बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशको पर्यटकीय गन्तव्यमा यस्ता छन् पूर्वाधारका चुनौती

बिहीबार, ०६ वैशाख २०७५, ११ : ३०
बिहीबार, ०६ वैशाख २०७५

पूर्णबहादुर खड्का
सुर्खेत– प्रमुख पर्यटकीय गन्तव्य बनाउने कर्णालीमा पूर्वाधारको मुख्य चुनौती देखिएको छ । 

भौतिक पूर्वाधारहरुले थलिएको कर्णालीमा पर्यटकलाई आकर्षण गर्नमात्रै केन्द्रित बनेको छ प्रदेश सरकार । प्रदेश सरकारले लाखाँै पर्यटक भित्र्याउने सपना देखिरहेको बेला पूर्वाधारको विकास नै नगरी पर्यटकको मन तान्न भने निकै मुश्किल देखिन्छ । 

बयान र सुनेकै भरमा दृश्यावलोकन गर्न एकपटक पर्यटक गएपनि त्यसपछि फर्केर जालान् नजालान् भन्नेमा प्रदेश सरकारलाई सोच्न बाध्य बनाएको छ । 

कर्णालीमा थुप्रै पर्यटकीय सम्पदाहरु छन् । तर, ति ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुमा सहज र सरल तरीकाले पुग्नसक्ने अवस्था न्युन छ । भएका पर्यटकीय सम्मत्तिहरुमा पुग्न जोखिम मोलेर जानुपर्ने बाध्यात्मक अवस्था छ । 
हरेक जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा पुग्न सडक, स्तरीय होटल, विद्युत, सञ्चार लगाएतको पूर्वाधार भने अभावमै गुज्रिएका छन् । 
यता, प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने जोडतोडका साथ सुरु गरे पनि कर्णालीका अधिकांश जिल्लाहरुमा पर्याप्त पूर्वाधार भने बनाई सकेको छैन् ।  पूर्वाधार विकासकै कमिले पर्यटकको मन जित्न नसकेको रारा पर्यटन विकास समितिका अध्यक्ष देवीकृष्ण रोकाय बताउँछन् । 
रारामा पुग्नै सकस 

प्रसिद्ध मुगुको रारा ताल आवतजावतका लागि हवाई मार्ग र सडक यातायात दुवैको व्यवस्था गरिएको छ तर, यी दुवै मार्ग भने पर्याप्त भरपर्दा देखिदैनन् । 
नेपालगञ्ज–सुर्खेत हुदैँ कर्णालीका विभिन्न जिल्ला छिचोल्दै रारा पुग्न ज्यानको बाजी थापेर रारा पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । सुर्खेतबाट झण्डै २ दिनको यात्रा गरेपछि रारा पुगन सकिन्छ । कालीकोटको नाग्मघाट सम्म पक्कि ‘पिच’ गरेको सडक छ भने मुगुको रारासम्म झण्डै ४ घण्टा बढिको सडक कच्चि छ । 

सुर्खेतदेखि गाडीमार्फत रारा पुग्न एकतर्फी भाडा करिव २ हजार सम्म छ । गाडि बाट ओर्लिएर करिव डेढ घण्टा पैदल यात्रा गरेपछि रारामा पुग्ने र होटेल भेट्न सकिन्छ । गाडि मार्फत नेपालगन्ज, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला नाग्मघाट, सिंजा हँुदै रारा पुग्न सकिन्छ । सडक मार्गबाट आउने पर्यटकहरूले बाटोमा राम्रो स्तरिय होटेल नहुँदा यात्रुले सास्ति खेप्नु पर्ने बाध्यता छ । 

मुगुको ताल्चा विमानस्थलबाट रारासम्म गाडीमा आधा घण्टा लाग्ने गर्छ । हवाई मार्गबाट सुर्खेत र नेपालगन्ज हुँदै रारा आउजाउ गर्ने व्यवस्था छ । हवाई मार्ग बाट भाडादर भने नेपालगञ्ज बाट ८ हजार ५ सय र फर्किंदा ५ हजार तोकिएको छ भने, सुर्खेत बाट करिव ५ हजार देखि ७ हजार निर्धारण गरिएको छ । 

विद्युत र सञ्चार अभाव 

कर्णालीमा विद्युत उत्पादनको थुप्रै सम्भावना भएर पनि यहाँका जनता अझै अध्यारोमा छन् । यदाकदा साना हाईड्रोपावर बाट उत्पादीत विद्युतले केहि गाउँ उज्यालो भए पनि अधिकांश गाउँबस्ति अध्यारोमा बसेका छन् । 

विद्युत नभए सम्म सञ्चारको कल्पना गर्न नसकिने अवस्था हुन्छ । त्यसैले प्रदेश सरकारले विद्युतमा लगानि गर्नुपर्ने देखिन्छ । विद्युत र सञ्चारको पहुँच पु¥याउन सके पर्यटकको संख्या वृद्धिमा सहयोग पुग्ने निश्चित छ । 

अझै पनि कर्णालीका केही जिल्लाहरुमा सञ्चार अभाव कायमै छ । सुर्खेत देखि मुगुको रारा जाने बेला सम्म समेत पर्याप्त भनेको समयमा सञ्चार हुन सक्ने अवस्था छैन ।  फोन सम्पर्क गर्न समेत समस्या छ भने नेट इन्टरनेटको पहँचको कुरा त परै छ । अधिकांश पर्यटकीय गन्तव्यमा सञ्चार पहँच निर्माण पुगिसकेको छैन् । 
रारामा पर्यटन वर्षको उद्घाटनमा फ्रिवाईफाई जडान गरेपनि सेवा भने प्रभावकारी भएन् । अधिकांश समयमा नेट चल्न सकेको थिएन् । 

पर्यटकीय सम्पत्ति
कर्णाली प्रदेशमा साना ठुला गरी झण्डै दुई दर्जनभन्दा बढी आकर्षक पर्यटकीय गन्तव्य छन् । पछिल्लो समयमा चर्चामा आएको मुगुको रारा ताल, छायानाथ मन्दिर, डोल्पाको शे–फोक्सुुण्डो ताल, शे–गुम्बा, जुम्लाको सिंजा, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, नेपाली भाषाको पहिलो लिपी, हुम्लाको हिल्सा, लिमी उपत्यका, सल्यानको कुभिण्डेदह, कालिकोटको पचाल झरना, सुर्खेतको काक्रेबिहार, बुलबुले ताल, लगाएतका प्रख्यात पर्यटकीय गन्तव्य हुन् । 

अहिले प्रदेश सरकारले यीनै पर्यटकीय क्षेत्रमा पर्यटक वृद्धि गराउने उद्देश्यले पर्यटन वर्ष समेत आयोजना गरिरहेको छ । जसले पर्यटक भित्रिले अपेक्षा प्रदेश सरकारको छ । दुई वर्ष अघि आन्तरिक पर्यटक रारामा करिव २० हजार पर्यटक रारामा पुगेको तथ्याङ्ग छ । गत वर्ष रारामा आन्तरिक पर्यटक ६० हजार पुगेकोमा, २ सय एक जना विदेशी पर्यटक पुगेको पाईएको छ ।  
 

उत्तरी नाकाको सम्भावना
कर्णाली प्रदेशको समृद्धिको मुख्य आधार चिन संग जोडिएको उत्तरी नाका खोल्ने तयारीमा प्रदेश सरकार रहेको छ । नाका खोल्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराएको छ । उक्त नाका खोल्नु भन्दा अघि सडकको पहुँच मार्ग निर्माण गर्नुपर्ने देखिन्छ । 

मुगुको गमगढी–नाक्चेनांग्ला सडक अहिले सम्म १६ किलोमिटर निर्माण भएको छ भने जम्मा ८५ किलोमिटर निर्माण गरिनुपर्ने हुन्छ । हुम्लाको सिमीकोट–हिल्सा सडक ७८ किलोमिटर, हुम्लाकै अर्काे सिमीकोट–लिमी–लाप्चा सडक ९० किलोमिटर सडक निर्माण गरि जोड्नुपर्ने छ । 

डोल्पाको दुनै–धो–मुरिम्ला सडक १७० किलोमिटर निर्माण गर्नुपर्ने हुन्छ । जसमा मुरिल्ला देखि ७० किमि नेपालको भूमिमा सडक बनिसकेको छ ।  उक्त सडक मार्ग र नाका खोले प्रदेशको समृद्धि र व्यापारिक पारवहन सम्बन्ध स्थापित हुने छन् । नेपालको र प्रदेशको आर्थिक अवस्था उकास्न मद्धत पुग्ने देखिन्छ । 
 

पूर्वाधार तयार गर्न लागि पर्छुःमन्त्री खत्री
कर्णालीको भौतिक पूर्वाधार विकासका लागि आफु कटिवद्ध भएर लाग्ने भौतिक पूर्वाधार मन्त्री खड्ग खत्रीले बताएका छन् । प्रदेशमा रहेका प्रसिद्ध धार्मिक वा ऐतिहासिक क्षेत्रमा पर्यटक पुग्ने सडकमार्ग बनाउने बताए ।‘कर्णालीका जति पनि छन् पर्यटकीय, वा विभिन्न धार्मिक क्षेत्रहरु त्यहाँ पुग्ने सडक मार्ग अवको एक वर्ष भित्र खोल्ने प्रयास गर्ने छु ।’ उनले भने,‘अव म सहजै पुग्ने स्तरीय सडक मार्ग बनाउन लागि पर्छु ।’ 

सहज र सरल सडक मार्ग निर्माण गरी पर्यटक भित्त्र्याउन प्रदेश सरकार लागि परेको उनको भनाई थियो । उनका अनुसार अव सरकारले रारा सम्म जाने सडक मुगुको नाग्मघाट देखि रारा सम्मको सडक कालोपत्रे गर्ने समेत बताए । 

त्यसैगरी अर्काे महत्वपूर्ण पूर्वाधार भनेको विद्युत तर्फ पनि आफु गम्भिर भएर लाग्ने बताए । अहिले निर्माणाधिन रहेको जलविद्युत आयोजनालाई छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न लागि पर्ने र विद्युत आपुर्तिमा टेवा पुग्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप