बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्यानर विवाद : मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई !

सोमबार, १० वैशाख २०७५, ०७ : ३६
सोमबार, १० वैशाख २०७५

मध्याह्न १२ः३० बजे हलमा होहल्ला
कार्यक्रम सुरु गर्न दुई अध्यक्षको प्रतीक्षा थियो । अचानक हलभित्र होहल्ला सुरु भयो । कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरू हुटिङ गर्न थाले । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस शीर्षक राखिएको ब्यानरमा केपी ओली र प्रचण्डको बाहेक पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर थियो । लेनिन दिवसमा लेनिनको फोटो खोइ भन्दै नाराबाजी सुरु भयो । आयोजकमा नेकपा (एमाले)सँगै नेकपा (माके) लेखिएकोमा उनीहरूको आपत्ति थियो । यस्तो ब्यानर हटाएर मात्र कार्यक्रम सुरु हुनुपर्छ भन्ने उनीहरूको माग थियो ।

 आधा घन्टापछि वर्षमान मञ्चमा
फ्लोरमा तनाव बढिरहेको वेला माओवादी नेता वर्षमान पुन स्टेजमा उक्लिए । उत्तेजित कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘कृपया संयमित हुनुस्, अनुशासनमा बस्नुस्, तपाईंहरूका सबै जायज माग शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ ।’ तर, तनाव शान्त भएन । ब्यानर फेर्नुपर्ने माग एकोहोरो रूपमा उठिरह्यो । एमाले कार्यकर्ता भने लगातार मौन थिए ।

ब्यानर निकाल्न महानगरका कर्मचारी
हलमा होहल्ला भइरहेको वेला भित्र दोस्रो तहका नेताहरूले संक्षिप्त छलफल गरेर ब्यानर निकाल्ने सहमति गरे । नेताहरूकै निर्देशनमा महानगरपालिकाका कर्मचारीले ब्यानर निकालेर उल्टो पारे । नारा लगाउनेहरूले ताली बजाए । यसबीचमा माओवादीको तर्फबाट अर्को ब्यानर बनाउने सहमति भयो । त्यतिन्जेलसम्म केपी ओली र प्रचण्ड सभागृह आइपुगेका थिए । तर, उनीहरू हलमा होइन, भित्री कोठामा छलफलमा बसे ।

 मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई
आयोजकहरूले नयाँ ब्यानरको प्रतीक्षा गरिरहेका थिए । त्यसैले साढे दुई बजेसम्म कार्यक्रम सुरु हुन सकेको थिएन । कार्यकर्ताहरू आत्तिएर फर्किन थालेपछि अचानक बद्री पंगेनीलाई स्टेजमा बोलाइयो । एकता गर ओली र प्रचण्ड भन्दै उनले लोकभाकामा गीत गाउन थालेपछि दुवै पक्षका कार्यकर्ताले थपडी पिट्न थाले । खासमा उनी कार्यक्रममा समेत थिएनन्, गीत गाउनका लागि फोन गरेर तत्कालै बोलाइएको थियो ।

 ३ बजेतिर नयाँ ब्यानर आइपुग्यो
माओवादीले तयार पारेको ब्यानरमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर थियो । एमालेले तयार पारेको ब्यानरसँगै नयाँ ब्यानर टाँगिएपछि माओवादी कार्यकर्ताले फेरि ताली बजाए । तर, पाँच मिनेटमै डोरी चुँडिएर खस्यो । फेरि टाँग्न १५ मिनेट लाग्यो ।

अनि सुरु भयो तस्बिर विवाद
ब्यानर विवाद सकिएर कार्यक्रम सुरु हुनै लागेको थियो, एमाले नेता कृष्णगोपाल श्रेष्ठ दुईवटा तस्बिरसहित स्टेजमा उपस्थित भए । एउटा तस्बिर माक्र्सको र अर्को लेनिनको थियो । दुवै तस्बिर ओली र प्रचण्ड बस्ने सोफाअगाडिको टी–टेबुलमुनि राखिएको थियो । यही विषयमा आपत्ति गर्दै फेरि हुटिङ भयो । एक मिनेट नहुँदै तस्बिर उठाएर स्टेजको अघिल्लो भागमा कुर्सीमा राखियो । तर, माक्र्सको तस्बिर सानो र लेनिनको अलि ठूलो थियो । यो विषयमा पनि हुटिङ भयो । काठको टेको लगाएर माक्र्सको तस्बिर पनि अग्लो बनाइयो । यसरी सारा बिघ्न समाप्त भएर कार्यक्रम सुरु हुँदा करिब चार बजेको थियो ।,यो खबर आजको नयाँ पत्रिकामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप