छ । त्यहाँ रहेका जनता निरंकुशतामा बाँच्न विवश रहेका छन् । 

छिमेकी भारतले ऊ स्वतन्त्र भएसँगै भुटानको विकासमा पनि महत्वपूर्ण योगदान गर्दै आएको छ । भुटानमा जेजति विकास भएको छ त्यसको प्रमुख हिस्सेदार भारत नै भएकोमा हामी अत्यन्त खुसी रहेका छौं । विश्वकै लोकतान्त्रिक मुलुकको सीमामा रहेको अर्को मुलुक भुटानमा भने जातीय र धार्मिक हिसाबले उत्पीडन हुँदा हामी पीडित बन्नु परेको छ । त्यसैले हाम्रो मामिलालाई समेत मानवीय हिसाबले हेरेर यहाँले भुटान सरकारसँग कुरा राखिदिनुभएको अवस्थामा निमेषभरीमै समस्या समाधान हुने अवस्था रहेको छ । यसको जस यहाँलाई समग्र विश्वले दिनेछ । किनकि भारतको प्रधानमन्त्रीको हैसियतमा यहाँले एक पटक बोलिदिएकै अवस्थामा विगत ३ दशकदेखि अल्झीरहेको यो मानवीय समस्या समाधान हुनेछ । यसबाहेक यहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क) भित्रैपनि उपक्षेत्रीय समूह प्रस्ताव गर्नु भएको कुरामा पनि हामी अवगत रहेका छौं । त्यो उपक्षेत्रको समग्र विकासको लागि नै यहाँले सो प्रस्ताव राख्नु भएको हो । त्यसैले सो उपक्षेत्रभित्र कुनै पनि अमानवीय काम नहुन् भनेर यहाँले नेतृत्व लिनका लागि समेत भुटानी शरणार्थी समस्याको समाधान जरुरी रहेको कुरा यहाँलाई बताइरहनु नै पर्दैन । 

सम्माननीय प्रधानमन्त्रीज्यू, 

छिमेकी भारतले पछिल्लो दिनमा गर्दै आएको प्रगतिबाट हामी भुटानी शरणार्थी अत्यन्तै गौरवान्वित रहेका छौं । अझ यहाँको नेतृत्वमा भारतले विश्व रंगमञ्चमा खेलेको भूमिकाको पनि हामी सह्राहना गर्दछौं । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य पदमा गरिरहेको दाबी यो क्षेत्रको प्रभावशाली मुलुक भएको नाताले जायज रहेको छ । त्यसमा उसलाई सफलता मिलोस् भन्ने कामना समेत गर्दछौं । यहाँले हालै गर्नुभएको चीन भ्रमणका क्रममा भारत र चीनको जनसंख्या विश्वकै कूल जनसंख्याको ४० प्रतिशत रहेको र दुई मुलुक मिलेर विश्वका नीति निर्माणमा नै नेतृत्वदायी भूमिका खेल्न सक्ने बताउनुभएको थियो । निश्चयपनि यहाँको भनाई जायज हो । हरेक हिसाबले भारतले अहिले गरेको प्रगति प्रशंसायोग्य रहेको छ । 

यो अवस्थामा यति प्रभावशाली मुलुक भारतको छेऊछाऊमा भुटानी शरणार्थी समस्या जस्तो मानवीय समस्या लामो समयदेखि अल्झदा त्यसैका कारण विश्व समुदायले भारतको प्रभावलाई  कम आँक्ने अवस्था नआओस् भन्ने कुराले हामी चिन्तित रहेका छौं । 

अन्तर्राष्ट्रिय समुदायको पहलमा सन् २००७ देखि भुटानी शरणार्थीलाई तेस्रो देशमा लग्ने कार्य सुरु भएकोमा सन् २०१७ को डिसेम्बर महिना सम्ममा १ लाख १२ हजार भन्दा बढी भुटानी शरणार्थी त्यसतर्फ गइसकेका छन् । अहिले ९ हजार भन्दा बढी भुटानी शरणार्थी नेपालका शरणार्थी शिविरमा बस्दै आएको यहाँलाई अवगत गराउन चाहन्छौं । यहाँले भारतमा प्रधानमन्त्री पद सम्हालेको समयमा तेस्रो देशमा लग्ने प्रक्रिया चलिरहेकोले हामीले यो मामिलाबारेमा यहाँलाई निवेदन गर्न पाएनौं । तर, गएको डिसेम्बर महिनाबाट यो प्रक्रिया रोकिएको र अझै ९ हजार भन्दा बढी शरणार्थी बाँकी रहेकोले हामी आफ्नो पुरानै थातथलोमा फर्किन चाहन्छौं । यसका लागि यहाँले भुटान सरकारसँग मध्यस्थता गरिदिएको अवस्थामा विगत तीन दशकदेखि अल्झिरहेको यो समस्या समाधान हुने थियो । त्यसैले यहाँले यस विषयलाई गंभीरतापूर्वक लिएर यहाँको कार्यकालमा नै यो समस्या समाधान हुने अपेक्षा गरेका छौं । यहाँको नेपाल भ्रमण सफल होस् हार्दिक शुभकामना  ।

धन्यवाद  ।

भवदीय

टेकनाथ रिजाल

पूर्व राजकीय सल्लाहकार परिषद्का सदस्य,भुटान


    
 

                         


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप