शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवादित ‘एजेन्ट’ का दाइ योजना आयोगको सदस्य बनेपछि...

बुधबार, १२ वैशाख २०७५, १७ : ४०
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–राष्ट्रिय योजना आयोगको सदस्यमा इन्जिनियर सुशील भट्ट नियुक्त भएपछि उनको नियुक्तीलाई लिएर अनेक प्रश्न उठेका छन् ।

खासै चर्चामा नआएका र राष्ट्रिय महत्वको कुनै काम नगरेका व्यक्ति अचानक राष्ट्रिय योजना आयोगको सदस्य भएपछि प्रश्न उठेका हुन् । यो विषयमा एमाले र माओवादी केन्द्रभित्रै पनि आन्तरिक विवाद देखिएको छ । यद्यपी औपचारिक रुपमा चाहिँ कोही पनि बोलेका छैनन् ।

एमाले र माओवादी गठनबन्ध सरकारले के आधारमा भट्टलाई नियुक्त गरेको भन्ने स्पष्ट पारेको छैन । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयोगको उपाध्यक्ष पुष्प कँडेलसहित अन्य ६ जनालाई  आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले डडेलधूराका भट्टलाई  योजना आयोगमा नियुक्त गरेसँगै यसविरुद्ध एमाले नेता भीम रावल र माओवादी केन्द्रका नेता लेखराज भट्ट समेत रुष्ट भएको स्रोतले रातोपाटीलाई बतायो ।

‘पार्टीमा एथेष्ठ विज्ञ व्यक्तित्वहरु हुँदाहुँदै पनि निकै जुनियर र गठबन्धनप्रति कुनै साइनोसम्म नभएका भट्टलाई योजना आयोगमा ल्याइएको छ’,  ७ नम्बर प्रदेशका एक एमाले नेताले भने, ‘यसमाथि एमाले र माओवादीकै ७ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरु असन्तुष्ट हुनुभएको छ ।’

७ नम्बर प्रदेशबाट योजना आयोगमा प्रतिनिधित्व गराउँदा ७ नम्बर प्रदेशका पार्टी इन्चार्जहरुसँग समेत कुनै छलफल नगरी रहस्यमय ढंगले भट्टको नियुक्ति गरिएको उनको भनाई थियो । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको सद्भावमा भट्टले राष्ट्रिय योजना आयोगको सदस्य बन्ने अवसर पाएका हुन् । उनको राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेता वामदेव गौतमसाग समेत निकट सम्बन्ध रहेको बताइएको छ । 

एमाले सांसद शेरबहादुर कुँवरले पार्टीभित्र योग्य व्यक्ति हुँदाहुँदै छलफल नगरी भट्टलाई नियुक्त गरिएको बताए । उनले भने, ‘नियुक्तीको विषयमा हामी सांसदलगायत सात नम्वर प्रदेशका जिम्मेवार नेताहरु कसैसँग पनि छलफल गरिएन । नियुक्तीलाई लिएर हामी नै अचम्मित भएका छौँ ।’

भाइको सम्बन्धले‘उपहारकोे पद’
राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति सुशीलका भाइ दीपक भट्ट चाहिँ यो देशमा परिचित र विवादित ‘एजेन्ट’ मानिन्छन् । दीपक समेतको लबिङको आधारमा सुशील आयोगमा नियुक्त हुन सफल भएको राजनीतिक दलका नेताहरु मान्छन् ।

दीपक को हुन् ? यो जानेपछि मात्रै सुशीलको नियुक्तीको पर्दा खुल्छ 

दीपक भट्ट चाइना गेजुवा ग्रुप अफ कम्पनीको नेपाल एजेन्ट हुन् । उनको नेपालका सबै उच्च राजनीतिक नेतृत्वसँग बाक्लो उठबस छ ।

उनले बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिलाउन राजनीतिक तथा प्रशासनिक चलखेल गरेको आरोप लागेको छ । बुढीगण्डकी परियोजना अहिले पनि विवादमै छ ।

यसबाहेक चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माणधीन माथिल्लो त्रिशुली थ्री एलाई ६० मेगावटवाट ९० बनाउन चलखेल गरेको दीपकमाथि आरोप छ । यो आयोजना पनि चिनियाँ कम्पनीले जिम्मा छ ।

यसबाहेक दीपक भट्टले तत्कालीन उर्जा मन्त्री राधा ज्ञवालीलाई बर्खास्त गर्न पनि भूमिका खेलेको आरोप लाग्ने गरेको छ । 

सोलु करिडोर १३२ केभी प्रशारण लाइनको ठेक्का आफु स्थानीय एजेन्ट रहेको ‘ज्यागुर’ कम्पनीले नपाएपछि दीपकले तत्कालीन अख्तियार प्रमुख लोकमान सिंहकार्कीसँग मिलेर उर्जामन्त्री ज्ञवाली विरुद्ध लागे । पछि तत्कालीन प्रधानमन्त्रीले यही प्रकरणमा ज्ञवालीलाई बर्खास्त गरे ।

दीपक चिनियाँ एक एयरलाइन्स कम्पनीका नेपालका लागि जीएसए (जनरल सेल्स एजेन्ट) पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप