शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जडीबुटीखेतीबाट आम्दानी लिँदै किसान

शनिबार, २४ असार २०७४, १६ : ३२
शनिबार, २४ असार २०७४

कञ्चनपुर -शुक्लाफाँटा नगरपालिका– ७ जुडाका किसान क्यामामाइल जडीबुटीखेतीमा संलग्न भएका छन् । 

क्यामामाइलको उत्पादित सुगन्धित तेल सहजै बिक्री हुन थालेपछि यहाँका किसान उक्त खेतीमा संलग्न भएका हुन् । उत्पादित तेल नेपालगञ्जका व्यापारीले प्रतिलिटर रु ४० हजारका दरले किसानको घरबाटै खरिद गर्न थालेपछि क्यामामाइलको खेतीमा संलग्न किसान उत्साहित भएका छन् । 

यहाँका २२ जना किसानले झन्डै दश बिगाहा खेतमा क्यामामाइल खेती गरेका छन् । यस वर्ष रु सात लाख ३३ हजार बराबरको १८ लिटर तेल किसानले बिक्री गरेका स्थानीय कालुसिंह ठगुन्नाले बताउनुभयो । बीस हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने एक बिगाहा खेतमा क्यामामाइल खेती गरेर किसानले छ महिनामै रु एक लाख ६० हजारसम्म आम्दानी गरेका उहाँले बताउनुभयो । 

क्यामामाइल खेती गरेर उत्पादित तेल बिक्री हुन छाडेपछि तीनवर्ष अघि वैदेशिक रोजगारमा संलग्न भएका रतनबहादुर ठगुन्नाले पुनः क्यामामाइल खेती गर्न थाल्नुभएको छ । सुगन्धित तेलले बजार पाउन थालेको जानकारी पाएपछि मलेसियाबाट घर फर्केर पुनः क्यामामाइलखेती गरेको उहाँको भनाइ छ । यस वर्ष थोरै जग्गामा लगाइएको क्यामामाइलबाट रु एक लाख १० हजार आम्दानी गरेको ठगुन्नाको भनाइ छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका यहाँका बासिन्दाले खेतबारीमा लगाएको अन्नबाली जनावरले खाएर हैरानी पार्न थालेपछि त्यसको विकल्पका रुपमा नौवर्ष अघिदेखि जडीबुटीखेती गर्दै आएका थिए । व्यापारीले उत्पादित तेल सस्तोमै खरिद गर्न थालेपछि लगानीनै नउठने भएपछि खेती गर्न छाडेका थिए । 

अन्नभन्दा कयाँैं गुणा बढी आम्दानी क्यामामाइल जडीबुटी खेतीले दिने भएकाले जडीबुटी खेतीमा संलग्न भएको स्थानीय वीरसिंह ठगुन्नाले बताउनुभयो । “उत्पादित जडीबुटी नै बिक्री हुन छाडेपछि भारत जान थालेका थियौंँ, बजार पाइएपछि पुनः फर्केर क्यामामाइल खेती गर्न थालेका छौंँ ।” 

व्यापारी र किसानले उत्पादन गरेको सुगन्धित तेल भारत, चीन र थाइल्यान्डलगायत देशमा निर्यात गर्न थालेका छन् । जडीबुटी प्रशोधन गर्नका लागि राखिएका दुई प्लान्टमध्ये एउटा मात्रै सञ्चालनमा रहेको छ । भारतको लखनउबाट रु १८ लाखमा खरिद गरेर ल्याइएको प्लान्टमा लामो समयदेखि जडीबुटी प्रशोधन नहुँदा बिग्रिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप