शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी नायिकाले अली जफरमाथि लगाइन् यौन उत्पीडनको आरोप

शुक्रबार, ०७ वैशाख २०७५, १० : ४१
शुक्रबार, ०७ वैशाख २०७५

पाकिस्तानकी चर्चित गायिका, अभिनेत्री र मोडल मिशा शफीले कलाकार र गायक अली जफरमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । यता अलीले भने सबै आरोपको खण्डन गर्दै यसका लागि अदालत जाने बताएका छन् ।

अली जफर ‘डियर जिन्दगी’ जस्ता विभिन्न बलिउड फिल्ममा काम गरिसकेका छन् ।

बिहिबार मीशाले ट्वीट गरेर अलीमाथि आरोप लगाएकी हुन् । विश्वव्यापी रुपमा महिलामाथि हुने गरेको यौनहिंसाविरुद्ध चलिरहेको #MeToo अभियानअन्तर्गत मीशाले उक्त ट्वीट गरेकी हुन् ।  

मीशा लेख्छिन्, ‘आज म यसकारण बोल्दै छु किनभने मेरो विवेकले अब मलाई चुप लागेर बस्न दिँदैन । मजस्तो एक स्थापित कलाकारमाथि यौन हिंसा हुनसक्छ भने यो जसलाई पनि हुनसक्छ । ’

उनी भन्छिन्, ‘ममाथिको यौनहिंसा एकपटकमा मात्र सिमित भएन । अली जफरः मसँगै काम गर्नेले ममाथि यौनहिंसा गरे । म किशोरावस्थामा हुँदा वा यो उद्योगमा भर्खरै छिर्दा ममाथि यस्तो भएको होइन । म सशक्त र दुई सन्तानकी आमा भइसकेपछि ममाथि यस्तो भयो ।’

मीशाले ट्वीटमा लेखेकी छिन्, ‘उक्त घटनाले मलाई र मेरो परिवारलाई आहत तुल्याएको छ । म अलीलाई धेरै अघिदेखि चिन्दछु । मैले उनीसँग काम गरेकी छु, एउटै स्टेज सेयर गरेकी छु । उनको यो व्यवहार र रवैयाका कारण दुःखी छु । तर यो पनि साँचो हो कि यस्तो ममाथि मात्र भएको होइन ।’

मीशा पाकिस्तानको एक चर्चित नाम हो यस्तै अली जफर पनि कोक स्टुडियोसमेत विभिन्न ठूला ब्रान्डसँग जोडिएका छन् ।

अलीले भने यी सबै आरोपलाई गलत बताएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘म #MeToo अभियानबारे निकै राम्रोसँग जानकार छु र यसको समर्थन पनि गर्छु । म एक जवान छोरी र छोराका पिता हुँ । एक महिलाका श्रीमान् र एक आमाको छोरा हुँ । म यस्तो व्यक्ति हुँ जो आफ्ना लागि, आफ्नो परिवारका लागि, आफ्ना सहकर्मीका लागि  साथीहरुका लागि थुप्रैपटक उभिएको छु । म आज पनि त्यही गरिरहेको छु । मैले त्यस्तो केही पनि गरेको छैन जसलाई मैले लुकाउनु परोस् । चुप बस्नु कुनै विकल्प होइन ।’

‘म मीशा शफीद्वारा लगाइएको हरेक आरोप खण्डन गर्छु । म यहाँ उनीमाथि कुनै पनि प्रकारको आरोप लगाउनुको साटो यो विषयलाई व्यवहारिक तरिकाले सल्टाउने कुरामा विश्वास राख्छु,’ उनले भने ।

जफर ट्वीट गर्छन्, ‘म यो मामलालाई कानूनी रुपमा अगाडि बढाउन चाहन्छु । यो एक गम्भीर मामला हो त्यसकारण म यसलाई व्यवसायीक तरिकाले नै लिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप