शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धौलागिरी अञ्चल अस्पतालको डायलाइसिस सेवा सुरु

मङ्गलबार, ११ वैशाख २०७५, १६ : १८
मङ्गलबार, ११ वैशाख २०७५

बागलुङ– धौलागिरी अञ्चल अस्पताल बागलुङमा डायलाइसिस सेवा सुरु भएको छ । 

यो सेवा धौलागिरीमै पहिलो पटक बागलुङमा सुरु भएको हो । मृगौलाका विरामीलाई निःशुल्क उपचार दिन स्वास्थ्य मन्त्रालयले गत वैशाखमा अञ्चल अस्पतालमा दुई उपकरण पठाएको थियो । 
उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा १ वर्षसम्म मेसिन थन्किएका थिए । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा सबै अञ्चल अस्पतालमा डायलासिस सेवा सुचारु गर्ने उद्देश्यले उपकरण पठाईए पनि दक्ष जनशक्तिको अभाव देखाउँदै अस्पतालले सेवा दिन सकेको थिएन ।

सोमबार अस्पतालले सफल परिक्षणपश्चात औपचारिक रुपमा सेवा संचालन गरेको जानकारी प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.सागर कुमार राजभण्डारीले दिए । उनका अनुसार अस्पतालमा रहेको दुईवटै मेसिनबाट सेवा सुचारु गरिएको छ । सेवा संचालनका लागि दुई जना डाक्टर, दुई स्टाफ नर्स, एक प्राविधिक र एक कार्यालय सहयोगी गरी ६ जनाको टोली खटिने छ । 

बागलुङमा करिब ३० भन्दा बढि मिर्गौलाका विरामी रहेको डा.राजभण्डारीले बताए । ‘उनीहरुलाई अस्पतालबाट सहज र नियमित सेवा दिनेछौं उनले भने, ‘दुईवटा मेसिनबाट दैनिक ४ जनाको सम्म उपचार गर्न सकिन्छ ।’ 

सेवा सञ्चावनमा आएपछि धेरै रकम खर्च गरेर जिल्लाबाहिर धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

‘उपकरण भएपनि प्राविधिक जनशक्ति अभाबले सेवा दिन सकिरहेका थिएनौ, अब हामी नियमित सेवा संचालन गर्ने छौं’ अस्पताल विकास समितिका अध्यक्ष रामजी प्रसाद सुवेदीले बताए ।  जिल्लाकै अस्पतालमा सेवा सुरु हुँदा काठमाडौं, पोखरा लगेर उपचार गराउने समस्याबाट मुक्त भएको जैनिमी १ का देव शर्मा आचार्यले बताए ।

अस्पतालमा १६ जना विषेशज्ञ र ६ जना मेडिकल अधिकृत गरी २२ जना चिकित्सकको दरबन्दी छ । दरवन्दी भए पनि चिकित्सक नआउँदा अस्पतालका अन्य सेवा प्रभावित भएका छन् । अहिले ६ जना मेडिकल अधिकृतको पदपुर्ति भएको अस्पतालको शाखा अधिकृत यज्ञप्रसाद रिजालले बताए । दैनिक साढे तीन सय बिरामी आउने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा उपकरण, चिकित्सकको मात्र नभएर भौतिक पूर्वाधारको पनि अभाब छ । भवन निर्माणका लागि जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न नगर्दा अस्पतालमा उपचार सेवा दिने भवनको अभाव भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप