केन्द्रीय संस्करण

लोकतन्त्रको राँकोले झोसेको एउटा परिवार

person access_timeबैशाख ११, २०७५ chat_bubble_outline0

तिलक घिमिरे ‘निर्मल’
 

बझाङ जिल्लाको विकट गाउँमा आमा–छोरी बस्थे । आमाको उमेर झण्डै ५५–६० र छोरीको त्यस्तै ३५ हुँदो हो तर उनीहरू स्वयम्लाई आफ्नो उमेर थाहा थिएन । उनीहरू कसैले पनि पढेका थिएनन् । घरका ती दुई पात्रहरूको पात्रो, घडी, समाचार र अन्य व्यक्तिहरूसँग कमै भेट हुन्थ्यो । जङ्गलको पल्लो कुनामा रहेको उनीहरूको सानो झुपडीको घरमूलीको स्वर्गे त्यति बेलै भइसकेको थियो जति बेला छोरी बामे सर्ने बेला हुँदै थियो । 

घरमा आमाछोरी मात्रै । त्यसमा पनि छोरी अपाङ्ग । अपाङ्ग पनि कस्तो भने बोल्न पनि सक्ने र हिँड्डुल गर्न पनि नसक्ने । अपाङ्ग भएकैले छोरीको बिहेसमेत हुन नसकेको रहेछ । आमालाई पनि दमको रोग छ । केही काम ग¥यो कि दम बढेर सासै रोकिएलाझैं हुने । छोरीले काम त के आफ्नै सरसफाइ समेत गर्न नसक्ने । जङ्गलको त्यो पल्लो कुनामा रहेको उनीहरूको झोपडीमा उनीहरूको दुःखले फोहोरको यतिका थुप्रो लागिसकेको थियो, जति सायद त्यस क्षेत्रमा कहीँ पाइँदैनथ्यो । 

धेरै काम गर्न नसक्ने आमा र छोरीको अवस्थामा धन्न एक हल मेलो पाखोवारीमा मुस्किलले कोदो, कागुनो जस्ता अन्न फलाएर आधा जीवन धान्थे भने आधा जीवन साहु माहजनको बनिबुतो गरेर बित्थ्यो । साहु महाजनले पनि काम गरेबापत ज्यालाको रूपमा पैसा होइन अन्न दिन्थे । जे पाउथिन् उनी खुसीले ल्याउँथिन् र दुई मुखमा माड लगाउँथिन् । 

दशैँको दिन मात्र कुनै वर्ष चामलको भात चाखेका होलान् । नत्र उनीहरूले मकैको खोलेमा गेडे नुन हालेर फत्काएको खोलेलाई नै सबै भन्दा राम्रो खानकी मानेर जीवन चलाई रहेका थिए । मकैको खोलेमा कर्कला र निगुरोको सागबाहेक मुस्किलले अन्य तरकारी त्यो घरको अगेनो कहिल्यै आयो होला । चुलासम्म पुग्ने र पाक्ने कुरा त उनीहरूले स्वर्गको कल्पना गरेसरी थियो । उनीहरूले खाने सारा कुरा बिट भाँचिएको सिलेबरको डेम्चीमा पाक्थ्यो । 

गाउँका ठूलावडाले दया माया गरेर फालिदिएको जडौरी धोती र टालेको चोलीबाट उनीहरूले १ दशक पार गरिसकेका थिए । सुदूरपश्चिमको अति नै दुर्गम जिल्ला, त्यसमा पनि अत्यन्तै गरिब र त्यसमा थपिएको कथित तल्लो जातकालाई दयामाया र सद्भाव राख्ने कमै थिए । तल्लो जातकी विधुवीलाई देखियो भने र छोइयो भने जात जाने र दिनभरीको साइत बिग्रन्छ भन्ने भनाइ गाउँभरी व्याप्त थियो । त्यही भएर होला उनीहरूको वरपर कोही पनि जाँदैन्थ्यो । 

कहिलेकाहीँ कसैको गाई, भंैसी, बाख्रा बिरामी हुँदा चाहिँ मानिसहरू उनको नजिक आउँथे किनभने गाउँका ठूलावडाले उनलाई बोक्सीको उपमा गुथाएका थिए । त्यतिबेला ती बूढीआमाका झर्दै गरेका फुलेका कपालले समेत दुःख पाउँथे । यी र यस्तै दुःखसँग पैठोजोरी खेल्दा–खेल्दै ती आमा छोरीले काललाई पर्खिरहेका थिए । उनीहरूले कहिलेकाहीँ विरक्तिएर भगवानलाई सराप्थे र भाव विह्वल हुँदै भक्कानिन्थे । त्यति बेला आमाछोरीकै एउटै स्वर हुन्थ्यो– ‘हे भगवान हामीलाई आफ्नो शरणमा किन ठाउँ दिँदैनौँ, अझ कति दुःख खप्नुपर्ने हो ?’ तर उनीहरूको लौकिक दुःख अलौकिक भगवानले कहिल्यै न त सुनेको थाहा पाइयो न सम्बोधन गरेको । 

अपाङ्ग छोरीको दिसा, पिसाब ओछ्यानमै हुनाले घरको सय मिटर टाढाबाटै त्यस घरको दुर्गन्ध थाहा पाउन सकिन्थ्यो । देशमा, गाउँमा, समाजमा के भैरहेको छ, उनीहरूलाई केही थाहा हुने त परको कुरा उनीहरू राम्रोसँग नेपाली भाषासमेत बोल्न जान्दैनथे । बस् एकोहोरो टोलाएर बस्ने तथा विष्टहरूले दिएको पीठो, गिठ्ठा, भ्याकुर खाएर आफूले आफैलाई सराप्ने सिवाय उनीहरूको दिनचर्या अरू हुन्नथ्यो । 
एक दिन १ जना दलित अधिकारकर्मी उनको घर गएर उनलाई तल चौतारोमा बोलाए । किनभने अधिकारकर्मी घरको दुर्गन्धले घरमा बस्न सकेनन् । घरकी आमालाई चौतारोमा बोलाए छोरीको अपाङ्गता परिचयपत्र तथा दुवैको नागरिकता बनाउन सल्लाह दिए । अनि नागरिकता बनाउने ठाउँ, जान लाग्ने समय, भेट्ने मान्छे सबैबारे बेलिबिस्तार लगाए । अपाङ्गता परिचयपत्र बनेपछि मासिक ५ सय भत्ता पाइने जानकारी दिएर अधिकारकर्मी आफ्नो बाटो लागे । 

घरकी बुढी आमाले ५ सय रकम आफ्नो जीवनभरी कस्तो हुन्छ भनेर देख्नसमेत पाएकी थिइनन् । घरमा आएर खुशी हुँदै आमाले खरानी पानीले छोरी र आफ्नो कपडा भाँडामा बफ्याएर धोइन् । ७ दिनपछि घरबाट हिँडिन् साहु महाजन कहाँ गएर ढिँडो, गुन्द्रुक र थोरै कुभिण्डोको चाना अनि केही खुर्सानी मागेर ल्याइन । त्यस रात उनीहरू निकै आरामसाथ सुते । 

एक सातापछि छोरीलाई लिइएर २ दिनको उकाली ओराली गर्दै अपाङ्ग छोरीका साथ बढो मुस्किलले चार हातपाउँ टेक्दै बझाङ सदरमुकाम चैनपुर पुगिन् । सदरमुकाम पुगेपछि उनलाई अनौठो लाग्यो । किनभने त्यहाँ बिजुलीबत्ति झलमल्ल थियो । अनि मानिसहरूको सागर देखिन्थ्यो । प्रहरी, सेना, सेता कमेजलगाएका विद्यालयका केटाकेटी जस्तै अनेकौँ मानिसहरू यताउती हिँड्डुल गरेको देखेर आमाछोरी दङ्ग रहे । 

उनले त्यहाँ नागरिकता बनाउने ठाउँ र गाविसको सचिव बस्ने ठाउँ सोधेर पत्ता लगाई त्यहाँ पुगे । तर दुर्भाग्य अपाङ्गता परिचयपत्र बनाउने कार्यालय र गाविसको सम्र्पक कार्यालय बन्द थियो । मनभरी बुनेको सपना डढेलोले परालको टउवा भेटे सरी भयो । आमा छोरी निराश थिए । 

होटलमा बस्न र रात काट्न उनीहरूसँग साथमा पैसा थिएन । त्यसैले उनीहरूले ल्याएको आटो र बाटो वरपर घुमेर खोजी ल्याएको बेथे तथा कर्कलाको सागलाई घरबाट ल्याएको त्यही बिट भाँचिएको र डडेको सिलावरको भाँडामा पकाएर खाए । खाएसँगै उनीहरू एउटा घरको पेटीमा सुते । 

उनीहरू फेरि सदरमुकाम आउन सम्भव थिएन । किनभने त्यत्रो पाहाड कटेर बल्लबल्ल उनीहरू त्यहाँसम्म आएका थिए । मन कुँढिए पनि आशा मरेको थिएन । मनमा खिन्नता, आँखामा आँशु लिएर उनीहरू पल्टिएका मात्र के थिए, एक हुल मानिसहरू हातमा राँको बालेर कराउँदै आए । उनीहरूले के–के भनेर माइकमा फलाक्दै थिए, त्यो बूढी आमाले बुझिनन् । भीडमा विभिन्न खाले झण्डाहरू लहराइरहेका थिए । माइकमा एक जनाले कराउँथ्यो अरूको पनि एकै स्वरमा चिच्याउँथे । ती आमाछोरी बडो अचम्म मानेर उठेर सडकको डिलमा गएर यी सबै  हेरिरहेका थिए । 

उनीहरू के–के बर्बराउँथे, त्यो सबै त उनीहरूले बुझेनन् तर कहिलेकाहीँ ‘यो जित कसको, जनताको’ भनेको चाहिँ अलिअलि बुझिरहेका थिए, जस्तो लाग्थ्यो । तै पनि बुुढी आमाले सडकमा हिँडिरहेको एउटा बटुवालाई बाबुसाहेब उनीहरूले के भनेका हुन् भनेर सोधिन् । ती बटुवाले आज राजाले गद्दी छोडेको दिन र लोकतन्त्र आएको दिनको खुसीयालीमा जनताका मान्छेहरूले सदरमुकाममा राँके जुलुस निकालेको र खुसीयाली मनाएको हो भनी बुझाए । 

आमाछोरीले ती मानिसले भनेको पनि सबै कुरा बुझेनन् । तर यो जित कसको जनताको, लोकतन्त्र जिन्दावाद भनेको चाहिँ बुझिन् । आमा छोरी सडक छेउको डिलबाट रमिता हेरिरहेका थिए । कोण सभामा बोल्ने नेताले चर्को स्वरमा अब देश लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको र सबै जनताले अब अधिकार पाउने बताए । उनीहरू अब देशी विदेशी प्रतिक्रियावादीको दिन गया जस्ता आदि इत्यादि भाषण गर्थे मासिनहरू बीचबीचमा पर्रर ताली बजाउँथे । 
बूढी आमाले सोचिन्, यो निकै ठूलो पर्व रहेछ । कोणसभा सकिन लाग्दा एक जनाले हातमा बोकेको राँको फालिदियो । त्यो राँको उनीहरूको सामान, लत्ताकपडा, भाँडाकुडा पोको पारेर राखेको गुण्टोमा परेछ । एकैछिनमा त्यो सबै डढेर नष्ट भयो । कोणसभा सकियो । मानिसहरू आ–आफ्ना घरतिर गए । मुलुकले लोकतन्त्रात्मक शासन व्यवस्था पाएको दिन सारा देश उल्लासमय थियो । आमाछोरी भक्कानिरहेका थिए ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ