बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघ विवाद : विधान विपरीतको निर्णय खारेज गर्न माग

मङ्गलबार, ११ वैशाख २०७५, ११ : ०१
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौँ - नेपाल विद्यार्थी संघले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेको छ । 

नेविसंघले आज पत्रकार सम्मेलन गरी विधानविपरीत विश्व विद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको हो । 

पत्रकार सम्मेलनमा नेविसंघका नेता मनोजमणि आचार्यले नेविसंघजस्तो ऐतिहासिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाएको भन्दै उक्त कदम आफूलाई मान्य नहुने बताउनुभयो । उनले ‘बलियो काँग्रेस निर्माणका लागि सशक्त नेविसंघ’ बनाउनुपर्ने भन्दै उक्त कार्य वर्तमान नेतृत्वबाट हुन नसकेको उल्लेख गरे । 

नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले महाधिवेशन सुनिश्चितताका लागि तत्काल विधान सम्मेलन राखी मिति तोक्नुपर्ने बताइन् । “महाधिवेशन हुन चार महिना बाँकी रहँदा अध्यक्षको यो कार्यशैलीले निर्वाचन हुन सक्दैन,” – उनले भनिन् । 

नेविसंघका नेता दीपक भट्टराई महाधिवेशनको सुनिश्चितताका लागि विधान विपरीत गरिएका सबै नियुक्ति खारेज हुनुपर्ने बताए ।  चिठी लेखेर गरिएका नियुक्तिले नेविसंघ द्वन्द्वमा फसेको उनको भनाइ थियो । 

नेविसंघको ११ औँ महाधिवेशन भएको तीन महिनाभित्र विवादित जिल्लाको विवाद समाधान गर्ने भनिए पनि २० महिना पुग्दासम्म नभएको उपाध्यक्ष नवीन राईले बताए । 

अध्यक्ष नैनसिंह महरले संगठन विधान विपरीत सञ्चालन गरेको भन्दै उपाध्यक्ष नवीन राई, उर्मिला थपलिया, खड्गबहादुर डाँगी, प्रकाश राना र सागर परियारले असन्तुष्टी जनाउँदै सोमबार काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप