शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियू कार्यवाहक अध्यक्षमा बर्तौला

युवा संघमा पद हस्तान्तरण
सोमबार, १० वैशाख २०७५, २० : ४५
सोमबार, १० वैशाख २०७५

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाएका छन् । 
 
अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै आजैदेखि कावा अध्यक्षको काम गर्ने गरी उनलाई जिम्मेवारी दिएका हुन् ।

अनेरास्ववियूको २२ औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । 

युवा संघमा पद हस्तान्तरण 
युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले अध्यक्ष रमेश पौडेललाई आज पद हस्तान्तरण गरेका छन् । 

युवा संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पहारीबाट पद ग्रहण गर्दै अध्यक्ष पौडेलले राष्ट्रको समृद्धि र विकासका लागि युवालाई अगाडि बढाउने तथा एक युवा एक रोजगार सिर्जना गरिने बताए ।
 
कार्यक्रममा सांसदद्वय तथा युवा संघका पूर्व अध्यक्षद्वय महेश बस्नेत, नीरु पाललगायतले युवा आन्दोलनलाई युवाको विषयमा केन्द्रित गर्नुपर्ने बताए ।

युवा संघका निवर्तमान अध्यक्ष पहारी कास्कीबाट प्रदेशसभामा निर्वाचित भएपछि यही वैशाख ३ र ४ गते सम्पन्न भएको संघको केन्द्रीय कमिटी बैठकले पौडेललाई निर्वाचित गरेको हो । बैठकले उपाध्यक्षमा किरण पौडेल, प्रभातविक्रम कटुवाल, क्रान्ति बुर्लाकोटी, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा तथा महासचिवमा नरेश शाहीलाई चयन गरेको हो । 

विसं २०६९ फागुन ११ गते भएको संघको आठौँ राष्ट्रिय महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन । प्रत्येक तीन तीन वर्षमा हुने महाधिवेशन हुन नसकेपछि केन्द्रीय कमिटी बैठकले नेतृत्व चयन गर्दै आएको छ । यसअघि पाल र पहारीलाई पनि केन्द्रीय कमिटीले अध्यक्षमा निर्वाचित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप