बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको रारा भ्रमण र सपनाको खेती

आइतबार, १६ वैशाख २०७५, १२ : ५०
आइतबार, १६ वैशाख २०७५

मुगुको अनुपम दृश्य हो राराताल । नव वर्ष २०७५ वैशाख १ गते सूर्योदयको लाल किरणसँगै राराको डिलमा बसेर प्र.म. केपी ओलीले सम्बोधन गरेका हुन् । त्यहाँबाट समृद्धि र विकासका लड्डु सबैलाई बाँडे । यो हो ओलीको सपनाको खेती । सपना त हुनुपर्छ । त्यसलाई पूरा गर्न दृढ विश्वास, सङ्कल्प, योजना तर्जुमा र कार्यक्रम पनि हुनुपर्छ । तर उडन्ते गफ गरेर एकादेशको कथा मात्र दोहोरिन्छ । कथित वाम गठबन्धन तय भएदेखिको कथा हो सपनाको खेती । यो ठोस छैन । यसमा कुनै आधार छैन ।

यसमा पङ्क्तिकारको आग्रह, पूर्वाग्रह पनि छैन । व्यवहारमा लागू नगरेसम्म मुखले शब्दको खेती गरेर केही बन्दैन । दिनको सङ्केत बिहानीले दिन्छ भनेजस्तो यस प्रकारका मनका लड्डू पहिले पनि नबाँडिएको होइन । भ्रम छरेर दुनियालाई भुलाउनेबाहेक अरू केही हो भन्ने कुरा शङ्काको बादलभित्र रहन्छ । 

रारा कर्णालीलाई पर्यटकीय क्षेत्र बनाउने कुरा राम्रो हो । कर्णाली सबैभन्दा ठगिएको प्रदेश हो । यो अति दुर्गम विकट क्षेत्र हो । यहाँ खेती योग्य समतल जमिन छैन । पानी छ तर  सिंचाइ छैन । पक्की बाटो छैन । यातायातको पहुँच छैन । हेलिकप्टरबाट सामान ढुवानी गर्नुपर्छ । यहाँ अझै विकासको घामलागेको छैन । तर पनि यहाँ महत्वपूर्ण जडीबुटीको भण्डार छ । आदिम  संस्कृति र सभ्यताको स्थल हो कर्णाली । लेकहरूको गर्भमा खनजि पदार्थ लुकेर बसेको अवस्था छ । ऊर्जाका लागि पानी प्रशस्त छ । कस्तूरी, यार्चागुम्बा, स्याउको भण्डार हो यो । भेडा च्याङ्ग्राबाट सक्कली ऊन उत्पादन हुन्छ । वास्तवमा भन्ने हो भने राज्यको मुटु हो कर्णाली । मधेस जीवन दाता हो भने पहाडी भेग हात र आँखा हो, जसले कर्णाली र मधेसको सन्तुलन मिलाउँछ । पहाडका खस आर्यका सभ्रान्त सामन्त नेताहरू मधेस र कर्णालीको गल्छेडा बनेको अनुभूत हुन्छ । 

कर्णालीको हावापानी चिसो भएको हुनाले यो क्षेत्रलाई निश्चय नै अग्र्यानिक क्षेत्र बनाउन सकिन्छ तर नेपाललाई अग्र्यानिक क्षेत्र बनाउन यस किसिमको रवैयाले सकिँदैन । के तराईका लाखौं बिगाहा जमिनलाई रसायनिक मलको प्रयोगविना लाखौं क्विन्टल धान उत्पादन गर्न सकिन्छ ? करेँसा बारी भने अग्र्यानिक हुनसक्छ ।  कुरै खानु कुरै लगाउनु भनेको यही हो । मूल नै धमिलो छ भने धाराहरूबाट कसरी सङ्लो पानीको अपेक्षा गर्न सकिन्छ ? भ्रष्टाचार, तस्करी, कमिसनखोरी आदिबाट देशको ढुकुटी रित्तिइसकेको छ । नेपालको आर्थिक स्रोत भनेको राजस्व, वैदेशिक सहायता र बैङ्कहरू हुन् । राजस्वमा कमिसनको खेल र चुहावट छ । भनेको समयमा काम सम्पन्न गर्न नसकेर विदेशीदाताहरू पनि सहयोग दिन अकमकाई रहेको अवस्था छ । आईएनजीओबाट प्राप्त रकम बिल भौचर मिलाएर भान्सा गर्ने र विदेश भ्रमणमा जाने संस्कृति बसेको छ ।

अहिले सरकारी बेरुजु मात्र १ खर्ब ११ अरब पुगेको छ । औषधिखर्च र विदेश भ्रमण बाक्लिएको अवस्था छ । जनताले खाने गाँस काटेर दिएको राजस्वबाट वर्षमा अरबौं पैसा विदेश भ्रमणमा जान्छ । तेलमा जान्छ । बेरोजगारी छ । महँगी आकासिएको छ । यस प्रकारको विकृति विसङ्गतिलाई कसले हेर्ने ? आफूलाई चित्त नबुझेमा न्यायालयलाई महाभियोग ? अदालतले छाडिदिएको थुनुवालाई पूर्वाग्रहले पुनः पक्राउ गरिन्छ भने कसरी न्यायालय स्वतन्त्र हुन सक्छ ? चेक एन्ड ब्यालेन्स त हुनुपर्छ तर अहिले प्रमको फाँसीवाद र पपुलिज्म चलेको अवस्था छ । एमालेका उपमहासचिव घनश्याम भुसालले त्यसै भनेका होइनन् यो कुरा– प्रम केपी ओलीको फाँसीवाद र पपुलिज्मले उनैलाई सिध्याउनेछ । जब समान हैसियत, समान अवस्था भनिन्छ, राराको भ्रमणमा पुष्पकमल दाहाल प्रचण्डलाई पनि लगेर संयुक्त रूपमा उद्घाटन गर्नुपथ्र्याे । हुन त यो उनीहरूको आन्तरिक मामला हो । फाँसीवाद भनेकै यही हो । सरकार एक्लौटी ढङ्गले चलेको छ । मन्त्रालयका सचिवहरूको सरुवा र बढुवामा एक आक्षर पनि माकेलाई  सोधिएन भन्ने दुखेसो छापा र रेडियोबाट धमाधम सुनिन थालेको छ । सहकर्मी वामदेव गौतमलाई उपेक्षा भावले हेरिएको अनुभूति हुन्छ । बर्दिया चुनावको साँठगाँठ अन्तर्घात छ ।

आफ्नो पार्टीभित्रबाट असन्तोषका छालहरू आइरहेका छन् । पार्टी बाहिर  त उछाल्ने काम भएको छ । लोकतन्त्र भनेकै यही हो ? अत्तालिएर आजसम्म नभएको निषेधित क्षेत्रको घोषणा । आज माइतीघर मण्डलमा छ । भोलि उपत्यकाका सबै सहरी क्षेत्र हुन्छ ।  नेपालमा माओवादी नबढून् भन्ने भारतको एउटा चासो हो । अर्को चासो र चिन्ता हो, चीन विकासको निहुँमा नेपालमा नपसोस् । यसैले त चीनले बनाएको ऊर्जा भारतले नकिन्ने पूर्वसङ्केत दिइसकेको छ ।  भ्रमणको दोस्रो दिन इन्डियन एक्सप्रेसमा प्रकाशित ज्योती मलहोत्राको टिप्पणीमा चिनियाँ कम्पनीले लगानी गरेको र बनाएको ऊर्जा भारतले किन्ने छैन भन्ने सन्देश दिन मोदीले ओलीलाई चाँडै नै भारत बोलाएका हुन् भन्ने छ । खै ओलीको भारत भ्रमणको के अपेक्षा के अनपेक्षा ? एक घण्टासम्मको कुराकानी गोप्य राखिए पनि रेल मार्ग र जल मार्गको लड्डुबाहेक अरू देख्न सकिएन ।

दुवैको अनुहार त्यति फुरेको देख्न सकिन्नथ्यो । भारतीय लगानीको याचक भएको त पाइयो तर १९५० को असमान सन्धिको खारेजीको त के कुरा, यससम्बन्धी चूँ गरेको पनि केही चाल पाइएन । सुस्ता कालापानी, टनकपुर, लिपुलेकलगायतका दर्जनौं ठाउँमा भएको सीमा अतिक्रमणबारे केही कुरा चलेन । आजसम्म ६१ ठाउँबाट ७१ हजार ६३० हेक्टर जमिन भारतले मिचेको छ ।  आगोमा घिउ थपेजस्तै कोशी उच्च बाँध अझ उच्च बनाएर जलमार्ग बनाउने कुराले तराईका जिल्लाबासी चिन्तित भएको बुझ्न सकिन्छ । शिर उच्च राख्ने भनेको कोशीको बाँध उच्च राख्ने भनेको हो ? राम्रो काम गर्दा केही जोखिम त उठाउनुपर्छ नै तर त्यहाँ डुबानमा सन्त्रस्त ३१ जिल्लाको जीवन छ । मधेस आन्दोलनको लगाम भारतले समाएको छ । अब राजनीति नफेरिएसम्मद मधेसमा आन्दोलन हुने अवस्था पातलो भएको अनुभूति हुन्छ । दास युगदेखि आजसम्मको गति द्वन्द्वात्मक भौतिकवाद हो । कम्युनिस्टको कुरा छोडांै चार्लस डार्भिनले पनि विकासको गतिलाई मानेका छन् तर केपी महोदयले मानेको बुझिँदैन ।

१६ हजार नेपालीका जनताका छोराछोरीको रगतमा मस्ती मार्न पल्केका महासयहरूले आफ्नो टाउको रक्षा गर्न खटिएका बालकृष्ण ढुङ्गेललाई थुनेको रमिते भएर हेरेका छन् । कसको खटनमा चलेका हुन् बालकृष्ण ? यसको पनि हेक्का राख्नुपर्छ ।  कोही जेल, कोही अपाङ्ग, आफू भने ४ तले अलिसान महलमा बस्न मिल्छ ? उसबेला चप्पल लगाएर हिँड्नेलाई अहिले ४ करोडको गाडीमा गुड्ने र हेलिकप्टरमा उड्ने कसले गरायो ? काउत्स्की, ख«ुस्चेभ र तङ्साओका शिस्यहरूले आफ्ना गुरुको गीत गाउँछन् । यो कुनै अचम्मको कुरा होइन । न त वाम गठबन्धन नै आश्चर्याको कुरा हो । एउटै विचार भएपछि एउटै पार्टी हुन्छ । यो कसैलाई टाउको दुख्ने कुरा भएन । टाउको दुख्ने त कम्युनिस्टको विभ्रम फैलाएको कुरामा छ । युरोपियन युनियन वा पश्चिमा शक्तिबाट प्रभावित भएर पार्टी अफिसबाट माक्र्स र लेनिनका तस्बिर हटाउनु अवसरवाद हो । उनीहरूप्रति जघन्य अपराध हो । यही क्रममा पछि पार्टीको नाम र झण्डा पनि फेरिने छ । आखिरमा ठूलो भनेको विचार होइन । कुर्सी पो रहेछ । अहिले अध्यक्ष र भावी प्र.म.को भागबण्डाको कुरा नमिल्दा पार्टी एकीकरणमा हलो अड्केको छ ।  

हामीले राष्ट्रिय पुँजी जति लागू गर्नसक्छौं, जति जति जनतालाई सचेत बनाउन सक्छौं, वैज्ञानिक समाजवाद धेरै टाढाको कुरा हुँदैन ।  कुनै पनि राजनीतिक समस्याको समाधान राजनीतिबाट नै हुन्छ । जनतासँग गाँसिएका कुरामा पार्टीका नेताहरूलाई उत्तेजित पारेर समाधान हँुदैन । जति दमन भयो उति उभार हुन्छ । शान्तिपूर्ण रूपले घरैमा बसेका वा गाडीमा हिँड्दै गरेका नेता कार्यकर्तालाई पक्राउ गर्न त सजिलो हुन्छ तर महँगो पर्छ ।

आफैले विश्वको उत्कृष्ट भन्दै आएको संविधानको उल्लङ्घन हुन्छ । पङ्क्तिकार आफै मानव अधिकारकर्मी र पत्रकार भएको नाताले भन्न कर लाग्छ कि सत्ताको मातमा मानव अधिकार तथा मौलिक अधिकारको उल्लङ्घन भएको अनुभूति हुन्छ ।   छिमेकीसँग सन्तुलित सम्बन्ध हुनुपर्छ । मोदीले ओलीलाई चीनमा हुने बोआओ सम्मेलनमा भाग लिनबाट रोक्नुथियो । प्रम आफै नगएर परराष्ट्र मन्त्रीलाई पठाइएको अवस्था छ । यसले मित्रतामा खलल नपारोस् भन्ने हो ।  आफ्नो पार्टीलाई पनि माक्र्सवादको अवमूल्यन र अपव्याख्या गरेको चित्त बुझेको छैन । घनश्याम भुसालको पनि यही अभिव्यक्ति हो । कम्युनिस्टकै लोगो किन चाहियो ? दुनियालाई किन विभ्रम ? इमानदारिता हो भने कम्युनिस्टको लोगो फालेर राजनीति गर्नुपर्छ ।  अब महेन्द्रको पालाजस्तो शब्दको खेती गर्ने बेला छैन । अहिले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा सल्केको छ । अब विकास, समृद्धि, न्याय, जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनताका लागि सबै देश भक्त, साम्राज्यवाद विरोधी शक्तिहरू एकजुट हुनेबेला आएको छ । देश सिक्किमीकरण नहोस् भन्ने मुख्य चिन्ता हो ।  
                                        
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झपेन्द्रराज वैद्य
झपेन्द्रराज वैद्य
लेखकबाट थप