शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्मार्ट इक्यान मेरो लक्ष्य हो, इक्यानीयनलाई न्याय गर्न सक्छु’ –महासचिवका उम्मेदवार शेषराज भट्टराई

शुक्रबार, ०७ वैशाख २०७५, १३ : ५०
शुक्रबार, ०७ वैशाख २०७५

शेषराज भट्टराई शैक्षिक परामर्श क्षेत्रको परिचित नाम हो। अर्विट इन्टरनेशनलसँग आबद्ध भट्टराईले यसअघि इक्यानको नीति निर्माण तथा सिएसआर विभागका रहेर काम गरिसकेका छन्। स्मार्ट इक्यानको परिकल्पनासहित इक्यानलाई न्याय गर्न सक्ने खुबी आफूमा रहेको भन्दै भट्टराई आसन्न निर्वाचनमा महाचिवको उम्मेदवारी लिएर चुनावी मैदानमा छन्। महासचिवका उम्मेदवार भट्टराईसँग उनका कार्ययोजना तथा भिजनबारे गरिएको कुराकानी ।

इक्यान महासचिवमा तपाईँको उम्मेदवारी किन?

व्यवसायीहरूको छाता संगठन इक्यानले २०–२१ वर्षमा जुन काम गर्योछ  त्योभन्दा व्यावसायिक भएर अघि बढ्न आवश्यक छ । यो व्यवसायमा सही दृष्टिकोण र भिजन भएका व्यक्तिहरूले सही जिम्मेवारी पाउन आवश्यक छ । अर्विट यो व्यवसायको सबैभन्दा पुरानो नाममध्येको एक हो । पुरानो स्थापित संस्थामध्येको एक हो । जसले हिजोको दिनमा क्यानलाई उपाध्यक्ष दिइसकेको संस्था हो । जसमा म केही वर्षअघि जोडिएको हुँ । म त्यहाँ आएपछि यो व्यवसाय कसरी अघि बढेको छ नजिकबाट नियाल्ने अवसर पाएँ । म आइसकेपछि अघिल्ला निर्वाचनहरूमा पनि निकै सक्रिय रूपमा भूमिका खेल्ने मौका पाएँ । केही साथीहरूलाई प्रोत्साहन गरेँ । तर, पछिल्लो दुई वर्षमा मैले कयैँ कुरामा कमी देखेँ । नेतृत्वमा पुगिसकेका केही व्यक्तिहरू जसलाई मैले अगाडि लगाएर हिँडिरहेको थिए तर, आफ्ना प्रतिबद्धता र एजेण्डा कार्यान्वयनमा मैले सकारात्मक रूपमा अघि बढेको देखिनँ । मैले इक्यानमा सकारात्मक सोचसहितको व्यक्ति अघि बढ्नु जरुरी छ र त्यो काम म गर्न सक्नु भन्ने अनुभव गरेँ । मैले यो क्षेत्रमा रहँदा वा अन्य क्षेत्रमा रहँदा मेरो अनुभवलाई इक्यानको कार्यकारी पोजिसनमा रहन पाएको अवस्थामा साँच्चिकै इक्यानलाई योगदान दिन र यो इन्ड्रष्ट्रीलाई राम्रो बनाउन सक्छु भन्ने लागेका कारण मैले महत्त्वपूर्ण पोजिसनमा उम्मेदवारी दिएको हुँ ।

तपाईँका भावी कार्ययोजना के छन्?

मुख्यतः इक्यानमा धेरै काम भएका छन् । अब गरिएका कामलाई व्युटिफाइ गर्ने अभिभारा बाँकी छ । यसलाई डिजिटल्ली चेन्जको समय आएको छ । स्मार्ट इक्यान बनाउने बेला आएको छ । यसअघि धेरै राम्रा कामहरू भएका छन् अब ती कामलाई बदलिँदो परिस्थिति अनुसार व्यवस्थित गर्नुपर्छ । ग्लोवलाइजेशनको यो युगमा हामीले त्यही अनुसार परिणत हुनुपर्छ । इक्यानलाई यो दिशामा चेन्ज गर्नु आवश्यक छ ।

हामी सोचिरहेका छौँ -हाम्रो इक्यानको वेबसाइट चेन्ज गर्ने, त्यो वेबसाइट मोबाइल फ्रेन्ड्ली वा अहिले कस्ता प्रविधि छन् तिनमा उपयोग हुने बनाउने । विश्वमा धेरै प्रविधि भित्रिएका छन् वेबमार्फत ती प्लेटफर्ममा समेत काम लाग्नेगरी स्मार्ट इक्यान बनाउनुपर्छ । वेबसाइटमार्फत नै हाम्रा मेम्बर तथा स्टेकहोल्डरबीच म्यासेज पुर्यानइनु पर्छ । हामी इक्यान एप्स बनाउने उदेश्यमा छौँ । एप्समार्फत सदस्यबीच चाँडोभन्दा चाँडो सूचना पुगोस् भन्ने हामी चाहन्छौँ ।

इक्यानको अफिस काम गर्न योग्य नै छ तर, कामचलाउ मात्र छ । आगामी दिनको इक्यानका लागि यो पर्याप्त छैन । अब व्यवस्थित र आधुनिक प्रविधिले सुसज्जित र पर्याप्त जनशक्तिसहितको कार्यालय व्यवस्थित गर्न आवश्यक छ । कार्यालय व्यवस्थित हुँदा कार्यालयमा काम गर्ने तरिका व्यवस्थित हुन्छन् । इक्यानको फेसलाई यसले सकारात्मक रूपमा अघि बढाउन सक्छौँ । सदस्यमाझ हाम्रा सूचना सही र समयमा पुर्याउन सक्छौँ । यसले इक्यानलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा नै परिवर्तन ल्याउन सक्छौँ ।

यतिमात्र हैन महासचिवको जिम्मेवारी संगठनका हरेक विषयवस्तुमा पकड राख्ने पनि हो । हाम्रा सदस्य कस्ता छन् सदस्यका जानकारी हाम्रा संस्थागत रेकर्डमा छन् वा छैनन् ? वेबसाइटमा चुस्त छन् वा छैनन् ? हेर्नुपर्छ ।  हाम्रो डेडिकेटेड लाइब्रेरी तथा इलाइब्रेरी हुनुपर्छ जहाँ हामीले गोप्य सामाग्रीलाई सीमित व्यक्तिबीच तथा अन्य लाइब्रेरी सबैका लागि खुला राख्नुपर्छ । इक्यानबाट हुनै सबै सञ्चार चेन अफ कमाण्डबाट भएका छन् वा छैनन् याद गर्नु जरुरी छ ।

मेरो फरक पृष्ठभूमि पनि छ । म मिडियासँग पनि नजिक रहेर काम गरेको व्यक्ति हुँ । यसर्थमा इक्यानलाई हेर्ने फेस, सोसल इमेज वा मिडियाबाट इक्यानलाई हेर्ने दृष्टिकोणलाई चिर्ने सवालमा मेरो विशेष भूमिका हुन्छ । इक्यानले भर्खरै १२औँ साधरणसभामा उठाएका कार्ययोजना र अन्य टिमले प्रस्ताव गरेको विषयलाई पनि कार्यान्वयन गर्ने मेरा मुख्य योजना हुनेछन् ।

तपाईँलाई कतिपयले परामर्श क्षेत्रको नयाँ व्यक्तिलाई महत्त्वपूर्ण जिम्मेवारी भएको पदाधिकारीमा उम्मेदवारी बनाइएको भन्दै आएका छन् । यसमा के भन्नुहुन्छ ?

मैले भनेँ मेरो संस्था पुरानो संस्था हो । मेरो संस्था स्थापित संस्था हो । धेरै चिनेको धेरै जानेको र परामर्श क्षेत्रमा विशेषगरी विभिन्न टेस्टहरूको तयारी र कन्सलटेशन क्षेत्रमा चिनिएको नाम हो मेरो संस्था । मेरै यो संस्थासँग जोडिएको अनुभव पनि चार वर्षभन्दा बढी भइसकेको छ । यो अर्थमा भन्नुपर्दा म यहाँ नौलो हैन । इक्यानको विधान मलाई उम्मेदवार हुन योग्य ठानेको छ । मेरा अनुभव, र यो क्षेत्रसँग जोडिएर मैले बटुलेका ज्ञानले म इक्यानलाई न्याय गर्न सक्छु । म नौलो हैन मेरो संस्था नयाँ हैन तर एकैपटक महासचिव पदमा जाँदै गर्दा कतिपयले मलाई नौलो भनेका हुन् । म स्पष्ट पार्न चाहन्छु यसअघिको अघिल्लो कार्यकालमा पनि मैले नीति निर्माण विभागको सदस्यका रूपमा काम गरेको छु । इक्यानले बनाउने नीतिमा मेरो परिश्रम छ । मैले त्यहाँ धेरै काम गरेको छु । इक्यानको व्यावसायिक सामाजिक उत्तरदायित्व विभागमा बसेर काम गरेको छु । यसकारण म इक्यानसँग जोडिएको छु । मैले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छु । मेरो भूमिका, योग्यता र क्षमताले मलाई आम सदस्यबीच प्रतिक्रिया लिँदा पनि मलाई तँ योग्य छस् अघि बढ् भन्ने सुझावपछि मात्र मैले महासचिवमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

अभिभावकहरू यो क्षेत्रमा लिड गरेका व्यक्तिहरूले पनि महासचिवको भूमिका निर्वाह गर्ने क्षमता मसँग देख्नुभएको छ । मैले माइक समात्दा मेरा कला कौशल कमी होलान् । माइकमा मेरो धेरै बानी नहोला पनि तर, पेपर वर्क गर्ने, टेवल वर्क गर्ने र संस्थालाई व्यवस्थित बनाउने विषयमा म कुनै पनि चुनौतीलाई सामना गर्न सक्छु । म महासचिवको जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्छु ।

इक्यानलाई अहिले पनि राज्यले हेर्ने दृष्टिकोण स्पष्ट छैन र सकारात्मक पनि छैन । यो चुनौतीलाई कसरी चिर्नुहुन्छ?

मुख्यतः अघिल्लो नेतृत्व भनौँ यो २० वर्षमा यो क्षेत्रलाई अग्रजहरूले यो क्षेत्रलाई सेवामुखी व्यवसायका रूपमा व्यवस्थित गर्न ठूलो भूमिका खेल्नुभएको छ । म उहाँहरूलाई यसमा विशेष सम्मान व्यक्त गर्न चाहन्छु । उहाँहरूले सबै कुरा गर्दै गर्दा हाम्रो जस्तो विकासोन्मुख देशमा हाम्रो क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक छन् । यहाँ अलि बढी समस्या छन् । हामीजस्ता देशमा संक्रमणकालका विभिन्न चरण छन् । कहिलेकाहीँ स्पष्ट नीति नहुँदा समस्या हुन्छन्। कहिले भनाइमा एउटा बुझाइमा एउटा नीति बनेको छ । अब अहिले राज्यसँग पहल गरेर एउटा नीति बनिसकेको अवस्था छ । अब देशको नयाँ संरचना अनुसार ती नीति भए भएनन् भनेर सोच्ने अवस्था चाहिँ छ । संरचनागत रूपमा सुधार भए वा भएनन् भनेर अब हेर्नुपर्छ । बनेका नीतिमा कहाँ त्रृटि छन् कहाँ सुधारको आवश्यकता छ भनेर हामीले हेर्नुपर्छ । हामीले यी विषय पहिल्याएका छौँ । घोषणापत्रमा पनि यी विषयले स्थान पाइसकेका छन् । त्यो अर्थमा हामीले गर्नुपर्ने कार्य पहिल्याएका अवस्थामा हामीलाई केही सहजता छ ।

अहिले हामीकहाँ स्थिर सरकार छ । स्थिर सरकार भएका कारण विगतमा जसरी हरेक सरकारलाई जस्तै नीति बुझाइरहनु पर्ने अवस्था छैन । विगतमा कुनै एउटा सरकारलाई नीति बुझाउनु पर्ने अनि बुझेर भ्याउने बेलामा सरकार फेरिने अवस्था अहिले छैन । यो अर्थमा पनि आगामी दिनमा हामीले गर्ने लबीले राज्यसँग हामीले गर्ने पहलले यो क्षेत्रका लागि व्यवस्थित र सन्तुलित नीति नियम ल्याउन सक्छौँ र प्रभावकारी कार्यान्वयन गर्न पनि सक्छौँ । राज्यलाई झक्झकाएर हामीले राम्रो गर्न सक्छौँ ।

हामीलाई आरोप पनि छ यिनीहरू विदेश जनशक्ति पलायन गराउँछन् । कहिलेकाहीँ यो पढ्ने नाममा काम गर्न पठाउँछन् भन्ने पनि छन् । वास्तविकता त्यो होइन । त्यसमा सत्यता छैन । हामी नेपालमै पनि विद्यार्थीले समुचित अवसर पाउनँ भन्ने सोच्छौँ । नेपालभित्र नहुँदा विद्यार्थी खर्च गरेर विदेश पढ्न जान सक्छन् भने पनि विदेश पढ्न जाँदाका अप्ठ्यारो लगायतका सबै कुरा बुझाएर हामी पठाउँछौँ । नीति नियम बुझेर जाउँन भनेर हामी सजग गराउँछौँ । यही भएर हामी हाम्रा सदस्यमार्फत सधैँ विद्यार्थी र अभिभावकलाई बुझाउँछौँ । हामी पढ्न पठाउँछौँ काम गर्न हैन । पढाइका दौरानमा नीति नियमपूर्वक केही काम गर्न पाउँछौँ भने त्यो कामको सवालमा पनि हामीले विद्यार्थी र अभिभावकलाई बुझाउने र मार्गदर्शन गर्ने काम गरेका छौँ ।

कसैलाई भ्रममा नपर्न आग्रह गर्छु हामी पढ्न पठाउँछौँ हामी काम गर्न पठाउँदैनौँ । यो विषयलाई बुझ्न जरुरी छ । हाम्रा भूमिका विद्यार्थीलाई गाइड गर्ने सवालमा हुन् । यी विषयमा विद्यार्थी र अभिभावक जति सचेत हुनुहुन्छ त्यति नै हामीलाई सहज हुन्छ । कसैले हाम्रो क्षेत्रमा परामर्शदातृको खोल ओढेर गलत क्रियाकलाप गरेका छन् भने औँल्याइदिएमा सहज हुन्छ । यस्ता विषयवस्तु बुझेपछि मलाई लाग्छ त्यस्ता व्यक्ति वा संस्थासँग फस्ने परिस्थित आउँदैन भन्ने मलाई लाग्छ ।

शिक्षा सेवा कोष परिचालनका लागि तपाईँका योजना के छन्र?

शिक्षा सेवा कोष सामान्यतया एक प्रतिशत हामी तिरिरहेका छौँ । त्यसरी पढ्न जाने विद्यार्थीले भिसा नपाउँदा त्यो रकम फिर्ता हुने गरेको छैन । हाम्रो पछिल्लो जोड भिसा नपाएको अवस्थामा त्यस्तो रकम फिर्ता हुनुपर्छ भन्नेमा जोड हो । दोस्रो एक प्रतिशत शुल्क जुन लिइएको छ त्यसलाई विदेशमा विद्यार्थीलाई गाह्रो हुँदा अप्ठ्यारो हुँदा, अलपत्र हुँदा जसले कर तिरेको छ तिनलाई उद्धार हुन एउटा कोष बनोस् भन्ने हाम्रो माग हो । व्यवस्थित रूपमा परिचालित होस् भन्ने हाम्रो धारणा हो । यो मागलाई पूरा गर्नका लागि अब यो स्थिर सरकारसँग निरन्तर रूपमा लागेर हामी पूरा गरेरै छाड्छौँ ।

अन्त्यमा, तपाईँलाई भोट दिनुपर्ने कारण के हो?

व्यवस्थित, सन्तुलित र अनुभवले खारिएका तथा आफ्नो व्यवसायलाई अत्यन्तै राम्रोसँग सञ्चालन गरिरहेका साथीहरूको टिममा छु म । यी सबै विषय हेर्दा टिमको एउटा अभिन्न अङ्गका रूपमा अघि बढ्न चाहन्छु । म इक्यान र इक्यानीयनका लागि केही गर्न चाहन्छु । जसले इक्यान र इक्यानीयनलाई हेर्ने देष्टिकोणमा आगामी दिनका सकारात्मक परिवर्तन ल्याओस् । यो अर्थमा मैले दाबेदारी प्रस्तुत गरेको छु र मलाई सदस्यहरूले माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप