शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी सीसी क्यामेराको निगरानीमा हुन्छ : योजना प्रमुख

शुक्रबार, ०७ वैशाख २०७५, ११ : २१
शुक्रबार, ०७ वैशाख २०७५

यही वैशाख १५, १६ र १७ गते बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदैछ । २५६२औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवसको तयारीलगायतका विषयमा लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव तथा योजना शाखा प्रमुख बरिष्ठ इन्जिनियर सरोज भट्टराईसँग विन्दुकुमार चौहानले गरेको कुराकानी ः

अन्तर्राष्ट्रिय बौद्धसम्मेलन तथा लुम्बिनी दिवसको तयारी कस्तो हुँदैछ ?
दुई दिने अन्तर्राष्ट्रिय बौद्धसम्मेलनलाई भव्य तथा सभ्य ढङ्गबाट सफल पार्न नेपाल, भारत, चीन, जापान, श्रीलङ्का मलेसियालगायत १५ वटा राष्ट्रका संस्कृतिमन्त्री र २३ वटा राष्ट्रका बौद्ध सङ्घसंस्थालाई पत्र पठाइसकिएको छ । आगन्तुक प्रतिनिधि तथा पर्यवेच्छकमार्फत नेपालसहित १४ देशका १८ जना र बौद्ध संस्थाका ३० जना विद्वानद्वारा ‘लुम्बिनी नेपाल भगवान बुद्धको जन्मस्थल, संसारभरिका बौद्ध धर्मालम्बीहरूको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ भन्ने मूल नारामा केन्द्रित कार्यपत्रसमेत प्रस्तुत गरिने तय भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीद्वारा उत्थान्त इडोटोरियम हलको शिलान्यास, नेपाली सेनाद्वारा नवनिर्मित अस्थायी सभाहलको उद्घाटन र लुम्बिनी बौद्ध विश्व विद्यालयको दीक्षान्त समारोहसमेत हुने निश्चित भइसकेको हँुदा त्यसका लागि २५६२औं बुद्धजयन्ती तयारी समिति र उपसमितिले दु्रतगतिमा आआफ्ना काम गरिरहेका छन् ।

बुद्धजयन्तीको काम दु्रत गतिमा छ, लुम्बिनी गुरुयोजनाको काम चाहिँ किन ढिला ?
त्यो त हल्ला मात्र हो, जापानी वस्तुकलाविद प्राध्यापक स्व. केन्जोटाँगेद्वारा सन् १९७८ मा तयार पारिएको लुम्बिनी गुरुयोजनाभित्रका थुप्रै काम पूरा भइसकेको छ । जस्तै, केन्द्रीय नहर, लुम्बिनी बसपार्क, अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र सूचना केन्द्र, प्रशासनिक भवन, लुम्बिनी सङ्ग्रहालय, मैत्रीपुल इत्यादि । पूर्वी बिहार क्षेत्रमा १३ वटा देशका लागि छुट्याइएका चक्लाहरूमध्ये सातवटा देशले बिहार बनाइसकेका र पश्चिमी बिहार क्षेत्रमा २९ चक्लामध्ये २१ वटा बिहार निर्माण भइसकेको अवस्था छ ।

गुरुयोजनाभित्रका अझै पूरा गर्नुपर्ने महत्वपूर्ण कार्यहरू के–के हुन् ?
उत्थान्त एडोटोरियमहल, स्वास्थ्य चौकी, वाटर टावर, उपहार केन्द्र, टेलिकम्युनिकेसन, अतिथि अवास, भूमिगत विद्युतीकरणलगायत कार्यहरू गर्न बाँकी रहेकाले करिब ८० प्रतिशत गुरुयोजनाका काम पूरा भइसकेको हुँदा बाँकी काम साढे ६ अर्बको लगानीमा साढे तीन वर्षभित्र पूरा गर्न सकिने अनुमान छ ।

पछिल्लो समयमा लुम्बिनीको सुरक्षा व्यवस्था खस्किएका कुराहरू बाहिर आएकोप्रति तपार्इं के भन्नुहुन्छ ?
लुम्बिनीको सुरक्षा व्यवस्था बिल्कुल खस्किएको छैन, बरु स्मार्ट सेक्युरिटीको अवधारणा बमोजिम अत्याधुनिक सीसी क्यामरामार्फत लुम्बिनीको सुरक्षा दिने तयारी भइरहेको छ । यसले लुम्बिनीमा आउने सबै व्यक्तिको अनुहार पढ्न सक्छ । वैज्ञानिक अनुसन्धान प्रक्रिया अघि बढाउन जुनसुकै बेला सहजीकरण हुनेछ ।

लुम्बिनी वरिपरिका केही विकासका काम कोषले नगरेको स्थानीयको पहिल्यैदेखिको असन्तुष्टिलाई कसरी मेटाउनु हुन्छ ?
हेर्नुहोस्, लुम्बिनी विकास कोष नितान्त रूपमा गुरुयोजना पूरा गर्नका लागि राज्यमार्फत गठित स्वायत्त संस्था हो । यो कुरा लुम्बिनी वरिपरिका विकास जुन कि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले बास्केट फन्ड छुट्याई विकास निर्माण कार्य क्रमशः अल्पकालीन र दीर्घकालीन योजनाहरू अगाडि बढाउन जरुरी छ । तथापि विश्वशान्ति सहर निर्माणका लागि प्रोफेसर क्वाक तयार पारिएको नक्सा नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको अवस्था छ । पछिल्लो समयमा सोलारबत्ती, सातवटा इ. बस, ११ वटा ई. ट्यक्सी चलाउने सम्झौता भइसकेको स्थिति छ भने युनेस्कोले इन्टर्गेट मेनेजमेन्ट प्लानसमेत बाहिर ल्याएको स्थिति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप