शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टेम्पो चलाएर मासिक ५० हजार कमाइ

सोमबार, १० वैशाख २०७५, ११ : १९
सोमबार, १० वैशाख २०७५


सुरेन्द्र भण्डारी 

झापा - वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताउनुभएका उहाँ अब स्वदेशमै रहेर सफल व्यवसायी बन्नु भएको छ । 

बीस महिनाअघि स्वदेश फर्कनुभएका उहाँ अहिले टेम्पो चलाउन व्यस्त हुनुहुन्छ । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली गल्लीमा उहाँ टेम्पो गुडाउनुहुन्छ । टेम्पो चलाएरै उहाँले विदेशको भन्दा राम्रो कमाइ गरिरहनुभएको छ । पहिले नै यो काम थाल्नु भएको भए त्यतिका वर्ष विदेशमा पसिना बगाउनु पर्ने थिएन कि भन्ने पछुतो पनि उहाँलाई लाग्ने गर्दछ । 

पुनः विदेश फर्किने सोचका साथ छुट्टीमा घर आउनुभएका घिमिरेले एकाएक गाउँघरमै बसेर कुनै व्यवसाय गर्ने उत्साह बढेर गयो । पहिले त के व्यवसाय गर्ने भन्ने निर्णय गर्न गाह्रो भयो तर पछि टेम्पो किनेर चलाउने निधो गर्नुभयो । सुरुमा एउटा टेम्पो किन्नुभयो । बजाज कम्पनीको टेम्पो किनेर चलाउन सुरु गर्नुुभएका उहाँले सोही टेम्पोको कमाइले चार महिनाअघि पुनः अर्को टेम्पो किन्न सफल हुनुभयो । दैनिक दुई हजार माथि कमाई हुन थालेपछि उहाँको विदेशप्रतिको मोह टरेर गयो । 

घरमै बसिबसी मासिक रु ५० हजार माथि कमाई गर्न थालेपछि १७ वर्ष विदेशमा श्रम र पसिना बगाएका नेपाल नेपाल फर्कनुभएका उहाँलाई अहिले नेपाल स्वर्ग झैँ लाग्न थालेको छ । बिहान आठ नबज्दै टेम्पो लिएर निस्किनुभएका उहाँ बेलुका घर फर्कदा कम्तीमा पनि दुई हजार रुपैयाँ कमाई गरेर मात्रै फर्कनु हुन्छ । खर्च कटाएर मासिक रु ५० हजारमाथि कमाई गर्न थालेपछि घिमिरे यतिबेला दङ्ग मात्र हुनुहुन्न, भविष्यमा यसलाई अझ बढाउँदै लैजाने योजना बुन्न थाल्नुभएको छ । 

घिमिरेकी श्रीमती रञ्जनाका दुवै मृगौला खराब छन् । १५ महिनादेखि उहाँकी श्रीमती बिरामी परेपछि श्रीमतीको औषधि उपचारका लागि उहाँले १० लाख रुपैयाँ खर्च गरिसक्नुभएको छ । त्यति ठूलो खर्च गर्नसक्ने औकात उहाँलाई टेम्पोकै कमाइबाट सम्भव भएको हो । ‘‘यति व्यवसाय नगरेको भए त आज साहूसँग चर्को ब्याजमा ऋण लिनुपर्ने वाध्यता हुने थियो’’ उहाँ भन्नुहुन्छ । 

घिमिरेले श्रीमतीको उपचार अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिरहनुभएको छ । उहाँले १० वर्षीया छोरीलाई निजी विद्यालयमा भर्ना गराउनुभएको छ । छोरीको अध्ययनका लागि आवश्यक पर्ने खर्च समेत टेम्पोबाटै जुटाउनुभएको छ । मृगौला खराबीका कारण विरामी श्रीमतीको रेखदेसँगै घरमै बसेर टेम्पो चलाएको भरमा मनग्य आम्दानी गर्न थालेपछि उहाँलाई घर खर्च टार्न कुनै समस्या छैन । 

स्वदेशमा रोजगारी पाइएन भनेर विदेसिने युवाको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा अर्जुनधाराका पौडेल प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँजस्ता धेरैले अहिले यही टेम्पो कुदाएरै जीवन निर्वाह गरिरहेका छन् भने भाडामा टेम्पो चलाउँदै आएका कतिपयले आफैँ टेम्पो किनेर मनग्य आम्दानी गरिरहेका छन् । 

झापाका सडकमा अहिले झण्डै तीन हजारभन्दा बढी टेम्पो गुड्ने गरेका छन् । पछिल्लो समय हलुका सवारीका रुपमा लोकप्रिय बनेको तीन पाङ्ग्रे टेम्पो धेरैको यातायातको साधन बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप