बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा ह्वात्तै बढ्यो गर्मी, बिरामीले भरिन थाले अस्पताल

बिहीबार, ०६ वैशाख २०७५, १५ : ३२
बिहीबार, ०६ वैशाख २०७५

तुलसीपुर– केही दिनदेखि दाङमा गर्मी बढेसँगै यहाँका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढेको ती अस्पतालले जनाएको छ । 

तुलसीपुरमा रहेको सरकारी राप्ती अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी बिरामी आउने गरेको सो अस्पतालले जनाएको छ । 

उपचार गर्न आउनेमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् । 

त्यसैगरी घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालमा पनि दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । 

त्यस अस्पतालमा पनि ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, छालासम्बन्धीका बिरामी बढी रहेका छन् । 

गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छालासम्बन्धी रोग देखापर्ने राप्ती उपक्षेत्रीय अस्पतालका रोग विशेषज्ञ डा प्रताप पोखरेलले बताए । 

तुलसी अस्पताल तुलसीपुरमा पनि उपचार गराउन आउने बालबालिकाको संख्या बढिरहेको सो अस्पतालले जनाएको छ । 

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.किशोर खत्रीले केहीदिनयता निमोनिया, झाडापखाला, श्वासप्रश्वासमा समस्या, कमलपित्त, भाइरल ज्वरोका बिरामी बालबालिका उपचारका लागि आउनेको संख्या वृद्धि भएको बताए । त्यसैगरी लमही अस्पतालमा पनि उपचारका लागि आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । 

गर्मी मौसममा पानी धेरै खानुपर्ने, बासी सडेगलेको, झिंगा भन्केको खाना नखान डाक्टरले सुझाव दिएका छन् । 

उनीहरुले जाडो समयभन्दा गर्मी मौसममा विभिन्न रोग चाँडो फैलने हुँदा आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रहसमेत गरेका छन् । केहीदिनदेखि दाङमा गर्मी बढ्दै गएको छ । 

जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार दाङमा बुधबार अधिकतम तापक्रम ३४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप