केन्द्रीय संस्करण

डेढ दशकसम्म दरबार पुनःनिर्माण भएन

person access_timeबैशाख ८, २०७५ chat_bubble_outline0

अछाम - “अछाम दरबारका झ्यालउनी घाम पड्यो ।” “कैइबाटा हाइ चिठ्ठी आयो का जान्या काम पड्यो ।” (अछाम दरबारको झ्यालमा घाम प¥यो । कतैबाट चिठ्ठी आएकाले जाने काम पर्यो)

सशस्त्र द्वन्द्वका समयमा विसं २०५८ फागुन ४ गते तत्कालीन नेकपा माओवादीले अछाम आक्रमण गरी दरबार ध्वस्त पार्यो । दरबार ध्वस्त भएसँगै गीत पनि हराउँदै गयो तर यो ऐतिहासिक महत्वको दरबारलाई अछामीले भुल्न सकेका छैनन् । 

अछाम दरबार झण्डै १५० वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण शुरु भई उनका छोरा दलबहादुरको पालामा विसं १९३५ मा निर्माण भएको इतिहास छ । सरकारले विसं २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको बताइन्छ । अछामी इतिहासका जानकार सुरतबहादुर शाह र योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर सेनाका जर्नेल रहेकाले उनले नै सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए । मासको गाह्रो बनाएर दरबार निर्माण गरिएको थियो । 

विसं २०१४ अघि पूर्वी अछामले दैलेख र पश्चिमी अछामले डोटीमा मालपोत बुझाउनुपर्ने व्यवस्था थियो । तत्कालीन राजा महेन्द्र डोटी आउँदा अछामीले अछाममै मालपोत बुझाउन पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै दिलबहादुर बुढथापाको नेतृत्वमा गएको टोलीले राजाको घोडा रोकेपछि राजाले मालपोत बुझाउने व्यवस्था अछाममै मिलाएको पूर्वसांसद गोविन्दबहादुर शाह बताउँछन् । त्यस बेला तत्काल अछामको रिडिकोट बयलपाटामा जिल्ला सदरमुकाम कायम गरिए पनि पछि त्यहाँ भौतिक संरचना नहुँदा सदरमुकाम दरबार भएकै कारणले मंगलसेनमा सरेको बताइन्छ । विसं २०१८ मा ३३ जिल्लाबाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको हो । अछामको बीच भाग भएकाले केही समय सदरमुकाम कालागाउँमा पनि बसेको थियो । पछि जिल्ला सदरमुकाम बयलपाटामा सार्ने निर्णय भए पनि दरबार भएकै कारणले मंगलसेनमा नै कायम भएको हो । 

पुनःनिर्माणमा लापर्बाही
माओवादी द्वन्द्वका बेला ध्वस्त अछाम दरबार पुनःनिर्माणमा लापर्बाही देखिएको छ । दरबार पुनःनिर्माणको काम विसं २०६५ असार २४ गते शुरु भए पनि ठेकेदारले विभिन्न बहाना देखाएर पुनःनिर्माणमा लापर्बाही गरेको स्थानीयवासीको आरोप छ । “अछाम दरबारसँग हाम्रो पुर्खाको इतिहास जोडिएको छ”, स्थानीयवासी दिनेशकुमार स्वाँरले भने, “दरबार बनाउँछौँ भनेर पटक पटक अल्मल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै निर्माण कार्यमा भइरहेको ढिलाइका विरुद्ध उत्रिनेछौँ ।” 

दरबार निर्माणमा भइरहेको ढिलाइमा ‘जिल्लाका सबै सरोकार भएका निकाय दोषी भएकाले’ कसैले पनि यसको बारेमा बोल्न नचाहेको स्वाँरको आरोप छ । काम किन रोकियो भन्नेबारे कुनै जानकारी नभएको जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले बताए । 

राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले रु दुई करोड २५ लाखमा दरबार निर्माणको ठेक्का लिएका थिए । यीमध्ये कुँवर कम्पनीका सञ्चालक मीनबहादुर कुँवरका नाममा अख्तियारी आएपछि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरिए । 

हाल दरबार निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएका छन् । पचास प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको जिकिर गर्ने ठेकेदार जयबहादुर साउदले काम गरेवापत ९० लाख रकम निकासा गरिएको बताए । “आवश्यक पर्ने निर्माण सामग्री सहजरुपमा उपलब्ध गराउन नसक्दा काम रोकिएको हो । अहिले निर्माण सामग्रीको व्यवस्थामा लागेको छु”, साउदले भने । 

विसं २०६७ मै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको तर काठ अभावका कारण सात वर्ष काम रोकिएको साउदले बताए । “दुई वर्ष काम भयो, विभिन्न किसिमका समस्या आए”, उनले भने, “अहिले निर्माण सामग्रीको भाउ पहिलेको भन्दा दोब्बर बढ्यो तर त्यो पनि पाइँदैन ।” पटक पटक ठेक्काको म्याद थप्दै विसं २०७५ असारसम्म अन्तिम म्याद थपिएको भए पनि काम शुरु हुनेमा शंका नै रहेको सरोकार भएकाहरु बताउँछन् । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X