बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् झाँक्रीका कारण सामाजिक सञ्जालमा भाइरल भएका ‘भोजराज सर’

शनिबार, २४ असार २०७४, १९ : १६
शनिबार, २४ असार २०७४

काठमाडौं– एमाले नेतृ रामकुमारी झाँक्री र गुल्मीका शिक्षक बमबहादुर कुँवरबीचको टेलिफोन वार्ता सामाजिक सञ्जालहरुमा भाइरल भएपछि अहिले ‘भोजराजसर’को थेगो झुण्डिन थालेको छ । समाजिक सञ्जालदेखि भोजराज सरलाई सम्बोधन गर्दै गीतहरु समेत बनाउन थालिएको छ ।

झाँक्रीलाई खिसीट्युरी गर्ने क्रममा भोजराजसरको थेगो राखेर भएको भएको चर्चा पनि सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ । सामाजिक सञ्जालमा आफूविरुद्ध लेखेको भन्दै झाँक्रीले शिक्षक बमबहादुरलाई टेलिफोन गरी अपशब्द प्रयोग गरी धम्क्याएकी थिइन् । उक्त अडियो सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरिएपछि सर्वत्र भाइरल बन्यो ।

उक्त अडियोमा झाँक्रीले शिक्षक बमबहादुर कुँवरलाई आफूविरुद्ध फेसबुकमा लेखेको बारेमा कुरा गर्न भोजबहादुर सरको घरमा बोलाएकी छन् । शिक्षक बम बहादुर नम्र हुँदै बोलेपनि अडियोमा झाँक्रीको आवेग चरम उत्कर्षमा छ । अडियोमा उनले भोजराज सरको घर तुरुन्त नआए बमबहादुरलाई केटाहरु लगाएर खुट्टा भाँचिदिनेसम्मको धम्की दिएकी छिन् ।

अडियो भाइरल भएपछि झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा उनले आफूविरुद्ध अनर्गल प्रचार गरेको प्रष्टीकरण दिइसकेकी छन् । तर पनि यो प्रकरणसँग नाम मात्र जोडिएका पात्र ‘भोजराज सर’ अर्को भाइरल बनेका छन् । 

आखिर को हुन यी भोजराज सर ? किन झाँक्रीले बमबहादुरलाई भोजराज  सरको घर अगाडि बोलाइन् ? 

यी हुन भोजराज सर ?

झाँक्रीले भनेकी यी भोजराज सरको वास्तविक नाम भने भोजबहादुर कुँवर हो । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहका स्थायी बासिन्दा ५४ वर्षीय भोजबहादुर कुँवर अवकाशप्राप्त शिक्षक हुन् । २० वर्ष ६ महिना शिक्षण गरेपछि अवकास लिएर अहिले समाजसेवामा सक्रिय छन् । घरायसी कामधन्दा, स्थानीय स्तरको समाजसेवा र राजनीतिक गतिबिधीमा उनको दैनिकी बित्ने गरेको छ । उनी अहिले नेपाली कांग्रेसको जिल्ला कार्यसमितिमा आमन्त्रित सदस्यको भूमिकामा समेत रहेका छन् । 

सोही स्थानमा २०५५ सालमा स्थापना गरिएको कङ्के देउराली निम्न माध्यामिक विद्यालयका उनी संस्थापक अध्यक्ष समेत हुन् । अहिले उनी सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । झाँक्रीको धम्की खेपेका शिक्षक बमबहादुर चाँही सोही विद्यालयमै राहत कोटाबाट नियुक्त भएका हुन् । अंग्रेजी विषयमा अध्यापन गर्ने शिक्षक बमहादुर कुँवरले सो विद्यालयमा प्रशासन पनि हेर्छन् । बमबहादुर र रामकुमारी दुबै भोजराज सरका विद्यार्थी हुन् ।

आखिर रामकुमारी झाँक्रीले किन बमबहादुरलाई भोजराज सरको घरमा बोलाएकी थिइन ? 

यस्तो छ भोजराज सरको भनाई 

पुर्कोटदहस्थित मेरो घर नजिक रहेको तारा होटलमा रामकुमारी झाँक्री बसेकी रहिछन् । उनी त्यहाँ बसेको कुरा मलाई थाहा थिएन । रामकुमारीले बमबहादुरसँग फोनमा कुरा गर्दा मेरो नाम पनि जोडिएछ । 

भएको के भने निर्वाचनपछि यहाँ एउटा घटना भयो, कांग्रेस समर्थितहरुले त्यही घटनालाई लिएर रामकुमारी झाँक्री प्रहरी हिरासतमा भनेर फेसबुकमा हालिदिएछन्, उनले त्यो विषयलाई सहन नसकेर त्यो बमबहादुर भन्ने मान्छे को हो, भोजबहादुर सर मेरो गुरु हो, उनी तारा होटेलमा भएको हुँदा म भोजबहादुर सरको घर नजिकै छु भनिछन् । 

म नेपाली कांग्रेसको स्थानीय तहको नेता, इमान्दार ब्यक्ति पनि भएको हुँदा मसँग बमबहादुरलाई राखेर कुरा गरौँला भन्ने हिसावले रामकुमारीले मेरो नाम जोडेर कुरा गरेकी रैछिन । तर बमबहादुर कुँवर आइदिएनन् । फेसबुकबाट चरित्र हत्या गर्ने, बोलाएको ठाउँमा किन नआउँने, सानो विषयलाई प्रोपोगान्डा मच्चाउने को होस् भनेर उनले गाली गरिछन् । 

सडक पारी तारा होटल र वारी मेरो घर पर्छ । खाना, पानी राम्रो भएकाले एमालेका कार्यकर्ता त्यहाँ बसेका थिए । रामकुमारी झाँक्री पनि त्यही बसेकी रैछिन्, मलाई थाहा थिएन, म त आफ्नै काम धन्दामा लागेको थिएँ । त्यही होटलबाट उनले बमबहादुरलाई फोन गरेकी रैछिन् । आफू भोजराज सरको घर अगाडि भएको र भोजराज सरलाई राखेर कुरा गर्छु भनेर फोन गरेकी रैछिन् । 

भोजराज सरलाई खोज्न पनि टाढा जान परेन, दुईजनाकोबीचमा भोजबहादुर सरलाई राखेर कुरा गरौंला भन्ने विषयबाट  मेरो नाम जोडिएछ । 

मैले पढाएको विद्यार्थी भएको नाताले गुरुसँग कहिलेकाँही कुरा हुन्थ्यो । त्यसदिन भन्दा अगाडि पनि फोन गरेकी रैछिन मैले थाहा पाइन, मिसकल मात्र देखियो । हाम्रो कुरा पनि भएको थिएन । पछि तपाई ब्यवस्थापन समितिको अध्यक्ष भएको स्कुलमा बमबहादुरले पढाउँदा रहेछन, उनलाई तपाईसँग राखेर कुरा गर्नुप¥यो भनेर रामकुमारीले फोन गरेकी थिइन् । पछि बमबहादुर कुँवर आइदिएनन्, त्यसपछि फोनमा दुईजनाबीच कुरा भएछ । 

अस्ति काठमाडौंबाट भाञ्जाले फोन गरेर मामा तपाईको बारेमा त यस्तो यस्तो आइरहेको छ भने । हुन सक्छ नबुझ्नेहरुले बङ्ग्याए पनि होलान् । उनले मलाई मध्यस्थता बनाएर कुराकानी गर्न चाहेकी थिइन् । दुबै पक्ष जुटेन्, जुटेको भए यो केश म तुरुन्तै मिलाइदिन्थेँ ।

त्यसदिन मतगणना शूरु भएको थियो। रामकुमारी झाँक्री आक्रोशित भएर बोलिन् भन्दै थिए साथीहरु । थानामा निवेदन लेख्न जानुपर्छ भन्दै थिए । उनीहरुले निवेदन दर्ता गरे गरेनन् मैले चासो पनि राखिन, अहिले पनि राखेको छैन् । मतगणना शूरु भएपछि म मतगणनामै ब्यस्त थिएँ, दुबै पक्षसँग मेरो भेटघाट भएन ।

फेसबुकमा हेरेर आफन्तहरुले के भएको भनेर मलाई आजभोलि फोन गरेर सोध्ने गरेका छन् । जे भएको त्यही भनिदिने गरेको छु । उनीहरु दुईजनाको विषयमा मेरो कुनै भूमिका छैन । सामान्य कुरालाई दुबै पक्षले ठूलो नबनाएको भए राम्रो हुन्थ्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप