शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली–प्रचण्डको बडी ल्याङ्ग्वेज : एकता घोषणा सहज छैन, नगरी पनि सुख छैन !

सोमबार, १० वैशाख २०७५, १४ : ४०
सोमबार, १० वैशाख २०७५

काठमाडौं– लगातार तीन दिन एकान्त वार्ता गरेका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आइतबारको संयुक्त सम्बोधनमा पार्टी एकताको मिति घोषणा गर्ने, दुवै पक्षका नेता कार्यकर्ताको अपेक्षा थियो तर आइतबारको कार्यक्रममा दुवै नेताले एकता अनिवार्य भए पनि मिति घोषणा गरेर एकता हुन नसक्ने भन्दै (प्रचण्डको शब्दमा) ड्याम्मै एकता गर्ने बताए । 

यदि सबै कुरा मिलिसकेको भए मिति घोषणा गर्न उनीहरूलाई कुनै आपत्ति थिएन । यसबाटै बुझिन्छ कि विवाद अझै मिलेको छैन । 

विवाद नमिलको दुवैले स्वीकार पनि गरेका छन् । तर, फेरि दुवैको आशय छ ‘एकताबाट कुनै हालतमा भाग्न मिल्दैन’ । केपी ओलीको भन्दा कम समय सम्बोधन गरेका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो सम्बोधनको अधिकांश समय पार्टी एकतामा भइरहेको प्रगति, नेताकार्यकर्तामा बढेको आशङ्का र अन्तर्राष्ट्रिय समुदायले एकता भाँड्न गरेको प्रयासको व्याख्या गरे । उनले कम्युनिष्ट पार्टी एकताका लागि तत्कालीन एमालेका नेता मदन भण्डारी, अर्का नेता माधव नेपाल हुँदै केपी ओली अध्यक्ष भएपछि निरन्तर वार्ता र छलफल गरेको स्मरण गराए ।

 ‘हामीले अहिले मात्र एकताको कुरा गरेका हैनौं, २०४६ पछि मदन भण्डारी, माधव नेपाल हुँदै केपी ओलीसँग पार्टी एकताबारे छलफल गरेका थियौं । विगतमा समय र परिस्थिका कारण त्यो छलफल टुङ्गोमा पुग्न सकेन तर २०६२÷०६३ पछि  यसले अलि तीव्रता पायो र यो अवस्थासम्म आइपुगेका हौं ।’

प्रचण्डकै शब्दमा 
शनिबार मात्रै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीबीच ‘वान टु वान’ छलफल गर्यौं । त्यो छलफलमा एकतापछिको पार्टी सङ्गठनको मोडालिटीबारे तीनवटा सूत्रमा छलफल भयो । हामी दुईजनाबीच सङ्गठनात्मक मोडालिटीका विषयमा पनि सहमति भयो । पहिलो, सम्मानजनक ढङ्गले एकता गर्नुपर्छ । कसैले कसैलाई हिमुलेट गर्ने, अपमानित गर्ने, विभेद गर्ने गरी एकता हुन सक्दैन । दोस्रो, एकता गर्दा समानताको सिद्धान्तलाई अङ्गिकार गर्नुपर्छ र तेस्रो न्यायोचित ढङ्गले एकता गर्ने समझदारी भएको छ ।

केपी ओलीकै शब्दमा
पार्टी एकता कुनै बाटोमा टपक्क टिपेर आइलागेको होइन । कतिपयले सुपरमार्केटमा घुम्न गएका बेला त्यहाँबाट किनेर ल्याइएको पनि होइन । कहिले यो भएन, त्यो भएन भनेर साथीहरूको गुनासो पनि हामीले सुन्नुपरेको छ । यो यसै भएको होइन, बडो मिहिनेतसाथ यहाँसम्म आइपुगेको हो ।
अब मेरो जुत्ता मिलेन लाउँदिन भन्ने ठाउँ छैन, जुत्ता मिलेन भने पनि खुट्टालाई ताछतुछ पारेर भए पनि मिलाएर लगाउनुपर्छ । हामी अब त्यो बिन्दुमा पुगिसक्यौं । एकता बिहेअघि दुलाहा–दुलहीको अवस्थाजस्तै हो । बिहे नगरुन्जेल दुवैको घर बेग्लाबेग्लै हुन्छ, विहेपछि दुवैको घर एउटै हुन्छ, अनि एकै परिवार भएपछि घरको विरालाको पनि माया बढ्छ ।

अध्यक्ष ओली र प्रचण्डले तीन दिनको लगातार छलफलपछि आइतबार पार्टी एकताबारे सार्वजनिक गरेका शब्द हुन् यी ।
यी शब्दमा उनीहरूको बडी ल्याङ्ग्वेजबाट के बुझ्न सकिन्छ भने उनीहरूले प्रतिबद्धता गरिसकेको पार्टी एकता घोषणाबाट कुनै हालतमा पछि हट्न सम्भव छैन । तर, पार्टी एकता घोषणा गरिहाल्न पनि सहज छैन । यो दोहोरो मारमा परेका छन् दुवै नेता । उनीहरूको भाषा र शब्दले त्यही सङ्केत गर्छ । 

पार्टी एकताको पक्ष र विपक्षमा नेता कार्यकर्ता र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सक्रिय रहेको पनि दुवै अध्यक्षले स्वीकार गरेका छन् । 

‘आज मात्रै मैले बैठकमा एउटा भने बाहिर अर्कै आयो । माओवादीलाई पनि उचालेका छन्, एमालेलाई पनि । ठूलो पार्टी हुँदाको अनुभव हामीलाई पनि छ । २०६४ ठूलो भयाैं, ७० मा जनताले पछारे’ प्रचण्डले आफूभित्र खेलेको र ठूलो पार्टी भनेर एमालेले आफूलाई पेलेकोमा एक तिर दुई शिकार गर्न पनि भ्याए । तर, उनले जजसले जति खेले पनि एकता नरोकिने दाबी गरे ।

प्रचण्डले हिजोका दिनमा एमाले र माओवादीहरू कमा, फुलिस्टमा पनि झगडा गर्दै हिँडेको स्मरण गराए । ‘यति हुँदाहुँदै पनि फेरि शिक्षा लिँदै अगाडि बड्नुपर्छ भन्दै हामी अघि बड्यौं र निर्वाचनका मुखमा पार्टी एकता समिति निर्माण गरेर सरप्राइज दियौं ।’

एकअर्काबीच बोल्दै नबोल्ने र हेर्दै नहेर्ने एमाले माओवादीका नेता कार्यकर्ता पछिल्लो प्रयासपछि एकै ठाउँमा बस्ने र आत्मीय बन्न थाल्नु सकारात्मक भएको प्रचण्डले बताए । त्यस्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि देशमा स्थिरता, विकास र समृद्धिकै लागि दुई पार्टी एकता गर्न आवश्यक ठानेर प्रकृया अघि बढेको र त्यसबाट पछि हट्ने सम्भावना नै नरहेको जिकिर गरे । 

‘विगतमा एमाले माओवादीले गरेका गल्ती सम्झेर बस्ने होइन । अब पछि फर्कने बेला छैन । अब कसरी अघि बढ्ने भन्ने मात्रै हो । अब नयाँ ढङ्गले अघि बढ्छ म खुशी छु । अब पनि समृद्धिमा देश नलाने हो भने कसले लान्छ ? हामीले आगो मात्रै तापेको छैन, आइस पनि चाखेका छौं । जेलनेल, युद्ध, शान्तिका सबै अनुभवलाई लिएर राष्ट्र निर्माणको सङ्कल्पमा छौं ।’ ओलीले एकता प्रकृयाबारे उठेका जिज्ञासा र प्रश्नहरू मेटाउने प्रयास गरेका थिए ।

दुवै नेताले एकता अपरिहार्य र अनिवार्य भएको बताए पनि किन ढिलो भएको हो भन्ने प्रष्ट बताएनन् । सायद यो उनीहरूको बाध्यता हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप