शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज र नेपाल बैङ्कले नाफा बढाए, अरू सूचक के भए ?

सोमबार, १० वैशाख २०७५, ११ : १६
सोमबार, १० वैशाख २०७५

काठमाडौं– ग्लोबल आईएमई बैङ्क, नेपाल बैङ्क र सनराइज बैङ्कले चालु आर्थिक वर्षको (२०७४/७५) तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल बैङ्क र सनराइजले नाफा बढेको प्रतिवेदन सार्वजनिक गर्दा ग्लोबल आईएमई बैङ्कको नाफा केही खुम्चिएको छ । 

ग्लोबल आईएमई बैङ्कले यो त्रैमासमा  २.१२ प्रतिशतले नाफा घटाएर  १ अर्ब ४४ करोड ४७ लाख रुपियाँमा झारेको छ ।

ग्लोबलले गत वर्षको यसै अवधिमा १ अर्ब ४७ करोड ६० लाख रुपियाँ नाफा गरेको थियो ।  

यस्तै खुद ब्याज आम्दानीमा पनि झिनो गिरावट देखिएको छ ।  बैङ्कले खुद ब्याज आम्दानीबाट २ अर्ब ६१ करोड ५३ लाख रुपियाँ कमाएको छ । गत वर्ष २ अर्ब ६५ करोड ६६ लाख रुपियाँ कमाएको थियो । यो भनेको यो गत वर्षको तुलनामा १.५५ प्रतिशतले कम हो ।  

बैङ्कको चुक्तापुँजी ८ अर्ब ८८  करोड रुपियाँ पुगेको छ । बैङ्कले १ खर्ब  २ अर्ब ५७ करोड निक्षेप सङ्कलन गर्दा कर्जा लगानी ८९ अर्ब  ६ करोड ९० लाख रुपियाँ गरेको छ ।  बैङ्कको खराब कर्जा भने घटेर १.२९ प्रतिशतमा झरेको छ । गत वर्ष १.५३ प्रतिशत थियो । प्रतिसेयर आम्दानी २१.६७ रुपियाँ (वार्षिक) कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४३.४४ रुपियाँ छ ।  

यता नेपाल बैङ्कले २.०६ प्रतिशतले नाफा बढाएको छ । बैङ्कले तेस्रो त्रैमासमा २ अर्ब ५६ करोड ७७ लाख रुपियाँ नाफा गरेको हो । गत वर्ष २ अर्ब ५१ करोड रुपियाँ नाफा  थियो ।  नेपाल बैङ्कले खुद ब्याज आम्दानीबाट ४ अर्ब ५९ करोड २४ लाख रुपियाँ कमाएको छ । यो गत वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो ।

गत वर्ष ४ अर्ब ७ करोड ३४ लाख रुपियाँ खुद ब्याज आम्दनी गरेको थियो ।  यसको पनि चुक्ता पुँजी ८ अर्ब रहेको छ । बैङ्कले ९० अर्ब ८१ करोड  ३२ लाख रुपियाँ निक्षेप सङ्कलन गर्दा ७९ अर्ब ७० करोड कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा बढेर २.९१ प्रतिशतमा पुगेको छ । गत वर्ष २.८५ प्रतिशत थियो । यसको प्रतिसेयर आम्दानी ४२.५७ रुपियाँ छ भने प्रतिसेयर नेटवर्थ १७४.३१ रुपियाँ छ । 

यस्तै सनराइज बैङ्कले पनि  ९.८१ प्रतिशतले खुद नाफा बढाएर ९४ करोड २१ लाख रुपियाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा  ८५ करोड ७९ लाख रुपियाँ थियो । खुद ब्याज आम्दानी १८.९९ प्रतिशतले बढेर १ अर्ब ९२ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत वर्ष १ अर्ब ६१ करोड खुद ब्याज आम्दानी गरेको थियो । यसको पनि ८ अर्ब चुक्ता पुँजी पुगेको छ । बैङ्कले ६५ अर्ब निक्षेप सङ्कलन गर्दा ५७ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ । बैङ्कको खराब कर्जा घटेर १.४५ प्रतिशतमा झरेको छ । गत वर्ष १.५० प्रतिशत थियो । प्रतिसेयर आम्दानी १५.४१ रुपियाँ र प्रतिसेयर नेटवर्थ १३०.११ रुपियाँ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप