शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्छः नेता नेपाल

सोमबार, १० वैशाख २०७५, १८ : ०३
सोमबार, १० वैशाख २०७५

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले भूकम्प पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताएका छन् । 

पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा आज उनले भने – “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।” 

“अझै पनि मानिस छाप्रोमा बस्न बाध्य भएका छन्”, उनले भने, “जनतालाई आश्वासन मात्र दिएका छौँ, काम हुन सकेको छैन ।” 

नेता नेपालले सरकार जिम्मेवार र संवेदनशील भएर पुनःनिर्माणमा तीव्रता दिनुपर्ने उल्लेख गर्दै दातृ निकायबाट अर्बौं रकम पुनःनिर्माणका लागि आए पनि त्यो रकम उपयोग हुन नसकेको बताए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भावी पुस्तालाई नेपालको भूकम्पका बारे यो पुस्तकले जानकारी गराउने बताउँदै बाढी, दैवीप्रकोपजस्ता नकारात्मक घटना मात्र नभएर सामाजिक खुशी ल्याउने कुरा लेख्नुपर्नेमा जोड दिए । 

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुनःनिर्माण र नवनिर्माणको काम ढिलो गतिमा भइरहेको बताउँदै यसलाई तीव्रता दिनका लागि स्थानीय तहबाट काम शुरु गर्नुपर्ने धारणा व्यक्त गरे । 

भूकम्प प्रतिरोधात्मक भवन बनाएर क्षतिलाई न्यूनीकरण गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले नयाँ पुस्तालाई जीवन्त उदाहरण बनाउन यो पुस्तकले भूमिका निर्वाह गर्ने बताए । 

प्रा डा खगेन्द्र लुइँटेलले पुस्तकमाथि टिप्पणी गर्दै लेखकले पुस्तकमा वैशाख १२ र २९ गते गएको भूकम्पबारे सिलसिलाबद्धरुपमा लेखेको बताए। 

लेखक पन्थीले भूकम्पबारे भावी पुस्तालाई जानकारी गराउनका लागि पुस्तक लेखिएको बताए । 

पुस्तकमा लेखकले विभिन्न १२ अध्यायमा भूकम्पका सम्बन्धमा विभिन्न व्यक्तिसँग गरिएको कुराकानीलाई संस्मरणात्मकरुपमा उल्लेख गरेका छन् । 

एमाले नेता नेपाल, नयाँ शक्ति पार्टीका संयोजक भट्टराई र नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संयुक्तरुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप