बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धिमान बहुलाएको त छैन नि ! : राप्रपा नेता बुद्धिमान तामाङसँग अन्तरवार्ता

शुक्रबार, १४ वैशाख २०७५, १० : ५८
शुक्रबार, १४ वैशाख २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता हुन् बुद्धिमान तमाङ । तामाङ यसअघिका निर्वाचनमा चार पटक जनताबाट प्रत्यक्ष निर्वाचित भए भने सात पटक मन्त्री बने । तर पछिल्लो पटक भएको निर्वाचनमा उनको पार्टी संसदबाहिरै खुम्चियो । निर्वाचनपछि उनै तामाङ तीन खेमामा विभाजित राप्रपा एकीकरणको प्रयासमा लागेका छन् । 

त्यति मात्रै होइन, तामाङले केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शहलाई झापामा भेटेर पार्टी एकीकरणबारे समेत छलफल चलाए । पूर्वराजा शाहसँगको गोप्य भेट, पार्टी एकताको गृहकार्य र एकीकृत पार्टीको नेतृत्वका बारेमा तामाङ निवसमै पुगेर हामीले केही जिज्ञासा राख्यौं ।  प्रस्तुत छ, हाम्रा जिज्ञासामा तामाङले दिएको जवाफ : 

चुनावमा हार व्यहोरेपछि तपाईं तीनवटै राप्रपा एकीकरण गर्ने प्रयासको नेतृत्व गरिरहनुभएको छ भन्ने सुनिन्छ, वास्तविकता के हो ?

सङ्घीय निर्वाचन र प्रदेश निर्वाचनपछि राप्रपाहरूको जुन पोजिसन देखियो, यसले गर्दा अब एक्लाएक्लै बसेर र एक्लाएक्लै चुनाव लडेर कम छैन भन्ने देखियो, बुझियो र त्यही मेरो निष्कर्ष रह्यो । एउटै घरबाट फुटेर गएका एउटै विचार, एउटै सिद्धान्त र एउटै उद्देश्य भएकाले फरकफरक बस्नुभन्दा देशमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचोसमेत महशुस गरेर तीनवटै पार्टी एकीकरणको प्रयासमा लागेको हुँ । हामी तीनवटा पार्टी मिलेपछि राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सकिन्छ भन्नेमा म विश्वस्त छु । त्यसका लागि प्ररम्भिक छलफलफल र कुराकानी हुँदैछ । 

एकताको आवश्यकता किन पर्यो ?

संसारको राजनीतिमा दुईवटा धार हुन्छ । एउटा सोसलिजम, अर्को कम्युनिजम ।

यी दुई धारबाहेक तेस्रो शक्ति पनि चाहिन्छ भन्ने हाम्रो मान्यता हो । जुन प्रजातान्त्रिक राष्ट्रवादी शक्ति । त्यही शक्ति निर्माण गर्न अवाश्यक देखेर हामी एकता गरेर अघि बढ्ने प्रयासमा लागेका हांै । हाम्रोजस्तो देश जहाँको भूगोल, जनजाति, धर्म संस्कृति, सबैलाई गोलबन्द गर्न र सबैको अधिकार सुनिश्चित गर्न तेस्रो शक्ति जरुरी छ । १३० वटा जातजाति बस्छन्, १२५ वटा भाषा बोलिन्छ नेपालमा । यस्तो देशमा सेन्टर राइटिस्ट पार्टीको खाँचो छ । त्यही सोचेर नै यो पार्टी स्थापना गरिएको हो र यसको औचित्य झन् बढ्दैछ ।  

पहिला संवैधानिक राजसंस्था भन्थ्यौं भने अहिले सिम्बोलिक वा एकताको प्रतीकको रूपमा राजसंस्थाको कुरा गरेका छौं । राजसंस्थामा जस्तो राष्ट्रवाद कहीँ हुन सक्दैन । किनभने ऊ अन्त जान सक्दैन । राष्ट्रपति, प्रधानमन्त्री त अन्त पनि जान सक्छन् । यो उदाहरण पनि देखिइसकेको छ ।

सम्भव छ तीन पार्टी एकता गर्न ?

सम्भव नहुने भन्ने कुरा नै छैन । अहिले एमाले माओवादी त मिल्ने अन्तिम चरणमा छन् भने हामीलाई त कुनै समस्या नै छैन । अरू ठाउँको त मलाई हिसाब छैन, सशस्त्र द्वन्द्वकालमा धादिङमा एमालेका धेरै मान्छे मारिए माओवादीबाट तर पनि उनीहरू अहिले आपसमा पार्टी एकता गर्दैछन् भने हामी त एउटै विचार र सिद्धान्त बोकेका पार्टी अलिकति छलफल गर्नेवित्तिकै एकता गर्न समस्या छैन ।

एकताका लागि अरू नेताजस्तै कमल थापा, पशुपति शमशेर राणा, डा. लोहनीले अग्रसरता लिनुपर्नेमा तपार्इं अघि सर्नुभयो नि ?

सबै नेताहरू एकता गर्नुपर्छ भन्ने पक्षमै हुनुहुन्छ । मैले मात्रै सहजीकरणको भूमिका निभाएको हो । सबैमा कुराकानी भइसकेको छ । 

एकताको गृहकार्यचाहिँ कहाँ पुग्यो त ?

चरण चरणमा छलफल र कुराकानी भइरहेको छ । 

कहिलेसम्म एकता घोषणा गर्नुहुन्छ त ?

एकता त्यति सजिलो विषय पनि होइन, तर, प्रयास जारी भएकाले कुनै समय हुन्छ । तर, ठयाक्कै समय कसरी भनौं र ? हाम्रो कार्यसम्पादन समितिले पार्टी एकीकरणका लागि निार्णय नै भइसकेको छ । त्यसपछि यी तीबाहेक अरू साना पार्टीसँग पनि कुराकानी भइरहेको छ । 

एकीकृत पार्टीको सिद्धान्त परिवर्तन हुन्छ या पुरानै राजसंस्था र हिन्दु राष्ट्रलाई बोक्नुहुन्छ ?

हामी पनि परिमार्जित हँुदै आएका छौं । पहिला संवैधानिक राजसंस्था भन्थ्यौं भने अहिले सिम्बोलिक वा एकताको प्रतीकको रूपमा राजसंस्थाको कुरा गरेका छौं । राजसंस्थामा जस्तो राष्ट्रवाद कहीँ हुन सक्दैन । किनभने ऊ अन्त जान सक्दैन । राष्ट्रपति, प्रधानमन्त्री त अन्त पनि जान सक्छन् । यो उदाहरण पनि देखिइसकेको छ । हिन्दुराष्ट्र नेपालबाहेक अन्त कही छैन । संसारमा मुस्लिम, बौद्ध, क्रिस्चियन राष्ट्रहरू (श्रीलङ्का, भुटान, कम्बोडिया) छन् तर हिन्दुराष्ट्र छैनन् । त्यसैले हिन्दुराष्ट्र सबै नेपालीको पहिचानका लागि भनेका हौं, हाम्रो स्वार्थका लागि होइन । संसारमा तिमी कहाँको नागरिक भन्दा नेपालको भनेर गर्भ गर्न सकियोस्, जुन हिन्दुराष्ट्र हो । त्यसमा पनि ८१ प्रतिशत हिन्दुधर्म मान्नेहरू छन् यहाँ । यस्तो देशलाई हिन्दुराष्ट्र भन्न किन नसक्ने ? अझ म त बुद्धिस्ट हुँ । बुद्धिस्ट भएर पनि हिन्दु धर्मको कुरा गरिरहेको छु । ५८ को जनगणनामा नेपालमा बुद्धिष्ट १० प्रतिशत थिए तर पछिल्लो जनगणनामा ९ प्रतिशतमा झर्यो । म चार पटक जनताबाट निर्वाचित भएँ र सात पटक मन्त्री भएँ । म बौद्धधर्मालम्बी हुँ र पनि म हिन्दु धर्म चाहिन्छ भन्छु, मैले किन त्यसो भनिरहेको छु त ? यो कुरा तपाईंले पनि विचार गर्नुपर्यो । बुद्धिमान बहुलाएको त  छैन नि ! हामी संविधान मान्दै हाम्रो मौलिक हक प्रयोग गरेर हामी अगाडि बढेका हौं । जनताको मत लिएरै हामी परिवर्तनको प्रयासमा लाग्छांै ।  

तर राप्रपा प्रजातान्त्रिकले त राजसंस्था छोडिसकेको छ । ऊ फेरि राजसंस्थाको पक्षमा आउला र ?

आउँछ, त्यसमा दुई मत नै छैन । राप्रपा प्रजातान्त्रिकले परम्परागत शक्ति भन्नेको छ । राजसंस्था नभने पनि उसले एक पटक मानी पनि सकेको हो । जतिबेला हामी एकीकरण भएका थियौं । त्यसैले म विश्वस्त छु । 

हामीलेमात्रै पनि राजसंस्था ल्याउने होइन, सबै पार्टी मिलेर गर्ने हो । राष्ट्रपति काँग्रेसको भए काँग्रेसका सल्लाहकार हुन्छन्, एमालेको हुँदा एमालेकै हुन्छन् । उनीहरूले त पार्टीलाई फाइदा हुने सल्लाह दिन्छन् र त्यही गर्छन । तर राजा भए राष्ट्रको हित हेर्छन् ।

राप्रपा विभाजन विचारभन्दा पनि नेतृत्व र सत्ताका कारण फुटेको हो, फेरि पनि नेतृत्वमा सहमति जुट्ला र ?

नेतृत्वका कारण पनि होला तर त्यो मात्रै हैन । सत्ता पनि हो, त्यो स्वीकार गर्नुपर्छ । हाम्रो पार्टी फुटाउन अरू शक्ति पनि लागे । मसँग प्रमाण छ । 

कोको लागे ? के प्रमाण छ, भन्दिनुस् न जनताले थाहा पाउन् ?

नेपाल धर्म निरपेक्ष भनिए पनि लागू त भएको छैन  नि । हामी सर्वधर्म सापेक्ष हुनुपर्छ भन्ने भएकाले हामीलाई कमजोर गराउन लागिपरे । यसमा युरोपीयन र अमेरिकनको हात छ । कति लगानी गरे त्यो त उनीहरूलाई नै थाहा होला । अर्कोतर्फ राजसंस्था हुनुहुँदैन भन्नेले पनि खेले हामीलाई फुटाउन लागिपरे । 

अबको एकीकृत पार्टीको नेतृत्व कसले गर्छ ? यसअघिका तीन नेता त असफल भइसकेको देखियो ? के तपाईं नेतृत्वका लागि तयार हो ?

म मिलाउने मान्छे भएकाले त्यो कुरा अहिले नै भन्न मिल्दैन । कुनै पनि पार्टीको नेता भएपछि त्यसको नेतृत्व लिन त खोजिहाल्छ । म पनि एउटा राजनीतिक प्राणी भएकाले त्यो चाहाना राख्नु स्वभाविक हो । तर साथीहरूको सहमति भएमा म पछि हट्ने पक्षमा पनि छैन । म मिलाउने भएकाले अरूलाई दिँदादिँदै आफ्नो कहिलेकाहीँ आफ्नो भागमा नपर्न पनि सक्छ । त्यसैले अहिले मैले मलाई चाहियो भन्न सुहाउँदैन । तर कुनै पद नदिए पनि म सन्तुष्ट छु । 

केही समय पहिला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न तपाईंलगायतका अरू नेताहरू झापा पुग्नुभयो । त्यो भेटमा के–के कुराकानी भए ? पूर्वराजाले तीन पार्टी एकीकरण गर्न निर्देशन दिएका हुन् ?
म प्रष्ट भन्दिन्छु । पूर्वराजाले हामीलाई त्यो भेटमा ‘म जहाँ जान्छु, त्यहाँ सबै राप्रपाका नेता कार्यकर्ता भेट्छु तर उनीहरूले मलाई नेताहरूका कारण पार्टी फुटेर गयो सरकार भन्छन्, सबैको यस्तै गुनासो सुन्छु । यो सुनेकाले मैले तपाईंहरूलाई यदि सकिन्छ भने पार्टी एकीकरण किन नगर्ने त ? भनेर तपाईंहरूलाई सुझाव दिएको हो’ भनेर भनेको हो । तर, यसो नै गर भनेर सरकारले भनेको छैन । यस्तो छ कार्यकर्ताको भावना भनेर सम्झाएको हुँ भनेर भनिबक्सेको हो । जनताको त्यो आवाज नेतासम्म पुगेको छ कि छैन तर त्यो विचार कदर गरेर एकै पार्टी भए हुन्थ्यो भनेर एउटा म्यासेज दिएको हो अरू तपाईंहरूको विचार हो भनेको सत्य हो ।

अहिले विद्या भण्डारीले राष्ट्रपति हुन्छु भनेर सोचेको थियो त ? हिजो हामीसँगै मन्त्री भएका हौं । तर दुई पटक राष्ट्रपति भइसक्नुभयो । त्यसकारण कसैले कसैको भाग्य देखेको छैन ।

तीन पार्टी मिलेपछि पूर्वराजा शाहलाई चाहिँ के फाइदा हुने रहेछ ?

तीन पार्टी मिलेपछि एउटा शक्ति बन्छ । राजसंस्थ आउला या नआउला तर तेस्रो शक्तिको भ्याकुम पूरा हुन्छ । त्यो पनि एक दिन ल्याउन सकिएला । हाम्रो जस्तो देशमा राजसंस्था नभई पनि हुँदैन । पहिलाको जस्तो पनि होइन । के राजा भएका देश गरिब छन् ? जापान, अष्ट्रेलिया कति धनी छन् ? यो आवाश्यक्ता हो । हामीलेमात्रै पनि राजसंस्था ल्याउने होइन, सबै पार्टी मिलेर गर्ने हो । राष्ट्रपति काँग्रेसको भए काँग्रेसका सल्लाहकार हुन्छन्, एमालेको हुँदा एमालेकै हुन्छन् । उनीहरूले त पार्टीलाई फाइदा हुने सल्लाह दिन्छन् र त्यही गर्छन । तर राजा भए राष्ट्रको हित हेर्छन् । उदाहरणकै लागि प्रचण्डको पालामा कट्वाल काण्ड र शेरबहादुर देउवाको पालामा राष्ट्रिय सभा सदस्य विधेक काण्डमा दलहरूको विभाजित मानसिकता हेर्नुस् । देउवा कार्यकारी अधिकारसहतिको प्रधानमन्त्री भएर लगेको विधेयक किन राष्ट्रपतिले रोक्नुभयो र पछि स्वीकृत भयो ? यसमा दलीय स्वार्थ प्रष्ट देखिन्छ नि । त्यसैले यस्ता समस्या नहुन् भनेर नै हामीले राजसंस्थाको आवश्यक्ता देखेका हांै । अहिलेका राष्ट्रपतिका सल्लाहकारले आफ्नो पार्टीको हितअनुकूल सल्लाह दिन्छन् । राजा भए कतै पनि जाँदैनन् । पहिला देश अनि जनता त्यसपछि पार्टी भन्ने कुरा हुँदै भएन ।

त्यति ठूलो जनआन्दोलनले राजा फालेको इतिहास छ, तर तपाईंहरू फेरि तिनै राजा वा राजसंस्था फर्काउने कुरा गर्नुहुन्छ, यो त दुनियाँ हास्ने कुरा भएन र भन्या ? 

यसमा तपाईंले दुईवटा उदाहरण ख्याल गर्नुपर्छ । पहिलो कुरा कम्बोडियामा राजतन्त्र फर्कियो १९७० मा गएको राजसंस्था फर्काएर ल्याए । पार्टीहरूले नै ल्याए । त्यहाँ गणतन्त्र पनि छ, राजतन्त्र पनि छ । रसियामा पनि त्यही छ । पहिलेका कुरा त छाडांै बेलायत लगायतको त । पछिल्ला उदाहरण पनि धेरै छन् । अहिलेको मोर्डन जमानामा अफगानिस्तानमा क्रान्तिपछि राजालाई नै गुहारियो । तर राजाले म सक्दिनँ भने । त्यहाँका राजाको कोही सन्तान थएनन् र लिएनन् । वृद्ध पनि थिए उनी । उनले नमानेपछि पार्टीलाई अफर गरेको हो । मैले के भन्न खोजेको हो भने एकताको प्रतीकका रूपमा । जननिर्वाचितहरूले शासन व्यवस्था गर्ने तर, एकताको प्रतीकका रुपमा राजा राख्ने । अहिले विद्या भण्डारीले राष्ट्रपति हुन्छु भनेर सोचेको थियो त ? हिजो हामीसँगै मन्त्री भएका हौं । तर दुई पटक राष्ट्रपति भइसक्नुभयो । त्यसकारण कसैले कसैको भाग्य देखेको छैन । हाम्रो देश धेरै महत्वपुर्ण छ । दुईवटा ठूला राष्ट्रको बीचमा छ । दुई ढुङ्गाको तरुल त्यसै भनेको होइन, त्यो तरुल धेरै मीठो पनि हुन्छ । त्यो दुवैतिरबाट थिचिन्छ पनि । यस्तो अवस्थामा हामी स्वतन्त्र भएर बस्न सक्नुपर्छ, त्यो भए मात्रै  हाम्रो पहिचान रहनसक्छ । 

अघि तपाईंले प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको कुरा गर्नुभयो, के त्यसो भए अहिलेका अरू पार्टीचाहिँ राष्ट्रवादी प्रजातान्त्रिक शक्ति होइनन् भन्न खोज्नुभएको हो  ?

त्यसो भन्न खोजेको होइन, उनीहरू पनि हुन् त, हामीभन्दा उनीहरूमा केही भिन्नता छ । हामी सिम्बोलिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा छांै, उनीहरू त्यसको विपक्षमा छन् । यसकारण हामीहरू उनीहरूभन्दा भिन्न पार्टीका रूपमा छांै 

अब अन्त्यमा निर्वाचनपछि बनेको वाम गठबन्धनको सरकारलाई कसरी लिनुभएको छ ?

अहिले हनिमुन डे नै पूरा नभएको सरकारको टिप्पणी गर्नु ठीक हुन्न । सुरुवाती रूपमा  हेर्दा यो सरकारले विकास निर्माणका काम चाहिँ धेरै नै गर्लाजस्तो सङ्केत देखाएको छ । तर अब हेर्दै जाऊँ कति गर्छ । तर प्रधानमन्त्रीले आफू शक्तिशाली हुनेतर्फ केन्द्रित भएको हो कि भन्ने पनि देखिन्छ । बहुदलीय व्यवस्थापछि अहिलेका प्रधानमन्त्री धेरै शक्तिशाली छन् । अब यस्ता प्रधानमन्त्रीले केही गर्नुहुन्छ होला भन्ने पनि जनताको अपेक्षा छ । तर चरित्रमा पनि केही कुरा भरपर्छ । प्रधानमन्त्री ओली पहिला गृहमन्त्री पनि भएको मान्छे हो । अनुभव पनि छ । 

छिमेकीसँगको सम्बन्ध र समृद्धिको बाटोमा देश जाला त ? 

पछिल्लो समयका गतिविधि राम्रा छन् । यसले गर्दा नेपालको हित नै होला भन्ने बुझ्न सकिन्छ । तर अहिले नै सबै हुन्छ भन्ने होइन । रिजल्ट पनि आउन बाँकी छ । छिमेकीको सवालमा स्वतन्त्र र सन्तुलित व्यवहार हाम्रा लागि अनिवार्य छ । तर, हामी राष्ट्रवादी भएर बाच्न धेरै गाह्रो छ । तर, राष्ट्रवादको नाममा अन्धराष्ट्रवादी भयौं भने समस्या आउन सक्छ । हामी सार्वभौमसत्ता सम्पन्न भएकाले दुई देशलाई ब्यालेन्समा राख्दै उनीहरूको अहित हुने काम गर्नुहुँदैन । तर, हाम्रा नेताहरूमा एउटा देशमा गए अर्कोको कुरा गर्ने, अर्कोमा गएको अर्कोको कुरा गर्ने चलन छ । यसले देशको हित गर्दैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप