शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले हरित अर्थतन्त्रमा जोड दिइरहेको छः अर्थमन्त्री खतिवडा

बुधबार, १२ वैशाख २०७५, १३ : ३३
बुधबार, १२ वैशाख २०७५

काठमाडौँ– जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ । 

सप्रोस नेपाल नामक सामाजिक संस्थाको आयोजनामा आजदेखि यहाँ शुरु भएको ‘नेपाललाई हरियाली बनाउँ’ अनुगमन सम्मेलनमा जैविक कृषि बालीको उत्पादनमा नवीकरणीय ऊर्जाका स्रोत साधनको उपयोग गरी बजारको विकास, विकास र व्यवस्थापन गरी बजारलाई उत्पादक समक्ष नै पर्यावरणीय पर्यटकको माध्यमले पुर्याउन सकिनेमा सहभागी वक्ताहरुले धारणा राखे । 

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि र जलवायु परिवर्तनको समस्या न्यूनीकरण गरी गरिवी निवारणमा सरकारले जोड दिएको बताए । 

उनले साधारण, सुलभ र उपयोग गर्न सकिने प्रविधिको विकासले नयाँ रोजगारीका अवसरको सिर्जनाको साथै उत्पादकत्वमा वृद्धि भई समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । 

संघीयताको कार्यान्वयनसँगै निर्वार्चित स्थानीय, प्रदेश र संघीय सरकारहरु मुलुकको पुनर्निमाणतर्फ अग्रसर भएको बेला उपलब्ध स्रोतसाधनलाई हरित राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने आवश्यकतामा अर्थमन्त्रीले जोड दिए । 

सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले जैविक कृषि, नवीकरणीय ऊर्जा, पर्यटनजस्ता क्षेत्रमा गरिने स–साना लगानीबाट स्थानीय समुदायलाई कसरी लाभान्वित बनाउने भन्नेबारे सहभागीबाट अनुभव आदानप्रदान गरिने बताए । 

सो अवसरमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक भालेरिया जुलियाण्डले दिगो विकास लक्ष्यहहरुमार्फत अन्तराष्ट्रिय मापदण्डअनुसार ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अगाडि बढाउन सकिने धारणा राखे । 

साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले कृषकलाई लाभान्वित गर्न विभिन्न कृषि सहकारीमार्फत गरिएको लगानी निकै प्रभावकारी भएकाले आगामी दिनमा पनि प्रविधि र लगानीलाई सँगैसँगै लैजाने बताए । 

अर्थविद् डा.विनायक भद्राले नवीकरणीय ऊर्जाको आर्थिक पक्षकबा बारेमा कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिमा आएको लागत गिरावटसँगै यातायात र खाना पकाउन नवीकरणीय ऊर्जाको प्रयोगले विस्तारै परम्परागत र जैविक ऊर्जाको प्रयोग कम हुँदै जाने बताए । 

सम्मेलनमा भोकमारी जस्तो जटिल समस्याको अन्त्य गरी खाद्य सुरक्षाका विषयलाई व्यवस्थित बनाउने, महिला तथा युवा सशक्तीकरणका विषय, दिगो विकास लक्ष्यप्राप्त गर्नेलगायत विविध विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

मुलुकमा गरिबी न्यूनीकरणका लागि सूचना प्रविधिको उपयोग गरी पर्या–पर्यटन ९इको टुरिज्म०, नवीकरणीय ऊर्जा, प्रांगरिक खेतीलगायत क्षेत्रमा गरिएका लगानी त्यसबाट प्राप्त भएका उपलब्धिबारे पनि सम्मेलनमा छलफल हुनेछ ।

भोलिसम्म सञ्चालन हुने सो सम्मेलनमा करिब २०० जनाको सहभागिता हुनेछ । 

सप्रोस नेपालले गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ, र तनहुँका विभिन्न गाउँपालिकामा भूकम्पका कारण विस्थापित भएकालाई पुनःस्थापना गराउन विभिन्न व्यावसायिक सीप तथा तालीम उपलब्ध गराएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप