शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

शुक्रबार, १४ वैशाख २०७५, १० : २२
शुक्रबार, १४ वैशाख २०७५

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । 

कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन् । 

विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने कारबाहीमा परेको कामपाका नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो । 

विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम रु ५०० देखि एक लाखसम्म जरिवाना गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामनपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ । 

त्यसैगरी, चालू आवको चैतसम्ममा नै कामपाले एक हजार ६०० टन धुलो व्यवस्थापन गरेको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै शुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोको व्यवस्थापन गरेको हो । संकलित सबै धुलो विष्णुमति किनारामा राखिएको छ । 

कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक र त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट धुलो संकलन गरिएको हो । 

कामपाको यो अभियान निरन्तर रहनेछ । त्यसैगरी, कामपाले सडकमा अव्यवस्थित रुपमा छरिएर रहेका करीब ५५ गाडी तारको पनि व्यवस्थापन गरेको छ । 

कामपाले गत मंसिरको पहिलो सातादेखि तार व्यवस्थापनको कार्य शुरु गरेको हो । संकलित तार सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका हुन् । ती तार तत्कालका लागि टेकुमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप