बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपछिको राहत र उद्धारमा संलग्न चिनियाँ स्वयम्सेवक टोली सम्मानित

बुधबार, १२ वैशाख २०७५, १५ : २३
बुधबार, १२ वैशाख २०७५

काठमाडौँ– गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि (२०७२ वैशाख १२ गते) गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयम्सेवक टोलीलाई आज यहाँ सम्मान गरिएको छ ।  साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज आयोजित समारोहमा सांसद एवम् नेकपा (एमाले) की नेत्री रामकुमारी झाक्रीले उनीहरुलाई सम्मान गरे ।

गोरखा केन्द्रविन्दु भएर गएको उक्त भूकम्पबाट आठ हजार ९७९ जनामा परी ज्यान गएको थियो भने २२ हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए । भूकम्पबाट सम्पदा, सार्वजनिक भवन तथा निजी आवासमा क्षति पुगेको थियो । 

उक्त भूकम्प भएलगत्तै चिनियाँ स्वयम्सेवक टोली नेपाल आई गोरखा, भक्तपुर र काभ्रेसहितका जिल्लामा उद्धार र राहतमा जुटेको थिए । भूकम्पबाट मुलुकका १४ जिल्ला बढी प्रभावित भएका थिए ।  समारोहमा सांसद झाँक्रीले नजिकको छिमेकीको हैसियतले भूकम्पको चपेटामा परेको नेपाली जनतालाई चीनबाट भएको सहयोगप्रति नेपाल सरकार र संसद्का तर्फबाट धन्यवाद ज्ञापन गरे । पछिल्लो समय चीनले विकास र समृद्धिका क्षेत्रमा गरेको प्रगतिबाट नेपाले पनि लाभ लिन चाहेको बताउँदै उनले दुई देशबीच हुने भ्रमण आदान–प्रदानले जनस्तरमा सम्बन्ध विस्तार गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे । 

चाइना कल्चर सेन्टर नेपालका निर्देशक इङ खुन सोङले चीन नेपालको एउटा असल मित्र हुनुका नाताले भूकम्पको समयमा सक्दो सहयोग पुर्याएको स्मरण गर्दै चीन सँधै नेपालको उन्नति र प्रगति होस् भन्ने कामना गरे। 

स्वयमसेवी टोली नेता छाइ फङले भूकम्पमा परेर आत्तिरहेका नेपालीलाई सहयोग गर्न अत्यावश्यक सामग्रीसहित उपचार, राहत र उद्धारमा जुटेको बताए । 

नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बरालले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक र हवाई उडानको संख्यामा पनि वृद्धि हुँदै गएको जानकारी दिए । 

आयोजक संस्था मिडिया सोसाइटीका अध्यक्ष धुर्व पौडेलले संस्थागत र जनस्तरमा हुने यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तार गर्न निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप