शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोंग उन छन् दयालु ? उनीबारे थाहा नभएका यस्ता पाँच कुरा

सोमबार, १० वैशाख २०७५, ०९ : ५१
सोमबार, १० वैशाख २०७५

उत्तर कोरियाका शासक किम जोंग उनका तस्बिर संसारभरीका पत्रिकामा बेला बेला आइरहन्छन् तर उनको नीजि जीवन भने अहिलेसम्म संसारका लागि एक रहस्यसरह छ ।

उदाहरणका लागि, मानिसहरुलाई अहिले पनि किमको उमेर कति हो,  थाहा छैन ।

तर उनका सहपाठी र उत्तर कोरियाबाट भागेका मानिसहरुले उनको नीजि जीवनबारे महत्वपूर्ण जानकारी दिने गरेका छन् ।

उनीबारे यस्तै पाँच जानकारी बीबीसीले तयार गरेको छ ।

१. राजकुमार जस्ता तर एक्लो जीवनः

विशेषज्ञका अनुसार किम जोंग उनको जन्म सन् १९८२ देखि १९८३ को बिचमा भएको हुनुपर्छ र उनको बाल्यकाल राजकुमारको जस्तै बितेको छ ।

एनके लिडरशिप वाच नामको वेबसाइटका निर्देशक माइकल मेडनले बीबीसीलाई बताए, ‘उनी ठूल्ठूला भवनमा बस्दथे । उनले एक विलासी जीवन बाँचेका छन् तर एक प्रकारको एक्लोपनसँगै ।’

किम जोंग उनका पिता किम जोंग–उलका पूर्व सुरक्षाकर्मीले अमेरिकी न्यूज ग्रुप एबीसीसँगको कुराकानीमा पनि यस्तै बताएका थिए ।

सन् २०१७ मा टोरोन्टोमा ली भन्छन्, ‘म निकै तनावमा थिएँ । उनीसँग खेल्नका लागि उनका साथी कोही थिएनन् । त्यहाँ सबै वयस्क थिए जसले उनलाई पडाउँथे र उनीसँग खेल्थे ।’

उत्तर कोरियाली सरकारले किम जोंग–उनका जुन तस्बिर सार्वजनिक गरेको छ त्यसमा उनी निकै सानो उमेरदेखि नै सैन्य पोशाकमा देखिएका छन् जसले उनको पदको पहिचान बताउँछ ।

बालक किमको अपहरण हुनसक्ने भन्दै उनको सुरक्षामा विशेष ध्यान दिइएको थियो । उनलाई भेट्न परिवारकै सदस्यले पनि सुरक्षाकर्मीको अनुमती लिनुपर्दथ्यो । अनुमती नलिनेलाई जेल सजायँ वा मृत्युदण्ड तोकिएको थियो ।

२. स्विटजरल्याण्डमा पढाईः

किम जोंग उनले आफ्नो पढाई स्विटजरल्याण्डमा अवस्थित एक जर्मन स्कूलबाट गरेका हुन् ।

सन् १९९६ देखि २००० सम्म किम जोंग उनको पढाई यूरोपमा भयो । सुरुवातमा उनी आफ्ना सानिमासँग बस्दथे जो सन् १९९८ मा अमेरिका गइन् र अर्कै नाममा त्यहाँ बस्न थालिन् ।

त्यतिबेला किमले एक उपनामसहित आफ्नो जीवन बाँचे ।

द वासिङ्टन पोष्टसँगको अन्तर्वार्तामा उनकी सानिमा को योंग सुकले भनेकी छिन्, ‘किम जोंग उन समस्या पैदा गर्ने बच्चा थिएन तर उ रिसाइहाल्ने प्रवित्तिको भने पक्कै थियो । उसमा सहनशीलताको कमी थियो ।’

किमका सहपाठीका अनुसार उनीहरु किमलाई दूतावासमा काम गर्ने कुनै कर्मचारीको सन्तान ठान्दथे । उनी लजालु तर एक राम्रा साथी भएको उनीहरुको जिकिर छ ।

३. बास्केटबलप्रति लगावः

एक समय किम जोंग उनसँग बास्केटबल खेल्ने मार्के इमहाफ भन्छन्, ‘उनी धेरैजसो समय लजाएरै बस्ने गर्दथे तर बास्केटबल खेल्दाखेल्दै भने उनी आक्रामक हुने गर्दथे तर एक सकारात्मक ढङ्गले ।’

किम अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनका प्रशंसक थिए र उत्तर कोरियाका सर्वोच्च नेता भएपछि पनि बास्केटबल प्रतिको उनको क्रेजमा कुनै कमी आएको छैन ।

अमेरिकी खेलाडी डेनिस रोडम्यानले थुप्रै पटक उत्तर कोरियाको यात्रा गरिसकेका छन् र दुबैबिचको सम्बन्ध विवादास्पद रहेको छ ।

रोडम्यानले एक टेलिभिजन कार्यक्रम द लेट शोमा स्टिफन कोलबर्टसँग कुराकानी गर्दै भनेका थिए, ‘मलाई अचम्म लाग्छ कि मानिसहरुले किन उनलाई पागल भन्ने गर्छन् । यस्तो हुन पनि सक्ला तर मैले उनको कहिले पनि त्यस्तो स्वरुप देखेको छैन । ’

४. ह्विस्की र एनिमेटेड फिल्मः

किम जोंग उनको रक्सीको लतबारे पनि विभिन्न अनुमान गरिन्छ ।

एनके लिडरशीप वाच वेबसाइटका अनुसार किम जोंग उनले १५ वर्षको उमेरदेखि नै रक्सी पिउन सुरु गरेका थिए त्यो पनि जोनी वाकर ह्विस्कीबाट ।

माइकल मेडन भन्छन्, ‘उत्तर कोरियाली नागरिकका लागि यो अस्वभाविक कुरा होइन ।’

किम जोंग उनबारे एनके लिडरशीप वाच वेबसाइटले उनलाई जापानी एनिमेटेड फिल्म निकै मन पर्ने र माइकल ज्याक्सनदेखि मडोनाका गीत संगीत मनपर्ने बताएको छ ।

किम जोंग उनलगायत उनका पिता र दाइ पनि संगीतका पारखी भएको बताइन्छ । किमका दाइ जोंग–चोललाई सन् २०१५ मा लण्डनको एक म्युजिकल कन्सर्टमा देखिएको थियो ।

यतिमात्र होइन, किम जोंग उनले सानो उमेरमा नै वाद्यवादन सुरु गरेका थिए । उनलाई निकै राम्रोसँग गितार बजाउन आउँछ ।

५. किमको दयालुपनः

एक समय उत्तर कोरियाली नेता किम जोंग उलका शेफ रहेका एक जापानी व्यक्तिले किम जोंग उनको उदारवादी व्यक्तित्वबारे जानकारी दिएका छन् ।

किम जोंग उनका पितासँग एक दशकभन्दा बढि समयसम्म बस्ने यी व्यक्तिले सन् २००१ मा उत्तर कोरिया छोडेका थिए ।

केन्जी फुजीमोतो उपनामबाट थुप्रै किताब लेख्ने यी व्यक्ति तीर्थयात्राको क्रममा जापानबाट भागेका थिए । यद्यपी, यसअघि पनि उनी विलासी सामान खरिद गर्नका लागि विदेश यात्रा गरिसकेका थिए । तर उत्तर कोरियाबाट भागेपछि भने उनलाई उत्तर कोरियाली एजेन्टले बदला लिने हुन् कि भन्ने डर थियो ।

तर किम जोंग उनले उनलाई उत्तर कोरियाली सरकारको भिन्न रुप देखाइदिए ।

सन् २०१२ मा किम जोंग उनको निमन्त्रणमा प्योंगयाङ पुग्दा किमको व्यवहार देख्दा यी व्यक्ति निकै अचम्ममा परे ।

केन्जी भन्छन्, ‘म क्वाँक्वाँ रुन थालें (जब मैले किम जोंग उनलाई भेटेँ)।’

वासिङ्टन पोष्टसँगको अन्तर्वार्तामा उनी भन्छन्, ‘मैले किम जोंग उनलाई कोरियाली भाषमा भने, ‘म फुजिमोतो – गद्दार, फिर्ता भएको छु ।’’

‘त्यसपछि युवा नेताले ‘ठिक छ– ठिक छ ’ भन्दै मलाई अंगालो हाले ।’

यद्यपी, केन्जी फुजीमोतोका थुप्रै कहानीमा प्रश्न उठाउने ठाउँ छन् तर एउटा कुरामा विशेषज्ञ उनीसँग सहमत हुन्छन् ।

र त्यो एउटा कुरा यो हो कि केन्जी फुजीमोतोले भनेका थिए – किम जोंग उन अर्का शासक बन्नेछन्, उनी आफ्ना पिताका निकै रुचाइएका सन्तान हुन् ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप