बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

होलेसुङको सम्झनामा पार्क

शुक्रबार, ०७ वैशाख २०७५, १४ : ०८
शुक्रबार, ०७ वैशाख २०७५


काठमाडौंको रत्नपार्क, भूगोलपार्क, युएनपार्क र फनपार्कबारे धेरैले सुनेको हुनुपर्छ । हामीमध्ये कतिपय ती पार्कमा पुगेका हौंला । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङको कोटडाँडामा रहेको हलेसी गढीआसपासमा त्यस्तै पार्क निर्माण अध्ययन थालिएको छ । 

हलेसी क्षेत्रका प्रथम कविला होलेसुङको सम्मान र सम्झनामा पार्क बनाउन लागिएको हो । ‘पार्क नेपालकै आकर्षक, सुन्दर र नमुना बनाइनेछ,’ पार्क निर्माणका परिकल्पनाकार भूपेन्द्रकुमार राईले सुनाए, ‘पार्कमा स्थानीय पहिचान, संस्कृति झल्कने बोटबिरुवा र फूल रोपिनेछन् । रोपिएकामध्ये प्रत्येक फूल प्रत्येक महिना फुलिरहेका हुनेछन् ।’ पार्कमा असारे, करबिरे, गुराँस, पैयुँ, लालुपाते, पारिजात, कागती, चिउरी, आरू, चेरी, चुवा, शिरीषलगायत रूख जातका फूल रोपिनेछन् । पार्कमा फुलिरहने फूलका सुगन्धले जोकोहीको मन रोमाञ्चक बनाउनेछ ।

त्यतिमात्रै होइन, प्रथम कविला होलेसुङदेखि अन्तिम कविला भ्वाँरामसम्मले प्रयोग गरेका तरवारलगायतका ऐतिहासिक र लोपोन्मुख सामग्रीसमेत राखिनेछन् । गढीआसपसमा निर्माणपछि खुला संग्रहालयमा राखिने होलेसुङदेखि भ्वाँरामसम्मले प्रयोग गरेका ऐतिहासिक र स्थानीय लोपोन्मुख सामग्रीले होलेसुङ पार्कको सुन्दरता थप बढाउने शिक्षा मन्त्रालयका शाखा अधिकृतसमेत रहेका राईले जानकारी गराए । 

‘होलेसुङ पार्कलाई आदिम ऐतिहासिक पुर्खाको साझा स्मृतिस्थलका रूपमा विकास गरिनेछ,’ उनले थपे, ‘उनीहरूकै नाम र सम्झनामा पार्कआसपासमा स–साना विश्रामस्थल निर्माण गरिनेछन् ।’ १० करोड रुपैयाँमा निर्माण पूरा हुने अनुमान गरिएको पार्कबाट हिमाल र पहाड देख्न सकिन्छ । एकैठाउँ बसेर हिमाल, पहाड देखिनु पार्कको विशेषता हुनेछ । यसैगरी, पहाडबाट सूर्योदय र पहाडबाटै सूर्यास्तको दृश्य पार्कमै बसेर नियाल्न सकिन्छ ।

होलेसुङको प्रतिमूर्ति भएको ठाउँनजिक सुन्दर बगैंचासहितको प्रतीक्षालय र शौचालय निर्माण गरिनेछन् । पार्क पुगेकाले हलेसी गढीमा रहेको भ्वाँरामको भग्नावशेष दरबार, उनका मन्त्रीहरू बस्ने दरबार, होलेसुङ चौतारी, भीमसेनस्थान, भ्वाँरामले प्रयोग गरेका तरबार राखेको ठाउँ हेर्न पाउनेछन् । तसर्थ, ती ठाउँ व्यवस्थित गर्न आवश्यक छ । यस अर्थमा होलेसुङ पार्क ऐतिहासिक बन्नेछ । 

किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिधार्मिकस्थल हलेसी पुगेका आन्तरित तथा बाह्य पर्यटकलाई होलेसुङ पार्क घुम्ने वातावरण बनाउन सके पलासको फूलमा सुगन्ध भेटेसरह हुनेछ । पर्यटकलाई पार्कमा अल्मलाउन सके प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा स्थानीय लाभान्वित हुनेछन् । पार्क पुगेकाले घुम्न र मनोरम दृश्य नियाल्नुका साथै स्थानीय पहिचान र इतिहासबारे जान्न पाउनेछन् । अहिलेसम्म त्यस्तो पार्क निर्माण भएको सुन्नमा आएको छैन । पार्कले वातावरण संरक्षणमा समेत सघाउन पुर्याउनेछ ।

होलेसुङपार्क पुगेका जोकोहीले दुर्छिम साल्तेम्माको किनामा, चुमाखुको बदाम, राबुको सुन्ताला, मंगलटारको गुन्द्रुक, हलेसीको गहत, च्यास्मिटारको मकैभटमास, सल्लेको माछा कोसेलीस्वरूप एकैठाउँ किन्न पाउनेछन् । पार्क सञ्चालनमा आएपछि कृषि पर्यटनलाई समेत बलशाली बनाउनेछ । होलेसुङ पार्क घुम्न पुगेका पर्यटकलाई चुमाखु पुर्याएर आफैं बदाम खनेर चाहेजति खाने र लैजाने व्यवस्था मिलाउन सकिन्छ । गुन्द्रक कसरी बनाइन्छ भनेर हेर्न मंगलटार पुर्याउन सके तरकारी किसान खुसी हुने थिए । आफैंले मकैभटमास भुटेर खाने रहर गर्नेलाई च्यास्मिटार पुर्याउँदा स्थानीय कति खुसी हुँदा हुन् । आफ्नै हातले सुन्ताला टिपेर खान रहर गर्नेलाई राबु र आफ्नै हातले बल्छीमा पारेको माछा खान चाहनेलाई सल्लेपोखरी पुर्याएपछि कृषि पर्यटन उकालो नलाग्ने कुरै छैन ।

पार्कलाई माध्यम बनाएर धेरै काम गर्न सकिन्छ । पार्क निर्माणका लागि हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राई त्यत्तिकै सकारात्मक छन् । नगरप्रमुख राईले पार्क निर्माणका लागि नगरले सकेको सहयोग गर्ने वचन दिइसकेका छन् ।  

होलेसुङ हलेसी क्षेत्रका प्रथम कविला (शासक) मानिन्छन् । उनले सेनवंशी शासनअन्तर्गत हलेसी थुममा स्वायत्त शासन गरेका थिए । सेन र मकवानबीचको युद्धमा सेनको तर्फबाट सहभागी भएका होलेसुङका दस भाइमध्ये नौ भाइका सन्तान हिजोआज हलेसी क्षेत्रमा नौ पाछा (गोत्र) का रूपमा फैलिएका हुन् । 

पुर्खाको सम्मान गर्ने परम्परा नयाँ होइन । त्यसैले हलेसीका प्रथम कविला होलेसुङको सम्मान र सम्झनामा पार्क निर्माणका लागि भूपेन्द्रकुमार राई लागिपरेका छन् । राईलाई हात र साथ दिनेको कमी छैन ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप