शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यमनको एक गाउँमा चलिरहेको विवाह समारोहमा हवाई आक्रमण, ४० जना हताहत

सोमबार, १० वैशाख २०७५, १६ : ३५
सोमबार, १० वैशाख २०७५

एजेन्सी– यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

“अहिले घटनामा परी मृत्यु हुने र घाइते हुनेहरुको यकिन विवरण आइसकेको छैन्, प्रारम्भिक विवरणअनुसार कम्तीमा ४० जना हताहत भएका छन्,” एक जना उच्च स्वास्थ्य अधिकारी मोहम्मद अल अस्वालले सिन्ह्वासँग टेलिफोनमार्फत बताए । 

उनले थपे, “तीमध्ये केहीको मृत्यु र केही घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।” एकजना सुरक्षा अधिकारीका अनुसार लडाकू विमानबाट वैवाहिक समारोहमा दुई वटा बम खसालिएको थियो । घटना बानी कास जिल्लाको अल्राका गाउँमा भएको हो । 

बम विस्फोटनमा परी वैवाहिक समारोहनजिकै रहेका घर, सवारी साधनलगायत नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।  यमनमा गत तीन वर्षदेखि हुथी विद्रोही समूह र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा भिडन्त हुँदै आएको छ । 

गठबन्धन सेनाले गत शुक्रबार पनि दक्षिणपश्चिमी ताइज प्रान्तमा हवाई आक्रमण गरेको थियो । घटनामा परी कम्तीमा १७ जना मारिएका थिए । चर्चित स्थानीय बजारबाट घर फर्किँदै गरेका यात्रु चढेको सार्वजनिक दुईवटा सवारी साधनमा आक्रमण हुँदा उनीहरको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

यमनमा अहिले चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म झण्डै दश हजार यमनी नागरिक मारिएका छन्, भने लाखौं विस्थापित भएका छन् । मानवीय संकटको दृष्टिकोणले अहिले यमन विश्वकै द्वन्द्वग्रस्त क्षेत्रमा देशहरुको सूचीमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप