शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्तव्य पालना गर्नु सबैको दायित्वः प्रधानमन्त्री ओली

बुधबार, १२ वैशाख २०७५, १५ : ४९
बुधबार, १२ वैशाख २०७५

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताएका छन् । 

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज उनले संविधानले व्यवस्था गरेका सबै मौलिक हक महत्वपूर्ण भएको बताउँदै मौलिक हकसँगै कर्तव्य पनि सँगै गाँसिएको धारणा व्यक्त गरे । 

सूचनाको हकको अभ्यासमा प्रारम्भिक, आधारभूत र मौलिक सूचनाको हकलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सूचनालाई अनावश्यक रुपमा गोप्य राख्न नहुनेमा जोड दिए । उनले भने, “गोप्य भनेको उचित समयसम्म रहन्छ, सर्वकालीन हुँदैन ।” 

प्रधानमन्त्री ओलीले भने, “सूचना माग्ने हक सरोकारवालाले पाउनुपर्छ तर सामाजिक मर्यादा, वैयक्तिक गोपनीयता र असम्बन्धित विषयका सूचना माग्नु सूचनाको हकसँग सम्बन्धित विषय होइन ।” सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्ने उनको भनाइ थियो । 

सो अवसरमा आयोगको आर्थिक वर्ष २०७३/७४ वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्दै आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगले गरेका कामको बारेमा जानकारी गराए । उनले संघीय संरचनाअनुसार सातै प्रदेशमा आयोगको संयन्त्र स्थापना गर्न लागेको र त्यसमा सरकारको सहयोगका अपेक्षा गरे । आयोगले यस आवमा ४९७ उजुरीमध्ये ४९४ फछ्र्यौट गरेको छ । 

आयोगले ७७ जिल्लामा सूचनाको हक सम्बन्धित कार्यक्रम सम्पन्न गरेको छ भने सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि यस आवमा चार हजार १४४ आदेश जारी गरेको जनाएको छ । आयोगले सूचनाको हकलाई विद्यालयस्तरका पाठ्यपुस्तकमा समावेश गर्न सफल भएको छ । 

सो अवसरमा आयोगका आयुक्तद्वय किरणकुमार पोखरेल र यसोदादेवी तिम्सिना, आयोगका सचिव मणिराम ओझालगायत कर्मचारी उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप