शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनी बन्ने यस्तो छ ट्रम्प सूत्र !

शनिबार, ०८ वैशाख २०७५, १० : ५८
शनिबार, ०८ वैशाख २०७५

डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलो अर्बपति राष्ट्रपति हुन् । धेरैको अपेक्षाविपरीत सन् २०१६ मा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्प व्यापारिक पृष्ठभूमिबाट आएका राजनीतिक नेता हुन् । राजनीति सुरु गरेको छोटो अवधिमा नै संसारकै सर्वाधिक ठूलो अर्थतन्त्र भएको राष्ट्रको प्रमुख कार्यकारी पद राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्प व्यक्तिगत जीवनमा निकै सफल देखिन्छन् । रियल इस्टेटलाई मुख्य व्यवसाय बनाएका ट्रम्पको लगानी अन्य क्षेत्रमा समेत छरिएको छ ।

३ अर्ब १० करोड अमेरिकी डलर सम्पत्ति भएका ट्रम्प विश्वका ७ सय ६६औँ धनी व्यक्ति हुन् । व्यापार व्यवसाय विस्तार गर्ने महत्वपूर्ण जानकारी दिने धेरै पुस्तक तथा लेखसमेत प्रकाशित गरेका राष्ट्रपति ट्रम्प अरूलाई पनि धनी बन्न प्रोत्साहनमूलक अभिव्यक्ति तथा प्रवचन दिने गर्छन् । सन् १९८७ मा ‘ट्रम्प : द आर्ट अफ डिल’ पुस्तकमार्फत लेखनयात्रा सुरु गरेका उनले हालसम्म १९ वटा उत्पे्ररणामूलक पुस्तक प्रकाशित गरिसकेका छन् । तीमध्ये अधिकांश पुस्तकमा मानिसलाई कसरी धनी बन्न सकिन्छ भन्ने विषयवस्तुहरू समावेश छन् । सन् २००४ मा प्रकाशनमा आएको उनको पुस्तक ‘हाउ टु गेट रिच’ निकै लोकप्रिय पुस्तक हो । उनले लेखेका अधिकांश पुस्तक तथा प्रेरणामूलक प्रवचनमा व्यक्तिगत लगानी तथा व्यावसायिक व्यवस्थापन गर्ने ‘टिप्स’ प्राप्त गर्न सकिन्छ।

डर नै सफलताका बाधक
राष्ट्रपति ट्रम्प धेरै धन आर्जन गर्न लक्ष्य पनि ठूलै हुनुपर्ने मान्यता राख्छन् । उनले दिएको उत्प्रेरणामूलक प्रवचनमा आफू ठूला सम्झौता गर्न मन पराउने उल्लेख गरेका छन् । ठूला लक्ष्यले मानिसलाई धेरै हदसम्म सफलता प्राप्त गर्न प्रेरित गर्ने उनको तर्क छ । ठूलो लक्ष्य लिँदा ठूलै सफलतातर्फ अघि बढ्न आफूलाई ऊर्जा मिल्ने र तुलनात्मक रूपमा बढी सफल पनि हुने उनको मान्यता छ । ‘धेरै मानिसको लक्ष्य तथा सोचाइ नै सानो हुन्छ । किनभने, ठूलो लक्ष्य लिँदा आफू विफल भइएला कि भन्ने डर उनीहरूलाई हुन्छ । तर, यही डर उनीहरूको सफलताको बाधक बनिदिन्छ,’ उनको भनाइ छ ।

पूर्ण चासो तथा ध्यान
व्यापार तथा व्यवसायमा सफलता पाउन लगानीकर्ताले कतिको ध्यान दिने गरेको छ भन्ने महत्वपूर्ण हुन्छ । ठूलो लक्ष्य निर्धारण गर्दा मानिसले उक्त कामप्रति पूरै वा धेरै ध्यानकेन्द्रित गर्न सक्छ भन्ने ट्रम्पको मान्यता हो । ‘धेरैजसो सफल उद्यमीहरूले कुनै पनि व्यवसायमा धेरै नै ध्यानकेन्द्रित गर्ने गरेको मैले पाएको छु । यसले मानिसलाई तनावमा पारे पनि कामलाई शृंखलाबद्ध गर्न धेरै मद्दत गरेको हुन्छ । यो बानीले मानिसलाई खुसी नै बनाउन सक्छ भन्न त सकिन्न, तर उसले चाहेको प्राप्त भएपछिको अनुभव भने शब्दमा व्यक्त गर्न गाह्रै होला,’ उनले भनेका छन् ।

सफलता जहिल्यै  प्राप्त हुन्छ भन्ने हुँदैन
मानिसले जति पनि काम गर्छ, त्यति सबै काममा सफलता प्राप्त गर्छ नै भन्ने हुँदैन । कतिपय काम सफल हुन्छन् भने कतिपय काम एकैपटकको प्रयासमा सफल नहुन पनि सक्छन् । ‘मेरो काम गर्ने शैलीबाट धेरै मानिस आश्चर्यमा पर्छन् । म कुनै ब्याग बोक्दिनँ । धेरै बैठक तथा छलफलका कार्यक्रम पनि राख्दिनँ । तर, मेरो ढोका सधैँजसो खुला नै हुन्छ । तपाईंले आफ्नै जीवनशैलीलाई धेरै प्रणालीगत गर्न खोज्नुभयो भने उद्यमशीलता विकासका लागि चाहिने परिकल्पना समय तपाईंले प्राप्त गर्नुहुन्न । सकारात्मक सोच, विचार र कल्पना गर्ने बानी तपाईंमा हराउँदै जान्छ । सफल उद्यमशीलताका लागि कल्पनाशक्ति पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । तर, प्रत्येक दिन प्रत्येक काम कतिसम्म अघि बढ्यो भनेर मूल्यांकन गरिरहन मन पराउँछु । मेरा लागि कुनै हप्ता विशेष प्रकारको हुँदैन । जीवनशैली सदाबहार उही प्रकृतिको हुन्छ ।’ यसर्थ जहिल्यै सफलता मात्र खोज्नु धेरै राम्रो नहुने ट्रम्पको मान्यता छ।

प्रतिफल ग्यारेन्टी नभए के गर्ने ?
सबै व्यापार वा व्यवसाय गर्दा यति नै प्रतिफल निश्चित हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । यदि नाफाको मात्रा ग्यारेन्टी छैन भने आफूले धान्न सक्ने परियोजनामा मात्र काम अघि बढाउँदा उपयुक्त हुन्छ । ‘धेरै मानिसले मलाई जुवा खेलेजस्तो अनियन्त्रित लगानी गरेको आरोप लगाउँछन् । तर, म जीवनमा कहिल्यै पनि जुवाका रूपमा लगानी गर्दिनँ । विगतमा व्यवसायप्रति मेरा धेरै मान्यता परम्परागत प्रकृतिका पनि थिए । म जोखिमपूर्ण काममा पनि हात हाल्न चाहने मान्छेचाहिँ हुँ । तपाईं जोखिम नियन्त्रण गर्न सक्नुहुन्छ भने सो जोखिमले तपाईंको सुरक्षा गरेको हुन्छ ।’

तथ्यांकभन्दा बढी आफूलाई विश्वास
बजार अनुसन्धानसम्बन्धी धेरै प्रकारका तथ्यांकहरू प्रकाशनमा आइरहेका हुन्छन् । सबै तथ्यांक तथ्यपूर्ण नै हुन्छन् भन्ने हुँदैन । लगानी गरेकै कम्पनीका सम्बन्धमा पनि धेरै तथ्यांक आइरहेका हुन्छन् । ‘तपाईंले बजारका तथ्यांकभन्दा बढी आफूलाई विश्वास गर्नुहोस् । अध्ययनशील बन्नुहोस् । आफैँ प्रश्न गर्नुहोस्, आफैँ उत्तर खोज्ने प्रयास गर्नुहोस् । अरूले गरेका विश्लेषणमा पनि बढी ध्यानकेन्द्रित गरिरहनु जरुरी हुँदैन । म आफू पनि धेरै तथ्यांकको विश्लेषण राख्ने गर्दिनँ । बजारमा आउने फेन्सी तथ्यांकमा पनि म धेरै विश्वास गर्दिनँ । म आफैँ सर्वेक्षण गर्छु । आफैँ निष्कर्ष निकाल्छु । अर्को सहरमा गएर ट्याक्सी चढेका वेला सो सहरका बारेमा उक्त ट्याक्सी ड्राइभरलाई प्रश्न गरिरहेको हुन्छु,’ उनले उल्लेख गरेका छन् । व्यावसायिक परामर्श सेवा प्रदायक कम्पनीप्रति पनि ट्रम्प धेरै सकारात्मक छैनन् । ‘तपाईंको कम्पनीको बारेमा गरेको अध्ययनका लागि चर्को शुल्क असुलेको हुन्छ । त्यसबापत उसले लामो अध्ययन प्रतिवेदन पनि तयार गर्छ । तर, सो अध्ययनको निष्कर्ष भने कुनै कामको हुँदैन । यदि सकारात्मक अवस्था नै पत्ता लगाइहाल्यो भने पनि विगतको मात्र हुन्छ । जुन बितिसकेको हुन्छ ।’

कम्पनीबारे सुसूचित हुने
आफ्नो कम्पनीबारे निरन्तर सुसूचित भइरहनुपर्ने ट्रम्पको सुझाब छ । संसारकै सबभन्दा बढी प्रतिफल दिने कम्पनीमा समेत मानिसले थाहा नपाई लगानी गर्न पुग्छ । तर, यदि सोको जानकारी सम्बन्धित लगानीकर्तालाई भएन भने प्रतिफल प्राप्त गर्न नसक्ने ट्रम्पको ठम्याइ छ । आफ्नो लगानी भएको कम्पनीका विषयमा चासो लिइरहे लगानीकर्ता परजीवी बन्नुपर्दैन । सञ्चार जगत् र व्यापारको समानता केलाउँदै सञ्चार जगत् व्यवसायीको पछि–पछि दगुर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने उनको धारणा छ । ‘सञ्चार जगत् जहिल्यै पनि समाचारको भोको हुन्छ । समाचार जति बढी भावनामा खेल्न सक्यो, त्यति नै प्रभावकारी मानिन्छ । व्यापार तथा व्यवसायमा पनि यही नियमन लागू हुन्छ । यदि तपाईंले अरूको भन्दा थोरै मात्र भिन्न वस्तु उपलब्ध गराउन सक्नुुभयो भने त्यो लोकप्रिय बन्न सक्छ ।’

खुसी र सन्तुष्टि
जीवनमा सफलता प्राप्त गर्न मानिसको सन्तुष्टि तथा खुसीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने मान्यता ट्रम्पको छ । ‘जीवन निकै कमजोर छ । सफलताले मात्र मानिसको जीवन लामो, स्वस्थ र बलियो बनाउन सक्दैन । यसकारण पनि म धेरै चिन्ता गर्दिनँ । चिन्ताको व्यवस्थापन पनि अरूको भन्दा फरक ढंगले गरिरहेको हुन्छु ।’

करिअर छनोटअघि …
‘हाउ टु गेट रिच’मा व्यवसायीका रूपमा करिअर छनोट गर्नुअघि सो क्षेत्रको गहन अध्ययन गर्न ट्रम्पले सुझाएका छन् । कुनै पनि व्यावसायिक क्षेत्रका सकारात्मक वा नकारात्मक पक्षको अध्ययन गरेर मात्र व्यवसायमा लाग्ने हो भने सफलता प्राप्त गर्ने बढी सम्भावना देख्छन् ट्रम्प । कमजोरी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि अध्ययनशील मानिसले मात्र तयारी गर्न सक्ने उनको भनाइ छ ।

व्यवसायी सफल तथा धनी बन्न केमा ध्यान दिने ?

ट्रम्पले व्यावसायिक सफलताका लागि प्रेरणादायी धेरै पुस्तक प्रकाशनमा ल्याएका छन् । उनका पुस्तकहरूबाट लिइएका केही महत्वपूर्ण टिप्स दिएका छन् । तुलनात्मक रूपमा कम भिडभाड हुने स्थानमा व्यवसाय गर्ने क्षेत्र छनोट गर्नु ट्रम्पलाई उपयुक्त लाग्छ । कम भिडभाड हुने स्थानमा लगानी गर्दा तपाईंको कारोबार कम त हुन सक्छ, तर त्यस्तो स्थानमा व्यवसाय सञ्चालन गर्दा त्यसको लगानी पनि कम हुने मान्यता उनको छ ।

उदाहरण दिँदै ट्रम्प भन्छन्, ‘रियल इस्टेट व्यवसाय गर्न बढी भिडभाड हुने क्षेत्रको जग्गा महँगो पर्न जान्छ, तर कम भिडभाड हुने स्थानमा जाने हो भने जग्गा सस्तो पर्छ । सस्तो जग्गामा लगानी कम र प्रतिफल बढी प्राप्त गर्न सकिन्छ ।’

मानिसले व्यवस्थापन गर्न सक्नेभन्दा बढी कमाउन नसक्ने कुरामा विश्वास गर्ने ट्रम्प व्यवस्थापन पक्षलाई पनि उत्तिकै जोड दिन्छन् । ‘व्यवस्थापन जति बढी प्रभावकारी हुन सक्यो, त्यति नै बढी सफलता प्राप्त गर्ने सम्भावना हुुन्छ,’ उनको भनाइ छ ।

बितेको समय फेरि फर्केर नआउने भएकाले उनले समयलाई अधिक महत्व दिने गरेका छन् । नोक्सान पुनः कभर गर्न सकिने, तर बितेको समय फेरि कभर हुन नसक्ने उनको मान्यता छ । बुद्धिमतापूर्ण रूपमा समयको व्यवस्थापन गर्न सक्नुपर्ने उनको सुझाब छ ।

कुनै पनि वस्तु वा सेयर किन्न गरिएको लगानी वास्तविक सम्पत्ति हुने ट्रम्पको विश्वास छ । ‘कुनै पनि वस्तु किन्न प्रयोग गरिएको रकम सम्पत्ति हो । तर, सम्पत्ति बिक्री गरी गरिएको आम्दानी वास्तविक सम्पत्ति हुन सक्दैन । यसर्थ, जति कमाउनुहुन्छ, उति लगानी गर्नु बुद्धिमानी हुन्छ,’ ट्रम्पले उल्लेख गरेका छन् । लगानी सम्पत्ति भएकाले अध्ययन गरेर मात्र उपयुक्त स्थानमा राख्नु पनि धनी बन्ने एक उपाय हो ।

धनी बन्न जीवनशैलीमा पनि सुधार तथा परिवर्तन गर्न उनले सुझाएका छन् । ‘घरबाट चाँडो निस्कनुहोस्, ढिलो फर्कनुहोस् । यो सर्त पालना गर्न सकेमा मानिसको काम गर्ने समय लामो हुन्छ,’ उनले लेखेका छन् । लामो समय काम गर्दा उत्पादकत्व बढी हुने भएकाले ट्रम्प धनी बन्न यो टिप्सलाई निकै महत्वपूर्ण मान्छन् ।

असल व्यावसायिक साझेदार छान्नु पनि व्यावसायिक सफलता प्राप्त गर्ने महत्वपूर्ण पक्ष भएको ट्रम्पको ठम्याइ छ । साझेदारभित्रैबाट पनि धेरै अवरोध हुन सक्छ । तुलनात्मक रूपमा असल साझेदारबाट कम झमेला आइपर्ने भएकाले यो विषय पनि ट्रम्पको प्राथमिकतामा नै परेको छ । यसका साथै अन्य व्यवसायीलाई पनि आफूसँग काम गर्न आकर्षित गरे सफलता आउने उनको भनाइ छ । ‘कुनै पनि व्यवसायीले अन्य साझेदारप्रति असल चरित्र प्रदर्शन गर्छ भने उक्त मानिससँग काम गर्न ठूला व्यवसायी पनि लालयित हुन सक्छन् । यसले मानिसलाई सफलता दिलाउँछ,’ उनको धारणा छ ।

कुनै पनि वस्तु तथा सेवा प्रदायक कम्पनीका सबैभन्दा ठूला मालिक भनेका ग्राहक नै हुन् भन्ने मान्यतामा ट्रम्प पूर्ण विश्वास गर्छन् । कम्पनीका बोसका रूपमा मानिने ग्राहकको सेवा तथा सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्नैपर्ने धारणा उनको छ । ‘बोस नै खुसी भएपछि सबै कम्पनी तपार्इंकै हातमा आउँछ । सफलतालाई कसैले रोक्न सक्दैन,’ उनी विश्वास प्रकट गर्छन् ।

कुनै पनि कम्पनी खराब अवस्थामा नपुगोस् भन्नका लागि बलियो पूर्वतयारी आवश्यक छ । तर, यदि कुनै काम नियन्त्रणबाहिर जाने शतप्रतिशत टुंगो नै लागिसक्यो भने सोही विषयमा चिन्ता नलिन ट्रम्पले सल्लाह दिएका छन् । ‘चिन्ताले मानिसको शक्ति ह्रास गर्छ । यही कारण अन्य काममा पनि मानिसको ध्यान खलबल्याउने सम्भावना हुन्छ । अतः सकेसम्म चिन्ता नियन्त्रण गर्नुपर्छ,’ धनी बन्ने सुझाब दिँदै उनले भने ।

स्वामित्वमा रहेको मानिसले मात्र पूरै कम्पनी चलाउन सक्दैन । कम्पनीको सफलतामा कर्मचारीको पनि भूमिका उत्तिकै महत्वपूर्ण भूमिका देख्ने ट्रम्प कर्मचारीमा उत्साह भर्न सके सफलता चुलिँदै जानेमा निश्चिन्त देखिन्छन् । ‘मुख्य व्यवस्थापक वा सञ्चालक हो । यो काम कुनै पनि व्यवसायीले भुल्नुहुँदैन,’ उनको भनाइ छ ।

प्रस्तुति : तीर्थराज निरौला

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप