शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धुम्बाराहीमा प्रधानमन्त्री ओलीले सुनाए 'मुसा र पानीजहाज'को यस्ताे कथा

सोमबार, १० वैशाख २०७५, १५ : २३
सोमबार, १० वैशाख २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले अझैं पनि नेपालमा साम्प्रदायिकता भड्काउने र विभिन्न जाति र समूदायलाई उत्तेजित बनाउने प्रयास भइरहेको दाबी गरेका छन् । 

सोमबार पार्टी कार्यालय धुम्बराहीमा विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले नेपाली–नेपालीबीचको एकता भाँड्ने तत्वहरुको स्वीच भने नेपालमा नभएर अन्तै कतै रहेको दावी गरे । 

उनले विदेशीको त्यो चलखेलले अव नेपालीहरु नभड्किने भन्दै त्यसमा सबै नेपाली सजग र सर्तक हुनुपर्ने बताए । 

उनले भने ‘हामी हाम्रो सामाजिक सद्भाव भड्कँन दिदैनौं । लडाईँ झगडा लगाएर हतियार बेच्ने योजना पनि सफल हुन दिदैनौं । हामी आफनो समस्या आफैं समाधान गर्छौं । पहाड, तराई हिमाल, जात क्षेत्रको मुद्दा उचाल्ने ? सामाजिक सद्भाव कायमै राख्दै संविधानले व्यवस्था गरेअनुसार देश विकास गर्छौं ।’

सुशासन र सम्बृद्धि सवै नेपालीको चाहाना भन्दै  ओलीले त्यो चाहाना पुरा गर्न बाम गठबन्धन सरकार पछि नहट्ने दावी पनि गरे । 

अधिनायकवाद आउन लाग्यो भनेर विपक्षीले लगाएको आरोपको खण्डन गर्दै उनले त्यो आरोपमा कुनै सत्यता नभएको जिकिर पनि गरे । 

उनले आफ्नो भारत भ्रमण, देश विकासका योजनालगायतलाई लिएर प्रतिपक्षी दल काँग्रेसका नेताहरु र केही बुद्धिजीवीहरले गरेको टिप्पणीलाई शब्दको अर्थ नबुझ्नेहरुको संज्ञा दिए । 

 ‘मैले हालै गरेको  भारत भ्रमणलाई एकजना नेताले लम्पसारवाद भनेको सुनेँ । अहिलेको प्रधानमन्त्रीले गरेको भारत भ्रमणलाई लम्पसारवाद भन्नु शब्दको अर्थ नबुझ्नु हो’ प्रधानममन्त्री ओलीले भने ।
ओलीले घुमाउरो तरिकाले युरोपियन युनियनलगायतका निकायको व्यवहारमाथि हमला गर्दै काँग्रेस र बुद्धिजिवीहरुको व्यवहारलाई पनि बाँकी राखेनन् । 

‘कतिपपय बुद्धिजीवीहरु लेख लेखेबापत जिविका चलाइरहेका छन् । तिनीहरुले यस्तो गरेको नमज्जा लाग्छ । मुसाले दाँत तेजिलो बनाउन काटिराख्नुपर्ने बाध्यता हुन्छ । त्यस्तै छ, उनीहरुको काम ।’ प्रधानमन्त्री भएपछि उखान टुक्का भर्न कम गरेका ओलीले सोमबार गरेको भाषणमा भने धेरै उखान टुक्का जोड्न भ्याए । 

उनले भने–मुसाले नोक्सान गरौं भनेर लुगा काटेको होइन । उसले त आफ्नो दाँत धार लगाउन लुगा काट्ने हो । तर, मुसाले आफ्नो दाँत धार लगाउँदा थोत्रा कपडा काटे हुन्थ्यो नि सुट नै काटिदिन्छ । त्यस्तै गरी बुद्धिजीवीले पनि देशलाई नै नोक्सान गर्नेगरी लेखेका छन् ।’ 

फरक प्रसंंगमा प्रधानमन्त्री ओलीले महेन्द्र पथको पनि चर्चा गरे । ‘केपी ओली महेन्द्र पथमा पनि गयो भनेर कतिले भने, के विकासको कुरा गरेका थिए महेन्द्रले ? विश्वविद्यालयको सर्टिफिकेटकै बेइज्जत । राम्रो कामको राम्रो र नराम्रोको नराम्रो भन्न जान्नुपर्छ, ’ ओलीको भनाई थियो । 

लोकतन्त्र जनताको व्यवस्था र जनताकै लागि गरिने व्यवस्था भएको भन्दै सुशासन, भ्रष्टाचार र जनताको सुरक्षाका लागि लोकतन्त्र ल्याइएको बताए । 

रेल कुदाउने कुरा, जहाज उडाउने कुरा गर्नु अपराध नभएको भन्दै संविधानले व्यवस्था गरेअनुसार जनताका अधिकार दिलाएरै छोड्ने र विकास गरेरै देखाउने प्रतिवद्धता जनाए । उनले यहि विचार, सिद्धान्त, नीति, संगठन र सहि कार्यक्षमताका कारण एमालेप्रति जनताको आकर्षण बढेको पनि बताए । 

‘नीति र सिद्धान्तको टेको लगाउने पार्टी एमाले होइन । हामी राष्ट्रिय एकताका सवालमा कुनै अनुचित माग र अर्गल्याईमा जादैनौ । नेपालका समस्याको सहि ढंगले पहिचान र समाधान गर्ने उदेश्य पुरा गर्न पार्टी सक्षम छ । ’

उनले छिमेकी देशहरुसँग समानताका आधारमा व्यवहार गर्ने भन्दै देशभक्तिका लागि राष्ट्रवाद जोगाउन सफा मनले अघि बढ्नुपर्नेमा आफू जानकार रहेकाले छिमेक र वैदेशिक मामलाका नीतिहरुमा प्रष्ट रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप