बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओली फेरि अप्ठ्यारोमा !

आइतबार, ०९ वैशाख २०७५, १३ : ३१
आइतबार, ०९ वैशाख २०७५

काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मे ११ मा हुने भनिएको नेपाल भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारोमा पारेको छ । 

प्रधानमन्त्री ओली जब चीन जाने मनस्थिति बनाएर त्यसको तयारीमा लाग्छन् तब भारतीय प्रधानमन्त्री मोदीले यस्तै एकतर्फी निर्णय गरेर उनलाई अप्ठ्यारोमा पार्ने गरेका छन् । 

चीनमा सम्पन्न बोआओ सम्मेलनमा नेपालका तर्फबाट भाग लिन जाने तयारीमा जुटेका प्रधानमन्त्री ओलीलाई रोक्न भारतले नेपाललाई जानकारी नै नदिई उनको भारत भ्रमणको मिति सार्वजनिक गरिदियो । पहिला अस्वीकार गरेको परराष्ट्र मन्त्रालयले पछि भारतीय मितिमै प्रधानमन्त्री ओलीको भ्रमणको कार्यतालिकामा बनायो । 

मोदी मे २१ मा नेपाल भ्रमण आउने

यस पटक पनि त्यस्तै भएको छ । प्रधानमन्त्री ओली चीनको भ्रमण गर्ने तयारी गरिरहेको बेला प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने तयारी भारतीय मिडिया मार्फत सार्वजनिक गरिाएको छ । हुन त भारतका सरकारी अधिकारीहरूले यो कुरा सार्वजनिक नगरे पनि उनीहरूबाट नै सचेत तरिकाले यो सूचना मिडियामा चुहाइएको मानिएको छ । 

हुन त प्रधानमन्त्री ओलीले दिल्ली भ्रमणका बेला मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए, तर त्यो निमन्त्रणालाई स्वीकार गर्दै यति छिट्टो आउनेछन् भन्ने कल्पना पनि गरेका थिएन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि चीन गएका थिए । उनी पाँच दिनपछि नेपाल फकिएको दिन नै भारतले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको चर्चा ल्याएको हो । 
अब ओली चीन जाने कि मोदीलाई स्वागत गर्ने भन्नेमा अन्योल देखिएको छ । 

जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप

चीनबाट फर्केका परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने र हाम्रा प्रधानमन्त्री ओलीज्यू चीन जानेमध्ये कुनैको मिति तय भएको छैन । कुन पहिला गर्ने, त्यस बारेमा हामीले छलफल गरिरहेका छौं । छलफल भएपछि तपाईंहरूलाई जानकारी गराइन्छ ।’

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने कुरा जानकारीमा आएको बताउँदै उनले भ्रमणको मितिको बारेमा छलफल भइरहेको बताए ।

यसअघि पनि भारत भ्रमणको मिति तय गर्दा नेपाललाई कुनै जानकारी गराइएको थिएन । एकाएक भ्रमणको मिति तोकेपछि विनातयारी प्रधानमन्त्री ओली दिल्ली पुगेका थिए । 

यस पटक पनि त्यस्तै भयो । नेपाललाई कुनै जानकारी नै नदिई मोदी मे ११ मा नेपाल भ्रमणमा आउने सार्वजनिक भएको छ । यो समाचार दिल्लीबाट प्रकाशित एक अग्रजी दैनिकमा पहिलोपटक छापियो ।
यद्यपि चिनियाँ पक्ष पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउनुभन्दा पहिले ओलीलाई चीनको भ्रमण गराउन चाहेको छ । 

चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमण गराउने नेपालले तयारी गरिरहेको थियो । तर, चीनले पहिला नेपालका तर्फबाट भ्रमण होस् भन्ने चाहेको छ । 

प्रदीप ज्ञवालीका दुःख : कहिले दक्षिणको दौड, कहिले उत्तरको यात्रा

त्यसका लागि चिनियाँपक्षले मन्त्री ज्ञवालीसँग कुराकानी गरेर पठाएका छन् । नेपाल आएर प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति तय गर्ने सोच बनाएका थिए तर भारतले अचानक मिति नै तय गरिसकेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

अहिले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारीमा नेपाली पक्ष हतार हतार जुटेको छ । यति छोटो समयमा त्यसको तयारी कसरी गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय अन्योलमा देखिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएपछि सरकार त्यसको तयारीमा जुटेको छ । तर परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले त्यसबारेमा कुनै जानकारी नभएको बताए । 

उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने कुरा मिडियाबाट जानकारी पाएको छु, तर त्यसबारेमा मलाई आधिकारिक जानकारी आएको छैन ।’

चीनबाट के सन्देश लिएर आए परराष्ट्रमन्त्री ज्ञवाली ?

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा जाने चासो देखाएपछि दिल्लीमै स्विच थिचेर गर्ने भनिएको अरुण तेस्रो जलविद्युत आयोजना मोदी आफैले शिलान्याश गर्ने बताइएको छ । 

तीन वर्षअघि नेपाल भ्रमणमा आएको बेला सो जलविद्युत निर्माणको सम्झौता गर्ने भनी भारतका तर्फबाट उनले हस्ताक्षर गरेका थिए । 

उक्त आयोजना निर्माणका लागि नेपाल भ्रमणमा रहेको बेला शिलान्याश गर्ने बताइएको छ । 

त्यसका लागि गोप्य अध्ययनका लागि एउटा टोली नेपाल पठाइसकेको छ । 

साथै, प्रधानमन्त्री मोदीले यस पटक जनकपुर र मुक्तिनाथको पनि दर्शन गर्ने योजना रहेको छ । पशुपति, जनकपुर र मुक्तिनाथ जाने भएपछि त्यहाँको पनि तयारीमा जुटेको स्रोतले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप