शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती नै भइसकेको जस्तो लागेको छ– अभिनेत्री केकी अधिकारी (भिडियो)

शुक्रबार, १४ वैशाख २०७५, १४ : १५
शुक्रबार, १४ वैशाख २०७५

काठमाडौं– यति बेला अभिनेत्री केकी अधिकारी चारैतिर मिडियामा छाएकी छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’सँगै उनी मिडियामा छाएकी हुन् । निर्माणसमेत आफ्नै भएको चलचित्र रहेकाले पनि होला यसको प्रचार प्रचारमा उनको निकै मिहिनेत देखिएको छ ।

‘कोहलपुर एक्सप्रेस’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । चलचित्र राम्रो बनेकाले दर्शकले पनि रुचाउने उनले प्रचारको क्रममा दाबी गरेकी छन् । चलचित्रमा उनको अलवा प्रियङ्का कार्की, रिचा शर्मालगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । प्रचार प्रसारमा भने उनी अन्य अभिनेत्रीको तुलनामा धेरै खटिएकी थिइन् । 

प्रचार राम्रो भए दर्शक पनि बढ्छन् भन्ने राम्ररी बुझेकी उनले प्रचारका लागि विभिन्न तरिका समेत अपनाएकी थिइन् । घरघर पिजा पुर्याउनेदेखि मोफसल दौडसमेत गर्न उनले भ्याइनन् । बिहान, बेलुकी नभनी मिडिया हाउसमा समेत पुगेर उनले चलचित्रको प्रचार गरिन् । 

त्यसो त उनी अहिले चलेकी अभिनेत्रीमध्येकी एक हुन् । आफ्नो काममा लगनशील रहने अभिनेत्रीको रूपमा समेत चिनिएकी उनी उति नै व्यक्तित्वमा ध्यान पनि दिन्छिन् । पहिरन र सुन्दरतामा पनि बढी ध्यान दिने केकी सकारात्मक सोचमा सुन्दरता एवम् व्यक्तित्व लुकेको दाबी गर्छिन् ।

प्रायः सामान्य मेकअपमै रहन मन पराउने र जुनै प्रकारको पहिरनमा पनि राम्री देखिने केकी रातोपाटीको कार्यलयमा पनि चलचित्र प्रचारको क्रममा आइपुगेकी थिइन् । साँझ पर्दै गर्दा पहेँलो कलरको पहिरनमा सजिएर आएकी केकीको सुन्दरता झनै खुलेको देखिन्थ्यो ।

हँसिलो स्वभावकी केकी रातोपाटीको कार्यालयमा चलचित्रका निर्देशक विशाल भण्डारीका साथ उपस्थित थिइन् । करिब एक घण्टा रातोपाटीमा बिताएकी केकीले पछिल्लो समय निकै प्रतिभावान कलाकार भित्रिएकाले यस क्षेत्रप्रति झन् आस पलाएको बताइन् । 

कुराकानीको क्रममा रियल जोडीसँग हामीले कहिले कुरा गर्ने ? उनलाई प्रश्न राखेका थियौं । जवाफमा उनले भनिन्– ‘मेरो पनि आफैसँग यही गुनासो छ । कुनै सही समयत आउला । मेरो पहिलो प्रेम भनेकै मेरो काम हो’– उनले अगाडी भनिन्– ‘यस हिसाबले भन्ने हो भने मेरो विवाह नै भइसकेको जस्तो । गर्भवती नै भइसकेको जस्तो, सन्तान नै जन्मिँदै छ जस्तो  लागेको छ ।’ उनले थपिन्– ‘अहिले मेरो सबै कुरो फिल्म नै हो ।’ कुनै दिन मेरा लागि कोही न कोही त जुर्ला । यो समय सबै खुसी मिडियामा सेयर गर्छु ।’ 

भिडियोमा अभिनेत्री केकी अधिकारीसँग गरिएको थप कुराकानी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप