बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोलखामा पुनःनिर्माणको काम तीव्रः ३० हजारभन्दा भन्दा बढी निजी आवास निर्माण सम्पन्न

बुधबार, १२ वैशाख २०७५, ०९ : १९
बुधबार, १२ वैशाख २०७५

दोलखा - भूकम्पबाट अतिप्रभावित दोलखामा जिल्लामा हालसम्म सरकारी कार्यालय र निजी निवास गरी ३० हजार १०४ घर निर्माण कार्य सम्पन्न भएको छ । 

२०७२ साल वैशाख १२ गते गएको भूकम्पले दोलखाको सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा नष्ट भएका थिए जसको निर्माण कार्य तीव्ररुपमा अगाडि बढ्दा हालसम्म सो संख्यमा घर निर्माण भइसकेका हुन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यका अनुसार पुनःनिर्माण गर्ने क्रममा ३६६ विद्यालय निर्माण गर्नुपर्नेमा ३०० वटा निर्माण भइरहेका छन् भने ५६ वटा विद्यालयको निर्माण सम्पन्न भएको छ । 

स्वास्थ्य चौकी ३७ वटा निर्माण गर्नुपर्नेमा ३१ वटा निर्माण सम्पन्न भएको छ भने छवटा निर्माण गर्न बाँकी छ । ऐतिहासिक पुरातात्विक सम्पदा २१ वटाको निर्माण कार्य भइरहेको छ । 

आचार्यले भने, “दोलखाको पुनःनिर्माणको काम एकदमै राम्रोसँग अघि बढेको छ, यही तरिकाले काम भएमा एक वर्षमा पूर्णरुपमा पुनःनिर्माणको काम सम्पन्न हुन्छ ।” सो कार्यालयका अनुसार निजी आवास निर्माणमा दोस्रो किस्ता ४० हजार ३४३ ले लिइसकेका छन् । तेस्रो किस्ताका लागि १९ हजार ७७६ ले सिफारिस गरेका छन् । पुनःनिर्माणका लािग ९६ प्रतिशत अनुदान सम्झौतासमेत भइसकेको छ । 

दोलखामा भूकम्पका कारण १७७ जनाको मृत्यु, ६६२ जना पूर्णरुपमा घाइते तथा १३ जना बेपत्ता भएका थिए । भूकम्पलगत्तै गएको इञ्जिनियरको टोलीले घरघरमा गएर पूर्णरुपमा नष्ट भएका आवास ५५ हजार ६९४ क्षति भएको र आंशिकरुपमा एक हजार ५०६ क्षति भएको प्रतिवेदन तयार गरेको थियो । तर पीडितको गुनासोपछि लाभदायी संख्या ६२ हजार ८३३ पुगेको छ । 

भौतिक संरचनामा सरकारी कार्यालय छवटा, ३६३ वटा विद्यालय, ४५ स्वास्थ्य चौकी, १८ कृषि तथा पशु कार्यालय, हुलाक १०, प्रहरी चौकी १८ वटा क्षति भएको थियो । सबै गरी जिल्लामा ५० अर्ब बराबरको क्षति भएको थियो । 

भूकम्प पीडितलाई सरकारले राहतस्वरुप अस्थायी आवासका लागि रु १५ हजार र न्यानोका कपडाका लागि रु १० हजार शुरुमा प्रदान गरेको थियो । आवास निर्माणका लागि सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत तीन लाख दिने निर्णय गरेको थियो । सोहीअनुसार पुनःनिर्माणको काम अघि बढेको छ । 


दोलखामा पुनःनिर्माणका लागि छुटेका १० हजार पीडितको गुनासो परेको छ । गुनासो दर्ताका लागि यही महिनाभरिसम्मका लागि खुल्ला गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप