शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएस बंगलालाई नेपालको जवाफ :  यस्तो तथ्यहीन आरोप लगाउँदा अन्य देशमा भए मुद्दा लागिसक्थ्यो

सोमबार, १० वैशाख २०७५, १७ : २०
सोमबार, १० वैशाख २०७५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटनामा एयरलाइन्स कम्पनीले नेपालको एटिसीमाथि आरोप लगाएपछि त्रिभुवन विमानस्थलले आपत्ति जनाएको छ । 

आइतबार बंगलादेशमा पत्रकार सम्मेलन गरी युएस बंगला एयरलाइन्सले दूर्घटनामा नेपालको एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को पनि लापरवाही भएको लक्षित गर्दै एटिसीका कर्मचारीहरुलाई सरुवा गरिएको विषयलाई उठान गरेको थियो ।

युएस–बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान आशिफले एटिसीका ६ कर्मचारीलाई अर्को विभागमा सरुवा गरिएको र यसबारे नेपाल मौन रहेको बताएका थिए । ‘उनीहरुलाई किन सरुवा गरियो भन्ने थाहा छैन । यदी उनीहरु लापरवाह थिएनन् भने यस्तो कदम चालिनु स्वभाविक प्रक्रिया होइन,’ उनले भनेका थिए ।

पत्रकार सम्मेलनमा एयरलाइन्सले नेपाल पक्षबाट तयार पारिएको प्रारम्भिक जाँच प्रतिवेदनमाथि आपत्ति जनाएको छ ।

दुर्घटनाबारे तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा अवतरणको क्रममा नेपालको एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र पाइलट क्याप्टेन अबिद सुल्तानबीच भएको अस्पष्ट कुराकानीको बारेमा कुनै कुरा उल्लेख नभएकामा आशंका व्यक्त गरेको छ । 

दुर्घटनापछि सामाजिक सञ्जालमा दुर्घटना हुनुभन्दा ठीक अगाडि एटिसी र युएस बंगला विमानका पाइलटबीच भएको कुराकानी अपलोड भएको थियो । जसमा एटिसी र पाइलटबीचको कुराकानी अस्पष्ट भएको सुनिएको थियो ।

पत्रकार सम्मेलनमा युएस बंगलाले नेपालका एटिसीले सुरुमा विमानलाई अवतरण गर्ने अनुमति दिएको तर फेरि क्लियरेन्सलाई रद्द नगरी होल्ड गर्न भनेको र सोही समय अर्को विमानलाई अवतरण गर्ने अनुमति दिएको दाबी गरेको छ । ‘अघिल्लो विमानलाई अवतरण गर्ने अनुमति दिएको क्लियरेन्सलाई रद्द नगरी अर्को विमानलाई अवतरण वा उडान भर्ने अनुमति दिनु अन्तर्राष्ट्रिय कानून विपरित हो,’ युएस बंगलाको आरोप छ । 

साथै दुर्घटनापछि नेपालका ६ जना एयर ट्राफिक कन्ट्रोलरहरुलाई सरुवा गरिएकाले एटिसीको लापरवाही रहेको उसले दाबी गरेको छ । 

यो पनि पढ्नुहोस्

नेपालको छानविनमाथि युएस–बंगलाको प्रश्न : लापरवाही थिएन भने ६ जना एटिसी कन्ट्रोलरलाई किन सरुवा गरियो ?

युएस बंगलाले नेपालको एयर ट्राफिक कन्ट्रोलरमाथि हमला बोलेपछि सोमबार रातोपाटीले नेपालका एयर ट्राफिक कण्ट्रोलका प्रमुख सीताराम भण्डारी र महाप्रबन्धक राजकुमार क्षेत्रीलाई सम्पर्क गरेको थियो । 

दुवैजनाले युएस बंगलाको आरोपलाई अस्वीकार गरेका छन् । 

एटिसीको कुनै दोष छैन

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार युएस बंगला एयरलाइन्सको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन् । दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमात्रै आएकाले तत्कालै प्रतिक्रिया जनाउनु गलत र हतार हुने उनको भनाई छ । दुर्घटनाको प्रारम्भिक प्रतिवेदनमा एटिसीको कुनै कुरा नआएको र विमान कम्पनीले एटिसीलाई दोष दिनु गलत भएको क्षेत्री बताउँछन् । 

अहिले दुर्घटना छानबिन समितिले यसको बिस्तृत अध्ययन गरिरहेको र ब्ल्याक बक्स अध्ययनका लागि टोलीका सदस्य क्यानडा गएको बताउँदै विमान कम्पनीको आरोपमा सत्यता नभएको विमानस्थल महाप्रबन्धक क्षेत्रीको दाबी छ । 

उनी अगाडि भन्छन्, ‘एयरपोर्टमै दुर्घटना भएकाले एयर ट्राफिक कन्ट्रोलरले त्यो दृश्य देखेका हुन्छन् । आफ्नै आँखा अगाडि भयंकर दुर्घटना देखेका कन्ट्रोलरले केही समय राम्रोसँग काम गर्न पनि सक्दैनन् । अन्तर्राष्ट्रिय अभ्यास अनुसार हामीले केही दिन ४ जना कर्मचारीलाई आराम दिएका हौँ, निलम्बन वा सरुवा गरेका होइनौँ ।’

दुर्घटनालगत्तै केही समय उनीहरुलाई टावरमा बसेर गर्ने काम नलगाएको भएपनि उनीहरुले एटिसीकै काम गरेको उनले दाबी गरे । उनीहरुमा तनाब हटेपछि अहिले फेरि उनीहरुलाई सोही जिम्मेवारी दिइएको दाबी गर्दै विमान कम्पनीको आरोप सत्यभन्दा धेरै बाहिर रहेको बताए । उनले भने ‘जसले जे आरोप लगाए पनि हुने ? अमेरिका, क्यानडा लगायतका देशमा हुन्थ्यो भने विमान कम्पनीप्रति सायद मुद्दा चल्थ्यो होला । यद्यपि हामी पनि यो आरोपबारे छलफल गर्नेनै छौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप