शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुध्रदैँ ओजोन तहको अवस्था : नासा

मङ्गलबार, ११ वैशाख २०७५, १० : ५३
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौँ । सन् १९८७ मा विश्वभरका राष्ट्रहरु पृथ्वी ग्रह बचाउनको लागि क्लोरोफ्लोरो कार्बन नामक रसायन प्रतिबन्ध लगाउनको लागि एक ठाउँमा आएका थिए । तीन दशकपछि नासाको एक भूउपग्रहले गरेको मापनले त्यो बेला लिइएको कदम सफल भएको देखिएको छ ।

सन् १९८७ मा गरिएको त्यो सम्झौतालाई ‘मोन्ट्रियल अभिसन्धि’ भनिन्छ । यो अभिसन्धि दुई वर्ष अघि सन् १९८५ मा अन्टार्कटिकाको आकाशमा रहेको ओजोन तहमा क्षयीकरण भएर प्वाल परेको पत्ता लागेपछि बनेको थियो ।

यो सन्धीले मुख्य रुपमा फ्रिज र स्प्रेहरुमा प्रयोग हुने क्लोरोफ्लोरो कार्बनलाई हटाउने निर्णय लिएको थियो ।

‘जियोफिजिकल रिसर्च लेटर’ नामक जर्नलमा प्रकाशित भएको एक नयाँ अध्ययनले यो सन्धिमा चालिएको कदमले सकारात्मक प्रतिफल निकालेको देखाएको छ । नासाको अउरा स्याटेलाइटले संकलन गरेको सूचनाहरुलाई प्रयोग गरेर वैज्ञानिकहरुले गरेको यो अध्ययनले अन्टार्कटिकामा सन् २००५ यता २० प्रतिशत ओजोन तह क्षयिकरण कम भएको पत्ता लागेको छ ।

“हामीले ओजोनमा परेको प्वालमा क्लोरोफ्लोरो कार्बन स्पष्ट रुपमा घटिरहेको पायौं । यस कारणले ओजोनको विनाशमा कमी आइरहेको छ ।” नासाका गोद्दार्द अन्तरिक्ष केन्द्रका वैज्ञानिक र लेखको मुख्य लेखक सुसान स्ट्रहानलले एक वक्तव्यमा भने ।

हरेक वर्ष सेप्टेम्बरमा दक्षिणी गोलार्धमा जाडो हुदाँ अन्टार्कटिकामाथि रहेको ओजोनमा रहेको प्वाल बढ्ने गर्छ । यसो हुनुको कारण सूर्यको प्रकाशले गर्दा क्लोरिन र ब्रोमिनले ओजोनसँग प्रतिक्रिया गर्न थाल्छ । यी दुई रसायनहरु क्लोरोफ्लोरो कार्बनबाट आउँछ ।

अउरा भूउपग्रहमा रहेको ‘माइक्रोवेभ लिम्ब साउण्डर’ प्रविधि प्रयोग गरेर वैज्ञानिकहरुले वायुमण्डलमा प्रत्यक वर्ष रसायनको तुलनामा ओजोन तहमा कसरी परिवर्तन आइरहेको छ भनेर अध्ययन गरेका थिए । 
हुन त पहिले नै ओजोन विनासमा कमी आएको देखिएको थियो तर क्लोरोफ्लोरोकार्बनमा आएको कमी नै यसमा आएको कमिको कारण हो भनेर पहिलो पटक यो अध्ययनले देखाएको हो ।

“यी सबै प्रमाणहरुले मोन्ट्रियल अभिसन्धिले काम गरिरहेको छ भन्ने देखाउछ ।” टिमले जर्नलमा छापिएको लेखमा भनेका छन् ।

क्लोरोफ्लोरोकार्बन निक्कै शक्तिशालि रसायन भएकोले यो पूर्ण रुपमा हराउनको लागि ५० देखि १०० वर्ष लाग्न सक्छ । त्यसैले हालको प्रगति पनि ढिलो गरिआएको हो । आजोन तहको क्षयीकरण पुरै हट्न सन् २०६० देखि सन् २०८० सम्म लाग्न सक्छ ।

तर, वातावरणिय मुद्दा समाधानका लागि विश्व एक ठाँउमा आएमा जटिल भन्दा जटिल वातावरणीय समस्या पनि समाधान हुन्छ भन्ने उदाहरण हो मोन्ट्रियल अभिसन्धि ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप