शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङ ढोरपाटनः मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ

सोमबार, १० वैशाख २०७५, ०९ : ०३
सोमबार, १० वैशाख २०७५

बागलुङ - ढोरपाटन शिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने कार्यमा ढिलाइ भएको छ । 

मध्यवर्ती क्षेत्र बनाउन छ वर्षदेखि गरिएको प्रयासले साकार रुप लिन सकेको छैन । स्थानीयवासीको विरोधपछि तीन वर्षअघि अन्तिम चरणमा घोषणा कार्य रोकिएको थियो । सर्वपक्षीय सहमतिसहित पुनः अघि बढेको घोषणा प्रक्रियाबीचैमा अवरुद्ध बनेको छ । 

आरक्ष कार्यालयले उपल्लो निकायबाट भएको ढिलाइप्रति अनविज्ञता प्रकट गरेको छ । कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा डेढ वर्षअघि नै सीमा सर्वेक्षणसहितको विस्तृत अध्ययन प्रतिवेदन पठाएको थियो । “प्रस्ताव पठाएको लामो समय बित्यो, माथिबाट कुनै निर्णय भएको छैन,” आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने अघिल्लोको तुलनामा पछिल्लो पटक वैज्ञानिक प्रस्ताव अघि बढाइएको उनको भनाइ छ । 

“अध्ययनपश्चात विस्तृत रुपमा सीमा सर्वेक्षण पनि गरेका छौँ,” अधिकृत बरालले भने, “विभागले त्यसलाई कसरी लिन्छ, विभाग र मन्त्रालयको निर्णयको प्रतीक्षामा छौँ ।” 

आरक्ष कार्यालयले पटक–पटक मध्यवर्ती क्षेत्र घोषणाको लागि स्थानीय तहदेखि केन्द्रसम्म दबाब बढाउँदै आएको छ । आरक्ष क्षेत्रभित्र पर्ने बागलुङ, म्याग्दी र रुकुम जिल्लास्थित साविकका दश गाविसलाई मध्यवर्ती क्षेत्रमा समेट्ने योजना छ । 

जसभित्र ४७ वटा मानव बस्ती छन् । करीब साढे पाँचसय वर्ग किलोमिटर क्षेत्रफल मध्यवर्ती क्षेत्रमा समेट्ने गरी प्रस्ताव गरिएको अधिकृत बरालले जानकारी दिए। मध्यवर्ती क्षेत्र घोषणाका लागि सबै आधार पूरा भएको आरक्ष कार्यालयको दाबी छ । देशभर रहेका १४ वटा निकुञ्ज र आरक्ष क्षेत्रमध्ये ढोरपाटन मात्र मध्यवर्ती क्षेत्र घोषणा हुन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप